विश्वको आर्थिक वृद्धि घट्ने तर भारतको बढ्ने
अन्तर्राष्ट्रिय मुद्रा कोषले विकसित मुलुकमा आर्थिक वृद्धि गतिहीन हुने बताउँदै उनीहरूको वृद्धिको अनमान घटाएको छ भने भारतको अर्थतन्त्र मन्दीबाट बाहिर आएको बताउँदै सन् २०१४–१५ को आर्थिक वर्षमा उसको वार्षिक वृद्धि ५.६ प्रतिशत हुने अनुमान गरेको छ ।
यस संस्थाले भारतको आर्थिक वृद्धिमा नयाँ दक्षिणपन्थी सरकारअन्तर्गत राम्रो लगानी तथा निर्यातको सम्भावना कारण भएको उल्लेख गरेको छ ।
यस वर्ष रसिया तथा युक्रेनबीचको सङ्कट तथा मध्यपूर्वमा सङ्घर्षका कारण विश्वको अर्थतन्त्रको वृद्धि जोखिममा परेको यस संस्थाले उल्लेख गरेको छ ।
साथै अफ्रिकाको पश्चिमी भागमा इबोलाको विस्तारका कारण पनि विश्वको अर्थतन्त्र चुनौतीमा परेको यस संस्थाले उल्लेख गरेको छ ।
यस संस्थाले युरोपमा विशेष गरी सन् २००८ मा आरम्भ भएको आर्थिक सङ्कटको घाउ निकै गहिरो भएको र त्यसलाई समाधान गर्न कठिन भएको उल्लेख गरेको छ ।
यस संस्थाले विश्वको आर्थिक परिदृष्य नामक प्रतिवेदनमा बढ्दो जोखिमबीच पनि वास्तविक र सम्भावित वृद्धि नै सबै मुलुकको प्राथमिकता हुनुपर्ने धारणा राखेको छ । यस संस्थाले सन् २०१५ मा ३.८ प्रतिशत बृद्धि हुने नयाँ अनुमान प्रस्तुत गरेको छ ।
यस वर्ष विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले २.२ प्रतिशत वृद्धि प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसैगरी युरोक्षेत्रले ०.८ प्रतिशत, जापानले ०.९ प्रतिशत वृद्धि प्राप्त गर्ने अनुमान गरिएको छ ।
यस वर्ष अमेरिका तथा बेलायतले राम्रै वृद्धि प्राप्त गरेको देखिएको छ ।
अर्कोतिर यस संस्थाले अर्को वर्ष एसियाको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भारतले ६.४ प्रतिशत वृद्धि प्राप्त गर्ने अनुमान गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अर्थशास्त्री ओलिभिय ब्लाङचार्डले एक विज्ञप्ति प्रकाशन गर्दै भारतको अर्थतन्त्र मन्दीबाट मुक्त भएको र नीति तथा पुनस्र्थापना भएको व्यापारिक विश्वासका कारण आर्थिक वृद्धि पुनः पाँच प्रतिशत नाघ्ने बताए ।
मे महिनामा अत्यधिक मतले विजय हासिल गर्नुभएका भारतीय प्रधानमन्त्री मोदीले निर्वाचनको समयमा गत वर्ष ४.७ प्रतिशत वृद्धि भएको अर्थतन्त्रलाई पुनः स्थापना गर्ने बचन दिएका थिए थियो । केही वर्ष अगाडि भारतको आर्थिक वृद्धि दुई अङ्कको भएको थियो ।
प्रधानमन्त्री मोदी कर्मचारीतन्त्रको अवरोध हटाउन र ‘मेक इन इन्डिया’ को नारामा विश्वका ठूला व्यापारिक संस्थालाई आकर्षित गर्न प्रयासरत् हुनुहुन्छ । यसबीच भारतको उत्पादनशील क्षेत्रमा छिमेकी चीनको छायाँ परेको थियो । अर्कोतिर सरकारले विदेशी लगानी नीतिमा पनि केही सुधार गरेको छ ।
आइएमएफले यस वर्ष मनसुन तथा कृषिमा नकारात्मक अवस्था रहे पनि भारतको निर्यात तथा लगानी वृद्धि हुने र सन् २०१४ र २०१५ मा अर्थतन्त्र वृद्धि हुने अनुमान गरेको छ ।
भारतको केन्द्रीय बैङ्कले गत महिना यस वर्ष भारतको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो ।
भारतको एक अर्बभन्दा बढी जनसङ्ख्यामा तीन चौथाइ भाग ३५ वर्षभन्दा कम भएकाले र वार्षिक रूपमा लाखौँ जनता श्रमशक्तिमा थपिने भएकाले उनीहरूका लागि रोजगारी सिर्जना गर्न भारतको अर्थतन्त्र कम्तीमा आठ देखि नौ प्रतिशतसम्म वृद्धि हुनुपर्ने अर्थशास्त्रीहरूले बताएका छन् ।
भारतको केन्द्रीय बैङ्कले आफ्नो ध्यान हाल मुद्रास्फीति नियन्त्रणमा लगाएको छ र उसले जीर्ण आधारभूत संरचना तथा कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकारको प्रयासमा आर्थिक वृद्धिलाई ध्यान दिएर हेरिरहेको छ ।
यसो भए पनि भारतको आर्थिक वृद्धिको अनुमान उसको प्रतिद्वन्द्वी चीनको भन्दा कमै छ । एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र चीनले यस वर्ष ७.४ प्रतिशतले वृद्धि प्राप्त गर्ने अनुमान गरिएको छ ।
अर्कोतिर ल्याटिन अमेरिका, मध्यपूर्व तथा अफ्रिकाका बाँकी भागमा आर्थिक वृद्धि गत वर्षको भन्दा राम्रो नहुने अनुमान गरिएको छ ।
हाल चीनको अर्थतन्त्र मन्द हुँदै गएको छ र केही विश्लेषकले आउँदा दिनमा भारतको आर्थिक वृद्धिले चीनको आर्थिक वृद्धिलाई नाघ्ने अनुमान गरेका छन् ।
गत महिना आर्थिक स्तर निर्धारण संस्था स्ट्यान्डर्ड एन्ड पोरले भारतको अर्थतन्त्र ‘नकारात्मक’बाट ‘स्थिर’ अवस्थामा आएको बताएको थियो । यसबीच प्रधानमन्त्री मोदीले आर्थिक सुधारको ठूलो आशा जगाएका छन् ।
एसियाली विकास बैङ्कले पनि थप व्यापारिक अडानका कारण भारतको अर्थतन्त्रमा परिवर्तन हुने अनुमान गरेको छ र स्थानीय व्यापारिक विश्वास सर्वेक्षणमा वर्तमान सरकारका समयमा विश्वासको दर बढेको देखिएको छ । रासस

