‘बरू तितो सत्य चलाउँदिन तर दलाली गर्दिन्’ : दीपकराज गिरी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक नेपाल आएर एक साताअघि नै फर्के पनि सामाजिक सञ्जाल र सञ्चार माध्यम अझै मोदीमय छन् । नक्कली मोदीलाई तीतोसत्य नामक हाँस्य टेलिश्रृङ्खलामा खेलाइएकै कारण नेपाल टेलिभिजनले गएको विहिवारको यो टेलिसिरियल भाग प्रशारणमा रोक लगायो । त्यसयता मोदी, तीतोसत्य र दीपकराज गिरी चर्चामा छन् । यसै बिषयमा तीतोसत्यका निर्देशक, हाँस्यकलाकार दीपकराज गिरीसँग अनलाईन दैनिकले कुराकानी गरेको छ ।
तीतो सत्यको ५ सय ७६ औं भाग रोकिएको जानकारी कसरी पाउनुभयो ?
गएको विहिबार साँझ , म फिल्मको सुटिङ सकेर कठमाडौं फर्कदै थिएँ, घर नपुग्दै बाटोमा मलाई नेपाल टेलिभिजनबाट नीता सापकोटा (जस्ले तीतो सत्यको डिपार्ट हेर्छिन् ।) को फोन आयो,उनले मोदीलाई व्यङग्य गरिएको, हिन्दी भाषा प्रयोग गरिएकोभन्दै यसपालीको अङ्क प्रशारण गर्न नसकिने बरु अघिल्लो अङ्क नै पुनःप्रशासरण गर्ने जानकारी दिइन् ।त्यसपछि मैले उनलाई कन्भिन्स गर्ने प्रयास गरेँ तर नमानेछि पूरानो भाग देखाइयो ।
मोदीलाई कस्तो भूमिकामा राख्नु भएको छ र ?
एउटा विकट गाउँमा विकास, निर्माणका काम गर्न ढिलासुस्ती हन्छ । त्यसै परिवेसमा मोदी जस्तै पात्र देखाईएको छ । त्यो पात्र आएपछि र उसले अनुदान घोषणा गरेपछि मात्र गाउँलेहरु र राजनीतिक दलका नेता, कार्यकर्ता विकास, निर्माणका काममा तयार भएको देखाईएको छ । विकासमा पनि कमिसन चल्छ भन्ने कुरालाई व्यङ्ग्य गरिएको छ । यो श्रृङ्खलाको मुख्य उद्वेश्य विकास, निर्माण प्रतिको हाम्रो धारणा र सहभागितामाथि व्यङ्ग्य गर्नु हो ।
अनि नेपाली टिभीमा भारतीय प्रधानमन्त्रीको क्यारिकेचर गर्दा अपमान होला भन्ने बारे ख्याल गर्नुपर्थेन ?
तीतो सत्य व्यङ्ग्य प्रधान कार्यक्रम हो । प्रशारण रोक लगाइएको अङ्कमा देखाइएका पात्र सक्कली मोदी होइनन् । भारतका प्रधानमन्त्री भनेर पनि त्यहाँ प्रस्तुत गरिएको छैन । मोदीकै देश भारतमा पनि उनको क्यारिकेचर भइरहेका छन्, ती कार्यक्रममा उनी (मोदी ) जान्छन्, हाँस्छन् । बाराक ओबामाको पनि अमेरिकामा क्यारिकेचर हुन्छ तर उनले सहजै लिन्छन् । तितो सत्यमाथि अन्यायपूर्ण रुपमा सेन्सरको डण्डा बजारिएको छ । हचुवाका भरमा त्यो श्रृङ्ंखला रोकियो, कुनै चित्त बुझ्दो जवाफ बिनै ।
कलाकार हो भन्दैमा मनपरी गर्न मिल्छ ?
लोकतन्त्रमा सत्ता, सरकार, शासक वर्गको आलोचना गर्ने अधिकार आम नागरिकलाई जस्तै कलाकारलाई पनि हुन्छ । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा कहाँ ध्यान दिने भन्ने बारेमा हामी आफै सचेत हुन्छौं । तपाई भन्नुस – एउटा लेखक, निर्देशक, प्रोड्यूसर, कलाकार स्वविवेकमा चल्न पाउँदेनन् ?
अनि नक्कली मोदी पात्रलाई नेपाली भाषामा बोल्न लगाएको भए के हुन्थ्यो नि ?
तीतोसत्यमा कथा र परिवेश अनुसार पात्रहरु कहिले अङ्ग्रेजी, कहिले स्थानीय अरु भाषामा बोल्छन् । नेपाल टिलिभिजनमा हिन्दी बोल्नै नहुने भए अघिल्लो पटक मोदी आउँदा संसदमा हिन्दी मै भाषण गरे, ठूला भनिएका नेताहरुले टेवल ठोके, यही नेपाल टिभीले गौरवका साथ प्रत्यक्ष प्रशारण गरेको होइन < हाम्रै नेताहरुले पनि संसदमा हिन्दीमा बोल्ने र नेपाल टेलिभिजनले प्रशारण ग¥या छैन र ? त्यसैले जे, जस्तो बहानामा तीतोसत्यको भाग रोकियो, त्यसमा कुनै सत्यता छैन । मोदीलाई सम्मान गर्नुपर्छ, सम्मान गरौँ तर त्यसको नाउँमा चाकडी नगरौँ भन्ने मेरो धारणा हो ।
२०५६ सालमा रेडियो नेपालले पनि तपाईलाई यस्तै बिषयमा कारबाही गरेर निकालेको हो । सजग नहुनु तपाईको कम्जोरी हो नि ?
त्यस बेलाको विषय अर्कै थियो । रेडियो नेपालको प्राङ्गणमा कार्यक्रम भइरहेको थियो । तत्कालिन राजा वीरेन्द्र पनि सहभागी थिए । सुत्केरी भत्ताको विषय त्यसबेला खुब चर्चामा थियो । अनि मैले पनि तत्कालिन २ सय ५ जना सांसदलाई व्यङ्ग्यगर्दै दुई सय पाँच किरा नामक प्रहसन गरेको थिएँ,त्यसैका कारण मलाई रेडियो नेपालबाट हटाइयो । त्यसैले अहिले र पहिलेको कुरा भिन्न हो ।
अनि तपाईको सिरियल रोकिएपछि सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग चुक्लि लगाउनुभयो रे ?
चुक्लि लगाको होइन, हिजो संयोगले एउटा कार्यक्रममा भेट भयो, अनि मैले तीतोसत्य रोकिएको बारेमा जानकारी गराउने नै भएँ । अनि उहाँले एनटीभीका अध्यक्ष, निर्देशकसँग बुझेर म चाँडै समस्या समाधानन गर्छु, यो बिषय धेरै नउठाउँ है दीपक जी भन्नुभयो ।
नेपाल टेलिभिजनसँग अहिलेसम्म कुनै छलफल भएको छ ?
अनौपचारिक छलफल भइरहेको छ । जसले तीतो सत्य रोके, उनीहरुले गल्ति महसुस गरेजस्तो लागेको छ । २१ मंसिरमा छलफलका लागि बोलाएका छन् ।
काँटछाँट गरी प्रशारण गर्ने प्रस्ताव आए तपाईले मान्ने हो ?
म मान्दैन । यदी उहाँहरु एनटीभी पक्षले मलाई कन्भिन्स गर्नुभयो भने व्यग्लै कुरा, होइन भने रोकिएको तीतोसत्यको भाग जस्ताकोत्यस्तै प्रशारण हुनुपर्छ ।
के तपाईको रोकिएको भाग फेरि प्रशारण होला त ?
हुनुपर्छ भन्ने मेरो अडान कायमै छ । गल्ती भएको छ भने कारणसहित मलाई कारबाही गर्नुप¥यो । होइन भने बिभिन्न बहानामा मलाई दुःख दिने काम भएको छ । अघिल्लो विहिवार साँझ प्रशारण हुनुपर्ने भाग नगएसम्म म नयाँ भागको सुटिङ गर्दैन ।
एनटीभीमा समस्या छ भने अरु निजी च्यानलमा जान तपाईलाई कस्ले रोकेको छ ?
रोकेको होइन, मैले सुरु नै एनटीभीबाट गरेँ, दर्शकसँग एक प्रकारको सम्बन्ध बनेको छ र यसले एनटीभीलाई पनि फाइदा पुगेको छ । तर यस्तै व्यवहार, अनावश्यक सेन्सर गर्ने काम भइरहयो भने म छोड्न सक्छु ।
अनलाइन दैनिक बाट साभार
