प्रधानमन्त्री सुशील कोइराला कसैको व्यग्र प्रतीक्षामा


 सिंहदरबारस्थित शान्ति मन्त्रालयको ल्होत्से हलमा मंगलबार प्रधानमन्त्री सुशील कोइराला कसैको व्यग्र प्रतीक्षामा थिए। करिब एक घन्टा कुर्दा पनि आउने छेकछन्द देखिएन।
त्यही बेला अचानक कोइरालाको मोबाइलको घन्टी बज्यो। मोबाइलमा तिनै व्यक्ति बोल्दै थिए जसलाई उनीसहित देशका सबै प्रमुख पार्टीका प्रमुख नेता निकै समयदेखि कुरिरहेका थिए।
उताबाट मोबाइलमा आवाज आयो, ‘आउँदैछु, अब आधा घन्टा लाग्छ।’
आधा घन्टा बित्यो, उनी आएनन्। मोबाइलमा फेरि ‘१५ मिनेट लाग्ने’ खबर आयो।
निकै बेर कुर्दा पनि नआएपछि प्रधानमन्त्री कोइरालाले फोन फर्काए । उताबाट जवाफ आयो, ‘हामी आउँदैनौं।’
जवाफमा कोइराला ती व्यक्तिसँग नराम्ररी झोक्किए, ‘तपाईंहरूले नै राजनीतिक सम्मेलन नभइहुन्न भनेपछि आयोजना गरिएको हो। अहिले यत्रो तयारी गरिसकेपछि आउँदैनौं भन्ने ?’
माइक ‘अन’ रहेकाले प्रधानमन्त्रीको आवाजले हलै गुन्जियो। यो सुनेर त्यहाँ उपस्थित सबैले निश्चित गरे, ‘वैद्य मोर्चाले मागेको राजनीतिक सभा उनीहरूकै गैरहाजिरीले रद्द भयो।’
नजिकै रहेका नेताले प्रधानमन्त्रीलाई ‘क्यान्सिल’ शब्द लेखेर थमाएको समाचार आजको नागरिक दैनिकले छापेको छ । कोइरालाले त्यही वाचन गरे, ‘क्यान्सिल’। थपे, ‘दुःखसाथ भन्नुपर्छ, सम्मेलन क्यान्सिल भएको छ।’
यसरी मंगलबार सबै तयारी गरेर पनि एउटा पक्ष अनुपस्थित हुँदा ख्यालख्यालमै ‘राजनीतिक सम्मेलन’ रद्द भयो। संविधानसभा चुनाव बहिष्कार गरेका पक्षलाई पनि संविधान निर्माण प्रक्रियामा समेट्ने कोइरालाको अथक प्रयत्न फलहीन बन्न पुग्यो।
त्यसो त आफैंले माग गरेको गोलमेच (पछि राजीनिक सभा भनिएको) मा वैद्यहरू बस्छन् भन्ने विश्वास कमैलाई थियो, न सत्तारुढ दल, न विपक्ष। राजनीतिक सभाबाट समाधान निस्कन्छ भन्नेमा पनि कोही आश्वस्त थिएनन्।
कोइराला तैपनि अघि सरे, जसरी पनि वैद्यलाई संविधान निर्माण प्रक्रियामा सहमत गराउँछु भनेर।
त्यस क्रममा उनले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य तथा शीर्ष नेताहरूसँग पटक–पटक एक्लै कुराकानी गरे। प्रधानमन्त्री आफैंले नेकपा–माओवादीले अघि सारेको सर्वदलीय राजनीतिक सभा गर्न तीन दल बैठकमा प्रस्ताव राखेका थिए। अन्य प्रमुख दलका शीर्ष नेता भने अझै विश्वस्त थिएनन्।
‘यो सर्वदलीय राजनीतिक सभाको सूत्रधार बालुवाटार हो, प्रधानमन्त्री सुशील कोइराला नै हो,’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि संविधानसभा भवन नयाँबानेश्वरमा पत्रकारसँग भनेका थिए।
पटक–पटक छलफल र गृहकार्यपछि सर्वदलीय राजनीतिक सभाको मिति टुंगो लाग्यो, भदौ ३१ बिहान ८ बजे, संविधानसभा भवन नयाँबानेश्वरमा।
निर्धारित मितिको पूर्वसन्ध्यामा नेकपा–माओवादीले शान्ति प्रक्रिया, संविधानका अन्तर्वस्तु र संक्रमणकालीन राजनीतिमा प्याकेज सहमतिको अड्को थापे। त्यसले भने वैद्यसँगको वार्ता सफल हुन सक्दैन भन्ने पक्षमा बल पुग्यो।
सरकार आफैं आयोजक रहेको राजनीतिक सभाको व्यवस्थापन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले गरेको थियो। मंगलबार बिहान ८ बजेअघि नै शान्ति मन्त्रालय तर्फबाट संविधानसभा भवनको लोत्से हलमा करिब २ सय कुर्सी अण्डाकार शैलीमा मिलाइएको थियो। कार्यक्रमको विवरण, डायरी, कलम र फाइल प्रत्येक सहभागीका अगाडि डेक्समा राखिएको थियो।
तीन सयभन्दा बढीका लागि चिया, खाना र खाजा व्यवस्था गरिएको थियो। त्यहीअनुसार संविधानसभाभित्र रहेका दुई स्वतन्त्र सभासदसहित ३० दल र नेकपा–माओवादी मोर्चाले दिएको ४१ दलको नामावली तथा प्रतिनिधिको नाम टिप्ने व्यवस्था मिलाइएको थियो।
सम्मेलनमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र नेकपा–माओवादीका पाँचरपाँच जनालाई बोलाइएको थियो।
सहभागी प्रतिनिधिलाई दिइएको विवरणमा साढे ८ बजेसम्म नाम दर्ता, साढे ८ देखि ९ बजेसम्म नास्ता, ९ बजे कार्यक्रम आरम्भ, ९ देखि पाँचमिनेट आसन ग्रहण, ९ बजेर १० मिनेटसम्म शान्तिमन्त्री नरहरि आचार्यले स्वागत मन्तव्य दिने र २० मिनेट प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।
चिया, दिवाभोज, पत्रकार भेटघाटसहित बेलुका ७ बजेर ५ मिनेट जाँदासम्मको समयतालिका थियो, सर्वदलीय राजनीतिक सभाको।
प्रमुख चार दलका शीर्ष नेताबाहेक अन्य सबैजसो दलका शीर्ष नेता निर्धारित समयमै ल्होत्से हल पुगेका थिए। निर्धारित समयभन्दा करिब २ घन्टा ढिलो प्रधानमन्त्रीसहित कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सिंहदरबार पुगेका थिए।
सभा रद्द भएपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयका कर्मचारी, साना दलका प्रतिनिधिले सर्वपक्षीय राजनीतिक सभा लेखेको ब्यानरमुनि तस्बिर खिचाएका थिए।
बाहिरिँदै गर्दा कांग्रेस उपसभापति रामचन्द्र पौडेल भन्दै थिए, ‘हामीले वैद्यहरू आउँदैनन् भनेकै थियौं। त्यति सर्वपक्षीय सभा पनि गर्न सक्नुभएन भन्दै तपाईंहरूले नै सोध्नुहुन्थ्यो। अनि अहिले आयोजना गर्यौं । उहाँहरू आउनुभएन।’
स्वास्थ्यका कारण लामो समय एकै कार्यक्रममा नबिताउने प्रधानमन्त्री कोइरालाले मंगलबार ३ घन्टाभन्दा बढी समय हुन नसकेको सभामा बिताएका थिए।
त्यसपछि पनि उनी अन्य दलका नेतासँग क्यान्टिनमा बसेर खानपान र गफगाफ गरेका थिए। हिँड्नेबेला प्रधानमन्त्री कोइरालाले पत्रकारसँग भने, ‘उहाँहरूले नै भनेर हामीले आयोजना गरेको हो, तर आउनुभएन।’

,

news and entertainment