असल व्यवहार भएका दुईजनाको कैद मिनाहा
असल चालचलन भएका र आधा कैद भुक्तान गरिसकेका म्याग्दी कारागारका दुई कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ ।
कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार दसैँको अवसरमा उनीहरूलाई आइतबार कैद मिनाहा गर्दै मुक्त गरिएको हो । कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका ज्यामरुककोटका डिलबहादुर सार्की र ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका राखु पिप्ले–७ का यामबहादुर भण्डारीको बाँकी कैद मिनाहा गरी कारागारबाट मुक्त गरिएको जेलर खगराज शर्माले जानकारी दिए ।
जेलर शर्माका अनुसार आधा कैद भुक्तान गरिसकेका असल चालचलन भएका तीनजना कैदीबन्दीको बाँकी कैद मिनाहाका लागि सिफारिस गरिएकामा विभागले दुईजनाको स्वीकृत गरेर कैद मुक्त गर्न आदेश दिएको हो ।
म्याग्दी कारागारमा हाल चार महिलासहित ८९ जना कैदीबन्दी रहेका छन् । म्याग्दी कारागारको क्षमता भने ३२ जनाको मात्र रहेको छ । रासस

