होटलमा राती अन्धाधुन्ध गोली प्रहार, ४८ को ज्यान गयो..
मोम्बासा : केन्याको एक सामुद्रिक तटीय सहरमा आइतबार राति विद्रोहीले गरेको आक्रमणका क्रममा कम्तीमा पनि ४८ जनाको ज्यान गएको छ। गएराति अल सेबाब नामको सोमालियाली सशस्त्र विद्रोही समूहले सो आक्रमण गरेको थियो।
उनीहरुले केन्यामा प्रवेश गरी सो हमला गरेको बताइएको छ। सोमबार केन्याली अधिकारीहरुले दिएको जानकारीअनुसार ती विद्रोहीहरुले त्यहाँका होटल, रेस्टुरेन्ट एवम् सरकारी कार्यालयहरुमा गोली प्रहार गरेका थिए। केन्याको एम्पेकेटोनी सहरमा विद्रोहीले हमला गरेका हुन्। रातको समयमा उनीहरुले अकस्मात गोली प्रहार गरेका र रातभरको सो आतङ्कबाट कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। एम्पेकेटोनी नामको सो सहरका एकजना जिल्ला उपप्रमुख कमिसनर माइसोरीले दिएको जानकारी अनुसार रातको समयमा दर्जनौँको सङ्ख्यामा आएका उनीहरुले हतियारले सो हमला गरेका हुन्।
उनीहरुले केही व्यक्तिका निजी घर, सरकारी कार्यालय, बैंक, होटल र रेस्टुरेन्ट भवनहरुमा आगजनी र हमला गरेका थिए। सो हमलामा परी अरु कयौँ व्यक्ति घाइते पनि भएका छन्। ती उपप्रमुख जिल्ला अधिकारीले सो हमलामा कम्तीमा पनि ५० जना हतियारधारी रहेका र अल सेबाबको झण्डा पनि बोकेका थिए। उनीहरु मोटरसाइकलमा आएका बताइएको छ ।उनीहरुले मेसिन गन लगायतका अत्याधुनिक हतियारले आक्रमण गरेका थिए। त्यस क्रममा उनीहरुले अल सेबाबको पक्षमा नाराबाजी पनि गरेका थिए।
उनीहरुले अल्लाह अकबार भन्दै गोली प्रहार गरेका बताइएको छ।आइताबार रातिदेखि सोमबार बिहानसम्म नै उनीहरुले सो सहरलाई लगभग कब्जामा नै लिएर अन्धाधुन्ध गोली प्रहार गरेका बताइएको छ। सो सहरका एकजना प्रहरी अधिकारीले सो आक्रमणबाट मारिएका अरुपनि कयौँ शव फेला परेका छन् र अहिलेसम्ममा ३४ जनाको शव भेटिएको जानकारी दिएका छन्। सो आमहत्याको अनुसन्धान जारी रहेको र ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी आक्रमणकारीको खोजी जारी राखिएको पनि समाचारमा जनाइएको छ। रासस /एएफपी/बीबीसी