बोको हरामको स्तब्ध पार्ने भिडियो

अबुजा (बीबीसी/एएफपी), कार्तिक १६ - नाइजेरियाको कट्टरपन्थी संगठन बोको हरामले संघर्ष विराममा सहमति नजनाएको र अपहृत २ सय स्कुले विद्यार्थीलाई रिहा गर्ने आश्वासन नदिएको भनेको छ । सरकारले गरेको उक्त दाबी झूटो भएको उसले जनाएको छ ।Nigeria-Violence
संगठन प्रमुख अबु बकार सेकाउले ती छात्राहरूले इस्लाम धर्म स्विकारेको र अपहृत भएपछि उनीहरूको बिहे गराइएको जानकारी दिएको छ ।
उनीहरू आ-आफ्नो लोग्नेको घरमा भएको भनिएको छ । ह्युमन राइट्स वाचले गत साता आफ्नो रिपोर्टमा बोको हरामले ५ सयभन्दा बढी महिला र युवतीलाई बन्दी बनाएर राखिरहेको र उक्त समूहभित्र बलजफ्ती बिहे सामान्य भएको बताएको थियो ।
नाइजेरियाको सेनाले १७ अक्टोबरमा ती कट्टरपन्थी समूहसँग संघर्ष विराम भएको घोषणा गर्दै चाँडै ती बालिका र किशोरीलाई मुक्त गराउने भनेको थियो । 'हाम्रो कोहीसँग संघर्ष विराम भएको छैन, न त कोहीसँग वार्ता भएको छ, यो सब झूटो खबर हो,' सेकाउले शुक्रबार भिडियो जारी गर्दै भने । उनले अगाडि भनेका छन्, 'हामी सहमति गर्दैनौं, वार्तासँग केही लिनुदिनु छैन, अल्लाहले जे भन्छ, त्यही गर्छौं ।'
त्यहाँ सरकारी घोषणापछि पनि हिंसा जारी रह्यो । शुक्रबार पनि विस्फोटहरू भए । बोको हरामले त्यहाँ सन् २००९ देखि संघर्ष गरिरहेको छ । यो वर्ष करिब २ हजार नागरिकको ज्यान गयो । झन्डै ६ महिना अगाडि उत्तर-पूर्वी बोर्नो राज्यको चिबोकबाट २ सय १९ बढी स्कुले छात्राको अपहरणको घटना सार्वजनिक भएपछि उक्त समूहको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । असफल सरकारको पनि व्यापक निन्दा भएको थियो । बोको हरामका नेता सेकाउको दाबीपछि अपहरित बालिकाका परिवारजन स्तब्ध भएका छन् ।
उत्तर-पूर्वी नगरको चिबोक प्रौढ मञ्चका प्रमुख पोगो बित्रसले ती बालिकाको विवाह भएको खबर स्तब्ध बनाएको बताए । उनले बोको हराम वास्तवमै भरपर्न नसकिने समूह भएको बताए ।
बित्रसले बोको हरामले समुदायमा आक्रमण गर्न नछोडेकाले आफूहरूले युद्धविरामलाई कहिल्यै गम्भीर रूपमा नलिएको र बालिकालाई रिहा गर्ने कुरामा विश्वास नगरेको बताए ।     बित्रसका चार भतिजी पनि बन्धक बनेका छन् । उनले सरकार अगाडि बढेर कुनै न कुनै प्रयास गरी विद्रोहीलाई दबाउने आफूहरूले आशा गरेको बताए । सेकाउले यसअघिको भिडियो सन्देशमा यी बालिकामध्ये केहीलाई दास पत्नीको रूपमा बिक्री गरिदिने बताएको थिए ।  
क्रिस्चियन धर्मगुरु एनोक मार्ककी छोरी तथा भतिजी पनि बन्धक बनेकी छन् । उनले बालिकाको अपहरण भएपछि वास्तविकता थाहा नभएको र विवादास्पद सूचना प्राप्त गर्ने गरेको बताए ।
उनले चिबोक बालिकाको विषयमा विश्वको ध्यान गएकोमा आफूहरू व्यंग्यात्मक रूपले भाग्यवानी भएको बताए । उनले बोको हरामले कति बालिकालाई अपहरण गरे भन्ने विषयमा भगवानलाई थाहा भएको र उनीहरू फर्केर आउने आशा गरिएको बताए ।

, ,

news and entertainment