नेपाली विद्यार्थीको मृत्युले भारतमा हलचल

१ मंसिर, काठमाडौं । भारतको नैनीतालस्थित प्रशिद्ध शेरवुड स्कूलमा ९ कक्षामा पढ्ने १४ वर्षीय नेपाली विद्यार्थी साजन प्रजापतिको मृत्युको घटनाले भारतमा हलचल मच्चिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले स्कूल प्रशासनको गम्भीर लापरवाही भएको भन्दै कारवाहीको प्रसंग उठाएका छन् । स्कूलमै गम्भीर बिरामी परेका प्रजापतिको गत शुक्रवार दिल्लीको नोयडा अस्पतालमा मृत्युभएको थियो ।

मृतक साजनकी आमा निना श्रेष्ठले आफ्नो छोराको मृत्युको कारण स्कुल प्रशासनको गम्भीर लापरवाही रहेको भन्दै उनी बिरामी परेको परिवारलाई समेत कुनै जानकारी नदिएको आरोप लगाएकी छन् ।
‘स्कूलले मेरो छोरो गम्भीर बिरामी परेको समेत कुनै जानकारी दिएन, उसका साथीले फोन गरेपछि मात्र हामीले थाहा पायौं’ निनाले भनिन् ‘त्यतिबेलासम्म उसको अवस्थ्ाा नाजुक भइसकेको थियो’ ।
निनाको यो भनाइलाई भारतीय सञ्चारमाध्यमहरुले महत्वका साथ बाहिर ल्याएपछि स्कूल प्रशासन अप्ठेरोमा परेको छ भने नेपालमा पनि पीडित पक्षले यो विषयलाई काठमाडौंस्थित भारतीय दूतावासमार्फत अघि बढाउन खोजेको छ ।
स्कूलमा बिरामी परेका साजनको उपचारमा प्रिन्सिपल र प्रशासनले चासो नदिएपछि उनलाई हल्दवानी अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नोयडाको कैलाश अस्पतालमा लगिएको स्रोतले जनाएको छ ।
स्कूल प्रशासनले साजनलाई रगतको क्यान्सर रहेको र उनले खेलकुद गायतका गतिविधिमा भाग नलिने गरेको दाबी गरेको दि टाइम्स अफ इण्डियाले जनाएको छ । तर, निनाले आफ्नो छोरालाई रक्त क्यान्सरको कुनै लक्षण थिएन भनेकी छन् ।
मृतकको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण सेप्टिसेमिया नामक प्राणघातक संक्रमणबाट भएको उल्लेख छ । यो निकै तीब्र गतिमा फैलने संक्रमण भए पनि रक्त क्यान्सरबारे उल्लेख नभएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
पीडित पक्षले यो घटनामा शेरवुड कलेजका प्रिन्सिपल अमनदीप सन्धु सहितलाई कारवाही माग गर्दै नोयण्डा प्रहरी समक्ष एफआइआर दर्ता गराइसकेको छ ।
मृतककी आमा निना श्रेष्ठ विश्व बैंकको काठमाडौंस्थित कार्यलयमा कार्यरत छिन् । उनले आफ्नो छोराको मृत्युमा स्कूल प्रशासन सम्पूर्ण रुपमा दोषी रहेको भन्दै दोषीमाथि कारवाहीको माग गरेकी छन् ।
भारतको एनडिटिभी न्यूजले शेरवुड स्कूल/कलेज प्रशासनको लापरवाहीकै कारण विद्यार्थीको मृत्यु भएको प्रसंग बाहिर ल्याएको छ ।
शेरवुड कलेज/स्कूल नैनितालको निकै प्रख्यात शिक्षण संस्था हो, जहाँ नेपालका उच्च वर्गका छोरा छोरी पढ्ने गर्छन् । अहिले त्यहाँ पढेका भूतपूर्व विद्यार्थीहरु संगठित भएर साजनको मृत्यु प्रकरणमा पि्रन्सिपलमाथि कारवाहीको माग गरेका छन् ।
शेरवुड स्कूल प्रशासनको गम्भिर लापरवाहीका कारण भएको साजनको मृत्यु प्रकरणलाई नेपाल र भारतमा आफूहरुले गम्भीर रुपमा उठाइरहेको भूतपूर्व विद्यार्थी उज्ज्वलविक्रम थापाले बताए । ‘प्रिन्सिपल अहिले भागीभागी हिँडेका छन्, हामी उनलाई छाड्दैनौं,’ थापाले भने ।
यो घटनाविरुद्ध स्कूल प्रशासनमाथि कारवाहीको माग गर्दै सोमवार नयाँ दिल्लीमा नेपालीहरुले प्रदर्शन गर्दैछन् । नयाँ दिल्लीको सीएनआई भवन अगाडि स्थानीय समयअनुसार बिहान साढे दस बजे प्रदर्शनको कार्यक्रम रहेको राप्रपाका प्रवास समिति सदस्यसमेत रहेका उज्ज्वल थापाले बताए ।

,

news and entertainment