घरजस्तो भएन आश्रमको टिका
७६ वर्षीया मैया अधिकारी दशैं टीकाका दिन आखाँ आँशुले भरिएका थिए । यो वर्ष पशुपति बृद्धाश्रममा आएकी उनले घरमा दशै मनाउन नपाएकाले नरमाइलो मानिरहेकी थिइन् । हत्केलाले आँशु पुसिन् र भनिन् ‘घर जस्तो रमाईलो त कहाँ हुन्छ र ?’ काठमाडौं नारायणथान घर भएकी अधिकारीका लागि आश्रममा पहिलो दशैं हो । ६ महिना अघि मात्र उनी नारायणथानबाट आश्रम आएकी हुन् । ‘लाउन खान नपुगेर होईन, सहारा कोही नभएर आएकी हुँ, उनले सुनाईन् ’ श्रीमान् र छोरी बितेपछि केही बर्ष माईतमा बिताएँ, त्यहाँ पनि बस्न असहज भएपछि आश्रममा आएँ ।’ ३५ बषिर्य छोरी बितेपछि उनका अब आफन्त भन्ने कोही रहेनन् । श्रीमान त २२ बर्ष पहिला नै बिते । धेरै समय बाँचेकी छोरी र जन्मिएका पाँचै सन्तान दादुराले बिते ।
उनी जस्ता झण्डै २ सय ६७ जना बृद्ध बृद्धाले शुक्रबार दशैंको टीको आश्रममा नै लगाए । पशुपतिनाथ परिसर भित्र रहेको बृद्धाश्रममा दशैंको टीकाका दिन धेरै जसो सबेरै उठे । ६५ को हाराहारी उमेर काटेका ति बृद्धबृद्धा मध्ये नुहाउन सक्नेले नुहाए । नसक्नेले बृद्धाश्रमले दिएका नयाँ कपडा लगाए । महिलालाई धोती सारी र पुरुषलाई कमिज र ढाका टोपी दिइएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

