मन्त्री सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने


उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहललाई निर्वाचन आचार संहिता उल्लंघन विषयमा स्पष्टिकरण दिन २४ घन्टाको समय दिएको छ।
 
मन्त्री सिंहले जेठ ३१ गते काठमाडौंको पेप्सीकोला नजिकको फुटबल मैदानमा आयोजित चुनावी सभामा उपप्रधानमन्त्रीकै हैसियतमा सरीक भई काठमाडौं जिल्ला, निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेस उम्मेदवारको पक्षमा मत मागेको भन्दै यसबारे सत्यतथ्य कुरा के हो सोको बारेमा जानकारी गराउन भनेको छ।
 
निर्वाचन आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संविधानसभा सदस्य निर्वाचनआचार संहिता (संशोधन सहित), २०७० को दफा ५९ मा उल्लिखित व्यवस्थाको प्रतिकूल हुने हुँदा प्रचलित कानून बमोजिम कारबाही किन नगर्ने भनी निज उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसँग २४ घण्टाको म्याद दिई स्पष्टीकरण सोध्ने।'
 
यसैगरी, निर्वाचन आयुक्तसहितको टोलीले अनुगमनको क्रममा बर्दियाको सोरहवा गाविसमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेकपा (एमाले) का उम्मेदवारको प्रचारमा प्रयोग भएका तर अनुमति नलिएका एक–एकवटा सवारी साधन नियन्त्रणमा लिएको छ।
 
सोही जिल्लाको डेउडाकला गाविसमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का उम्मेदवारको प्रचारको क्रममा प्रयोग भएको आचारसंहिता विपरीतको फ्लेक्स बोर्ड पनि उक्त टोलीले हटाएको  निर्वाचन आयोगले जनाएको छ।  

,

news and entertainment