अन्तत: बिहे गर्ने भए स्वेता र श्रीकृष्णले

२०७१ जेठ १८ गते
चलचित्र ‘कहाँ भेटिएला’मा एक साथ देखिएपछि दर्शकले नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको जोडी वास्तविक जीवनमा पनि सुहाएको बताएका थिए । श्रीकृष्ण र स्वेतालाई बिहे गर्न दर्शकले त्यतिबेला नै आग्रह गरेका थिए । तर नायक राजेश हमालले बिहे नगरी आफू पनि नगर्ने भनेर बसेका नायक श्रीकृष्ण श्रेष्ठले पर्दाकै हिट जोडी स्वेतालाई जीवनसाथी बनाउने भएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै नायक श्रीकृष्ण श्रेष्ठले आफूले नायिका स्वेता खड्कासँग बिहे गर्न लागेको बताए । ‘हो हामी बिहे गर्ने निर्णयमा पुगेका छौ, यो निक्कै सोचेर गरिएको निर्णय हो’, श्रीकृष्णले भने । उनले लामो समयदेखि एकसाथ काम गरेको, व्यापार पनि साथमै गरेकाले बिहे गर्ने निर्णयमा पुगेको जानकारी दिएका छन् ।
उनले आफूहरुले सामान्य बिहे गर्ने जनाएका छन् । बिहे यो बर्ष भित्र हुने श्रीकृष्णको भनाई छ । हरेक कुरामा तालमेल मिलेपछि यो जोडीले बिहे गर्ने निर्णय गरेको हो । श्रीकृष्ण र स्वेताको बिहे उनीहरुको नयाँ चलचित्र ‘कोहिनुर’ प्रदर्शनको आसपासमा हुने अनुमान गर्न सकिन्छ । सिनेमालाई पनि फाइदा पुग्ने र प्रचार पनि दरिलो हुने भएकाले पनि यो जोडी ‘कोहिनुर’ प्रर्दशन मिति साउन २३ को छेकोमा बिहे गर्न सक्छ ।
नेपालमा पाको उमेरमा बिहे गर्ने प्रचलन बढ्दै गएको छ । कलाकार मिथिला शर्माले ५० बर्षको उमेरमा बिहे गर्ने निर्णय गरिन् । नायक राजेश हमालले पनि ५० बर्ष कटेपछि नै बिहे गरे । यस्तै कलाकार तथा निर्देशक अनुप बराल र दिया मास्के पनि असार २३ गते बिहे गर्दैछन् । नायक आर्यन सिग्देलले पनि यसै बर्ष बिहे गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment