बाबुरामले मागे राष्ट्रपतिसँग सुझाव




राष्ट्रपति डा रामवरण यादवसँग संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणबारे सुझाव मागेका छन् । उनले संविधान निर्माणमा दलबीच सहमति कायम गरेर कसरी अघि बढाउने भन्नेबारेमा राष्ट्रपतिबाट केही सुझाव छन् भने प्राप्त होस् भनी माग गरेका हुन् ।
आइतबार साँझ शीतलनिवासमा भएको भेटवार्तामा भट्टराईले सुझाव माग गर्दै प्रस्तावित नयाँ संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने सन्दर्भमा हालसम्म भएका प्रगतिका बारेमा जानकारी समेत गराएका थिए ।
भेटमा राष्ट्रपतिले सबै पक्षलाई समेटेर संविधान लेखनलाई सहमतिका साथ अघि बढाउन सभापति भट्टराईले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गर्दै राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखी सबै मिलेर छिटो संविधान जारी गर्न सके मात्र मुलुक र जनताको कल्याण हुने र अन्यथा मुलुक सङ्कटतर्फ जान सक्ने खतरातर्फ सचेत रहन सभापति डा भट्टराईमार्फत सबै राजनीतिक दललाई ध्यानाकर्षणसमेत गराएका थिए ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले प्रस्तावित संविधानका अन्तर्वस्तुमा दलबीच देखिएका विवादलाई सहमतिमा रूपान्तरण गर्ने तथा सहमति भएका कामलाई टुङ्ग्याउँदै संविधान लेखनलाई तीव्रता प्रदान गरी मुलुक र जनताप्रतिको जिम्मेवारीलाई सबैले बोध गर्नुपर्छ भन्नेमा आफूहरूबीच कुराकानी भएको जानकारी दिए ।

,

news and entertainment