सुवास नेम्वाङ हिरो कि भिलेन ?
टिप्पणी/प्रयास पराजुली
जसले सक्दैन, उसले अरुलाई सिकाउँछ, जसले सक्छ उसले गरेर देखाउँछ–जर्ज वनार्ड । हो, जो सक्दैन उसकै अर्ति र उपदेश बढी हुन्छ । काम गर्नेहरुले कुरा गरेर समय वबार्द गर्दैनन् । किनकी उनीहरुको लागि त्यो समय नै हुँदैन । उरन्ठेउला कुरा गरेर जनमानसलाई उत्तेजित पारेर कुनै पनि समस्याको समाधान हुन सक्दैन । तर जे गर्न नहुने हो र जे भन्न नहुने हो नेपालको राजनीतिमा यस्तै भैरहेको छ चलिरहेको छ । अन्ततः संविधासनसभामा हिरो र भिलेनको खोजी कार्य भईरहेको छ । जनताको नाममा नाटक मञ्चन भइरहेको छ । यसको मुख्य निर्देशक सभाध्यक्ष सुवास नेम्वाङ हिरोबाट भिलेन बन्ने अभियनमा आफ्नो दक्षता र क्षमता प्रदर्शन गरिहेका छन् ।
सभामुख नैतिकता भए राजिनामा देउ
संविधानसभाभित्र अहिले भद्रगोल छ । कुर्सी फुटाउनेसम्मका काम संविधानसभाभित्र नै भइसकेको छ । हानाहानको अवस्थामा आउनुमा सबै भन्दा बढी जिम्मेवारी छन भने सभाध्यक्ष नेम्वाङ नै हुन् । उनी पहिलो संविधानसभामा असफल सिद्ध भइसकेका पात्र हुन् । जसलाई एमालेले पुनः सभाध्यक्ष बनायो । यहीबाट सुरु भयो दोस्रो संविधानसभा असफलताको श्रृङखला । उनी आफ्नो निर्णय आफ्ै गर्ने हिम्मत गर्दैनन । जुन नजिरको रुपमा उनकै कारण संविधानसभा विघटन हुन पुगेको थियो । यदी सबै भन्दा दोषी हुने भने नेम्वाङ नै दोषी हुन । यसको कैयो दोषी प्रमाणहरु इतिहासमा दर्ज भइसकेको छ । आज उनी कुन नैतिकताले प्रक्रियाको कुरा गरिरहेका छन् ? उनी प्रक्रियाको मुलडोजर चलाएर कुन हुकुमी शासन चलाउन खोज्दैन ? नैतिक मुल्य मान्यता र आदर्शलाई तिलाञ्जली दिदै कांग्रेस–एमालेको उक्साहटमा नेम्वाङ जसरी अगाडि बढ्न खोजी रहेका छन् । यो उनको केटाकेटीपना हो । यदी प्रक्रियाबाटै संविधान जारी गर्ने त्यत्रो हिम्मत रहेछ त किन पहिलो संविधानसभा विघटन हुने अन्तिम दिन सिहंदरबारमा गएर चाहुरिएको अनुहार लिएर बसेको त ? के यसको जवाफ नेम्वाङले दिन सक्छन ? नेम्वाङले अहिलेसम्म राजनीतिक दलको असफलतामा आफ्नो सफलता देख्दै आएका छन् । नियम र विधिको कुरा गर्न नेम्वाङलाई रामैसँग आउँछ । तर अघिल्लो संविधानसभामा किन मुकदर्शक भएर रमिता मात्र हेरेर बसे त ? यसको जवाफ दिनु पर्दैन ? नेम्वाङज्यू थोरै मात्र नैतिकता छ भने तपाईले राजिनामा दिने हिम्मत गर्नुपर्छ । सभामुख भनेको साझा व्यक्ति हो । तर अहिले व्यवहार हेर्दा एमालेको कार्यकर्ता भन्दा माथिको हैसियत बनाउन नसक्नु त्यसको दृष्टान्त संविधानसभामा देखिएको मुठभेड हो । हुन त पार्टीको नुनको सोझो गर्नु तपाईको अपराध हैन । तर रमिता देखाइ रहनु भएको छ । यसले तपाई र तपाईको पार्टीलाई त फाइदा नै पु-याउँला सिंगो देश र जनतालाई फाइदा पु-याउँदैन । आगोको झिल्को सानो नै हुन्छ तर त्यसले लिने स्वरुप भयङ्कर हुन्छ भन्ने कुरा नेम्वाङज्यूले राम्रैसँग बुझ्नु भएको होला ।
नेम्वाङ हिरो कि भिलेन ?
सत्ता पक्ष कांग्रेस–एमाले मार्शल लगाएर भएपनि पक्रिया सुरु गर्ने पक्षमा रहेका छन् भने एमाओवादी र मधेसी मोर्चा बरु बलिदान दिने तर प्रक्रिया अगाडि बढाउन नदिने तयारीमा छन् । संविधानसभाका हिरो नेम्वाङले आफूले रोल खेल्न नसक्दा मुठभेड निम्त्याउने र भाडभैलो प््रर्दशन गराउने खेलमा आफू नै संलग्न भएका छन् । यस खेलबाट नेम्वाङ हिरोको रोलबाट भिलेनमा झरिसकेका छन् । उखान नै छ नि– भिरमा लड्ने गाइलाई राम राम मात्र भन्न सकिन्छ काँध हाल्न सकिन्न । फिल्लमा अन्तिम अवस्थामा आएर हिरोको जित हुने र भिलेन पराजित हुने गर्छन । तर अहिलेको घटनाक्रम हेर्दा अन्तिम अवस्थामा आएर हिरो नै भिलेन भनेपछि फिल्म हेर्ने दर्शकलाई कुनै रमाइलो छैन् । सविधानसभामा भइरहेको नाटक मञ्चनप्रति नायकको आलोचना मात्र छ । पुरुषार्थी नजिक दरिद्रता रहदैन, मौन रहनेसँग झगडा हुँदैन, जागा रहनेलाई डर हुँदैन–थोरो । अहिले संविधानसभामा यही घटनाक्रम चलिरहेको छ । संख्याङमा १ सय ४८ जना मात्र रहेको एमाओवादी र मधेसवादी सभासदले आफ्नो जागापन देखाएका छन् । किनकी निरिहता प्रदर्शन गरेर कसैले पनि बहादुरीको इतिहास रच्न सक्दैन । बहुमत बलमा पाखुरी वलको भरमा जुन दम्भ नेम्वाङले प्रर्दशन गरेका छन यसले पनि पुष्टि गर्छ कि हतियार मुठेभेड धम्की र धुर्की त क्षणिक हो । विद्धानले दिर्घकालीन सोच र विवेक राख्छ । त्यो दिर्घकालीन सोच राख्ने र राष्ट्रलाई निकास दिने विषयमा नेम्वाङमा विवकहिनता देखियो । यो भन्दा नेम्वाङको असफलता के हुन सक्छ ?
पतनको बाटोमा नेम्वाङ
राजनीति एउटा विज्ञान हो, यसको उपयोग आम मानिसको कल्याणको लागि हुनुपर्छ–अरस्तु । हो, आम मानिसको हितले नै सबैको भलाई गर्छ । तर सभाध्यक्ष नेम्वाङ कांग्रेस–एमालेको बुइँ चढेर एमाओवादीमाथि क्षेप्यात्र हार्न चाहन्छन । नेम्वाङले निशाना त लगाएका छन् । तर उनी आफै पनि विश्वस्त छैनन कि लाग्छ भन्नेमा । नेम्वाङको केटाकेटी बुद्धीका कारण यो देशले अहिलेसम्म दुःख पाइरहेछ ? नेम्वाङ अरस्तुले भनेजस्तै आम मानिसको कल्याणको लागि अहिलेको गोटी चाल्दैछ कि कांग्रेस–एमालेको स्वार्थको चङगुलमा फसेर यो धनुषकाड हलमा लिएर हिडेका छन ? शेक्सपिएरले भनेका छन–‘गर्नुपर्ने कामको लागि साइत किन पर्खन्छौ ।’ यदी गर्नुपर्ने काम थियो भन्ने महसुस नेम्वाङ महोदयलाई रहेछ त पहिलो संविधासनसभा पनि एमाओवादीको पक्षमा दुई तिहाई बहुमत थियो किन त्यसलाई जनमत मान्नु भएन ? ताग परे तिवारी नत्र गोतामे भनेझै नेम्वाङले जुन प्रकारको जालझेल षडयन्त्र र तिकडमको खेल सुरु गरेका छन् यो उनको पतनको बाटो हो । इतिहासले यस्तै फैसला गर्दै आएको छ नेम्वाङज्यू ? हरेक मानिसलाई इतिहासले एउटा अवसर जिम्मेवारी दिन्छ त्यति बेला चुक्दा इतिहासमा सबै खलनायक बनेका छन । नायक बन्ने अवसर गुमाएका छन् । नायक बन्ने अवसर जसले पाएका छन तिनले कहिल्यै पनि देश र जनतामाथि धोका दिएका छैनन ? कांग्रेस–एमालेको भनाईमा तपाईले आफ्नो सफलता देख्नु भएको छ भने नेम्वाङज्यू तपाई पनि तिनै खलनायकको सूचि बढाउन मात्र योग्य देखिनुहुन्छ । नायक बन्न होइन ।