विदेशमा दुर्घटनापछि मिर्गौला बिक्री
२१ जेठ, काठमाडौं । वैदेशिक रोजागरमा साउदी अरब गएका पाँचथर नाङगिन गाविसका मौसम सुब्बाको मृत्यु भएको १५ महिना पुगिसक्दा पनि शव आएको छैन । मिर्गोला बेचेको रकम नपाउँदा उनको शव नेपाल नआएको हो ।
सुब्बा एक महिनाको छोरो छाडेर ०६८ साउनमा साउदी अरब गएका थिए । दुर्घटनामा परेर टाउकोमा गहिरो चोट लागेका उनको ४ फाल्गुन ०६९ मा मृत्यु भएको थियो । मृत्युअघि परिवारकै स्वीकृतीमा उनको मृगौला विक्री भएको खुलेको छ ।
परिवारको आग्रहमा ०७० बैशाखमा सुब्बाको शव झिकाउन साउदीको रियादस्थित नेपाली दुतावासमा काठमाडौंको कन्सुलर शाखाले पत्राचार गरेको थियो । दुतावसाले त्यहाँको प्रहरीलाई सम्पर्क गरेर शव रहेको भनिएको दमामको किङ्फाद अस्पतामा सोधपुछ गरेको थियो । सो क्रममा विदेशमा मिर्गोला बिक्री भएको खुलेको हो । दूतावासका अनुसार सुब्बाको पोसटमार्टमा रिपोर्टमा दुवै मृगौला देखिएको छैन ।
दुतावासको स्पष्टीकरणमा सुब्बाको मिर्गौला परिवारको पूर्वस्वीकृतिमा झिकिएको र ५० हजार साउदी रियल दिने सहमति भएको डाक्टरहरुले जवाफ दिएका छन् । उनीहरुले परिवारका तर्फबाट मञ्जुरीनामा दिएको भीम फेवाको हस्ताक्षरसहितको सम्झौतापत्र पनि देखाएका छन् ।
दुर्घटनामा परेका सुब्बाको बाँच्ने अवस्था नरहेको भन्दै उनका गाउँले भीम फेवाले मिर्गौला झिक्ने अनुमति दिन परिवारलाई सम्पर्क गरेका थिए । 'उहाँको ढुकढुकी मात्रै बाँकी भएकाले मिर्गौला दिँदा छोराको भविष्यलार्य सहयोग हुने रकम पाइन्छ भनेर सहमतिमै झिक्न दिएको हो ।' मौसमकी पत्नी एलिसाले भनिन्, 'साइँला जेठाजुले कुरा गरेर बच्चाका लागि केही हुन्छ भन्नुभएको थियो । उहाँको रगत छोराका लागि त काम लाग्छ भनेर मैले पनि त्यसमा चित्त बुझाँए ।'
एलिसा अहिले शव र क्षतिपूर्ति रकम लिन काठमाडौं आएकी छिन् । म उहाँको शव मात्रै भए पनि आओस् भन्ने चाहन्छु । सुब्बाले पाउने भनिएको झन्डै १३ लाख रुपैयाँ आउने भएको छ । रियादस्थित नेपाली दुतावासका अनुसार पैसा कसको नाममा पठाउने भन्ने समस्याले शव पठाउन ढिला भएको हो । सुब्बाकी श्रीमती एलिसा र भाउजु निलमया लिम्बूको नाममा राष्ट्रिय बाणिज्य बैंकमा संयुक्त खाता खोलिएको छ । अहिले ड्राफ्ट बनाएर पठाउने प्रयासमा दुतावास छ । हस्पिटलले सो रकम डलरमा तिर्ने र परिवारले डलर खाता खोल्नुपर्ने शर्त अगाडी सारेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।
