सिरियाको कोबानीमा भीषण गोली हानाहान
गोली हानाहान भएको उक्त क्षेत्रलाई रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ
कुर्द लडाकुहरुको नियन्त्रणमा रहेको सीमावर्ती सिरियाली शहर कोबानी आसपास भीषण गोली हानाहान भइरहेको विवरणहरु आएका छन्।
उक्त शहरमा उग्रवादी समूह इस्लामिक स्टेटले हमला तीव्र पारिरहेका बेला भिडन्तका खबर आएका छन्।
उक्त शहर नियन्त्रणमै राखिरहने कुर्द लडाकुहरुको प्रयासमा अमेरिकी नेतृत्वको हवाइ हमलाको पनि साथ छ।
उक्त क्षेत्र वरपर रहेका बीबीसीका संवाददाता पल एडम्सका अनुसार उनले लगातार विस्फोटन र मेसिन गनको आवाज सुनेका थिए।
कोसिस
बख्तरबन्द गाडी र मेसिन गन सहिततका इस्लामिक स्टेट लडाकुहरु पुन: कोबानी प्रवेश गर्ने कोसिसमा जस्तो देखिन्छ
पल एडम्स, बीबीसी संवाददाता
शहरको पूर्वी भागका घरहरुबाट धुंवाको मुस्लो निस्किरहेको पनि उनले देखेका थिए।
पल एडम्सले भने, “यो पछिल्लो घटनाले के देखाउंछ भन्ने कुरा सधैंजस्तै जान्न गाह्रो छ, तर बख्तरबन्द गाडी र मेसिन गन सहिततका इस्लामिक स्टेट लडाकुहरु पुन: कोबानी प्रवेश गर्ने कोसिसमा जस्तो देखिन्छ।”
उनका अनुसार आइतबारको लडाइ यो साताको सबैभन्दा भीषण हो।
इस्लामिक स्टेट लडाकुहरुले पछिल्लो तीन साता यता उक्त शहरमाथि कब्जा जमाउने प्रयास गरिरहेका छन्।
टर्कीसंग सीमा जोडिएको उक्त सिरियाली शहर रणनीतिक रुपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ।

