क्रान्तिकारी ब्याण्डेजको विकास, जसले घाउको अवस्था बताउँछ
अमेरिकाका वैज्ञानिकहरुले घाउ निको भए–नभएको जानकारी दिने व्याण्डेजको विकास गरेका छन् ।
म्यासाचुसेट्स जनरल हस्पिटल र हार्भार्ड मेडिकल स्कुलका वैज्ञानिकहरुले यस्तो क्रान्तिकारी ब्याण्डेजको विकास गरेका हुन् । घाउ निको नभएमा यो ब्याण्डेज चम्किएर डाक्टर र नर्सलाई जानकारी दिन्छ । घाउ निको हुने प्रक्रियामा समस्या आएमा यो ब्याण्डेज चम्किलो हरियो प्रकाशमा परिवर्तन हुन्छ । यसको अर्थ हुन्छ, घाउमा अक्सिजनको तहमा कमी आउनु । डाक्टरहरुका अनुसार गम्भीर घाउ, अल्सर र पोलेका घाउ निको हुन र नयाँ कोष पलाउन अक्सिजनको आवश्यकता पर्छ ।
यस नयाँ ब्याण्डेजमा फोस्फोरसका अणु मिसाइएको हुन्छ । ब्याण्डेजमा भएको फोस्फोरसका अणुले अक्सिजनको लेभलमा आएको परिवर्तनमा प्रतिक्रिया दिन्छ । यदि अक्सिजनको लेभल स्थिर छ भने ब्याण्डेजमा कुनै परिवर्तन आउँदैंन । तर, अक्सिजनको कमी छ भने फोस्फोरसका अणुमा बढी इनर्जी छ भन्ने बुझिन्छ र यो चम्कन थाल्छ ।
यो ब्याण्डेज अनुसन्धानमै रहेकाले बजारमा आउन कम्तीमा तीन वर्ष लाग्ने बताइएको छ । कार्डिफ विश्वविद्यालय र इम्पेरियल कलेज लण्डनका भिजिटिङ प्रोफेसर डेभिड लिपर भन्छन्, ‘अक्सिजन सेन्सिङ ब्याण्डेज खुट्टाको अल्सरको व्यवस्थाका लागि उपयुक्त आइडिया हो ।’
बेलायतको सरकारी आँकडाअनुसार बेलायतमा क्रोनिक घाउ भएका मानिसको संख्या २ लाख छ, जसलाई नियमित स्याहार आवश्यक पर्छ ।
