३ करोड दिए ५० हजारलाई रोजगारी दिन्छु : उद्योग मन्त्री
उद्योग मन्त्री महेश बस्नेतले सरकारले शहिद परिवारलाई दिने २ करोड ८० लाख रुपैयाँ आफूलाई दिए मुलुकका हजारौं बेरोजगारलाई रोजगारी दिने बताएका छन् । प्रेस चौतारी रुपन्देहीले भैरहवा विमानस्थलमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भने, ‘मलाई ३ करोड रुपैयाँ दिए ५० हजार जनालाई रोजगारी दिन्छु ।’
‘उद्योग मन्त्रालय अधिकार नभएको अधिकारी जस्तो’
विगतको सरकारको कमजोरीका कारण देशमा विकास हुन नसकेको मन्त्री बस्नेतले जिकीर गरे । उनले उद्योग मन्त्रालय अधिकार विहीन भएको गुनासो समेत गरे । उनले भने, ‘उद्योग मन्त्रालय अहिले अधिकार नभएको अधिकारी जस्तै भएको छ ।’
पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजको ऐन नभएको कारण अहिलेसम्म संचालन हुन नसकेको दावी गरे । सेजको ऐन तयार भइसकेको र एक महिना भित्र संचालनमा ल्याउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा मन्त्री बस्नेतले हरेक निर्वाचन क्षेत्रमा एउटा उद्योग स्थापनाको आवश्यकता औंल्याएका थिए ।
मुलुकमा जसले उत्पादन गर्छ त्यही उत्पीडित रहने नेपालको विडम्बना रहेको भन्दै मन्त्री बस्नेतले सरकारी कर्मचारीहरुले पनि मुलुकमै बन्ने कपडाको पोशाक लगाउनु धारणा राखे ।
मुलुकमै रबर खेती, मह, जुट, कपास लगायतको उत्पादन बढाउने हो भने विदेशबाट आयात हुने बस्तुको मुख नताक्नु पर्ने उनको भनाइ थियो ।
www.onlinekhabar.com

