अब भारु हजार र पाँच सयका नोट चल्ने


रोशन अधिकारी



काठमाडौ, माघ १० - नेपालमा ५ र १ हजार दरका भारु नोट ल्याउन भारतले खुला गरेको छ । बिहीबार पुरानो नियम परिवर्तन गर्दै भारतीय रिजर्व बैंकले नेपाल र भुटानमा ठूला दरका नोटबाट कारोबार खुला गरेको हो । दुवै नोट गरी २५ हजार भारतीय रुपैयाँसम्म लिएर नेपाल छिर्न पाइने भएको हो । 'सर्वसाधारणले नेपाल र भुटान ५ सय र १ हजार दरका नोट २५ हजार रुपैयाँसम्म लिएर जान पाउनेछन्,' रिजर्व बैंकले जारी गरेको सूचनामा भनेको छ ।

यसअघि कुनै सीमा उल्लेख नगरी १ सय दरका नोट लिएर दुवै मुलुक जान सकिने व्यवस्था मात्र थियो । 'भारतबाट नेपाल र भुटान यात्रा गर्नेको अप्ठेरो हटाउनका लागि यस्तो छुट दिइएको हो,' सूचनामा छ । भारतको केन्द्रीय बैंकले 'भारतीय मुद्राको आयात तथा निर्यात' सम्बन्धी नियममा परिवर्तन गर्दै यस्तो व्यवस्था गरेको हो । ठूला नोटमा २५ हजारको सीमा लगाए पनि १ सय रुपैयाँसम्मका भारु नोट जति पनि नेपाल ल्याउन पाइनेछ ।

ठूला दरका नोट खुला गरेको जानकारीसहित भारतीय केन्द्रीय बैंकको पत्र शुक्रबार राष्ट्र बैंकले पाएको छ । 'हामीले आज (शुक्रबार) जानकारी पाएका छौं,' राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, 'एक साताभित्र खुला गर्ने गरी परिपत्र जारी गर्नेछौं ।' २०५७ असार १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर ५ सय र १ हजार दरको भारतीय नोटलाई नेपालमा प्रतिबन्ध लगाइएको थियो । त्यसपछि राष्ट्र बैंकले पनि कारोबार गर्न रोक लगाउँदै निर्देशन जारी गरेको थियो । प्रतिबन्धित भएपछि दुवै नोट ल्याउन वा साट्न नपाइने अवस्था थियो । राजपत्रमा लगाइएको रोक खुलाएर परिपत्र जारी गरेपछि नेपालमा कारोबार सुरु हुने ढुंगानाले बताए । नक्कली नोटको कारोबार बढ्ने आशंकालगायत कारणले भारतकै अनुरोधमा ठूला नोट नेपालभित्र प्रतिबन्धित थिए ।


यो व्यवस्थाले भारतमा काम गर्ने नेपालीलाई घर र्फकंदा पैसा ल्याउन केही सहज हुने भएको छ । ठूला दरका नोट ल्याउन नपाउँदा साट्न र बोक्न समस्या थियो । करिब ४० लाख नेपाली भारतमा रोजगारीका लागि रहेको अनुमान गरिन्छ । साना दरका धेरै नोट बोकेर नेपाल भित्रिने कामदार लुटिने समस्या पनि देखिँदै आएको छ ।

यसका साथै भारतबाट नेपाल घुम्न आउने पर्यटकलाई पनि ठूला भारु नोट चलेपछि सजिलो हुनेछ । गत आर्थिक वर्षमा करिब ६७ हजार भारतीय पर्यटक काठमाडौं घुम्न आएका थिए । पछिल्लो समय भारतले लुम्बिनीसहित बुद्धिस्ट सर्किट निर्माणको काम अघि बढाउने बताइरहँदा नेपाल आउने पर्यटकको संख्या थप हुने देखिन्छ ।

नयाँ व्यवस्थाले नेपाल र भारतका व्यवसायीलाई पनि सजिलो हुने भएको छ । ठूला दरका नोट नचल्दा साना रकमको भुक्तानीमा समस्या देखिँदै आएको थियो । खासगरी सीमा क्षेत्रका नेपाली व्यवसायीलाई आफ्नो उत्पादन भारतमा लगेर बिक्री गरेपछि भुक्तानी लिन कठिनाइ हुने गरेको छ । भारतीय बजारमा खरिद गर्दा पनि यस्तै समस्या छ ।

सबैभन्दा ठूलो व्यापार साझेदार र खुला सिमाना भएको भारतसँग ५ सय र १ हजार दरका नोट खोल्न राष्ट्र बैंकले लामो समयदेखि पहल गरिरहेको थियो । भारत र नेपालबीचको अन्तर सरकारी समिति बैठकमा पनि ५ सय र हजारको नोट खुलाउन पछिल्लो पटक छलफल भएको थियो । भारतले भने साढे दुई महिनाअघिबाट दुई छिमेकी मुलुकमा ठूला दरका नोट खोल्ने तयारी गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्तामा आएपछि गरेको भुटान र नेपाल भ्रमणको क्रममा ठूला नोट खोल्ने प्रतिबद्धता गरेका थिए । त्यसपछि विभिन्न चरणमा कानुन संशोधन हुँदै बिहीबार खुला भएको हो ।

धेरै भारतीय नोट चलनचल्तीमा आउनु नेपालका लागि भने राम्रो होइन । व्यापारबाट नेपाल भित्रिएको बाहेक नेपालले अमेरिकी डलर बिक्री गरेर भारतीय रुपैयाँ ल्याउने गरेको छ ।

-    भारतले कारोबार खोलिसक्यो, नेपालले एक साताभित्र

-    ठूला भारतीय नोट चल्दा भारतमा रहेका अनुमानित ४० लाख नेपाली कामदारसहित वाषिर्क ६० हजारभन्दा बढी भारतीय पर्यटकलाई नेपालमा सजिलो

,

news and entertainment