अधवैंशे पुरुष कन्डम लगाउन मान्दैनन् : यौनकर्मि


प्रकाशित मिति:२०७१ माघ १०
-स्वास्थ्य खबरपत्रिका
काठमाण्डौं - पाँच वर्षदेखि काठमाडौंको जमल आसपासको क्षेत्रलाई कार्यक्षेत्र बनाएर यौन व्यवसाय गर्दै आइरहेकी यौन व्यवसायी हुन् कस्तुरी लामा । ३० वसन्त काटेकी उनको स्थायी घर सिन्धुपाल्चोक  हो । दैनिक चार देखि छ जनालाई यौन सन्तुष्टि प्रदान गर्नु उनको दिनचर्या नै हो । २० बर्षका युवकदेखि ५० वर्ष पार गरेका प्रौढ समेत उनीसँग यौन सुख प्राप्त गर्न आउँछन् । यौन व्यवसाय सुरु गर्दा उनलाई कण्डमका बारेमा खासै थाहा थिएन । यो पेसामा जम्दै गएपछि उनले केही परेर जानिन त केही सिकेर पनि ।  दश कक्षा सम्म पढेकी कस्तुरीले कयौं पटक कण्डमका बिषयमा अभिमुखीकरण तालिम समेत लिएकि छिन् । अहिले उनी कण्डमका विषयमा पूर्णजानकार रहेको बताउछिन् । कण्डम नलगाई यौनसम्पर्क राखेपछि एचआईभी तथा यौनरोग सर्छ भन्ने उनलाई थाहा छ । कण्डमको प्रयोग नगरि यौनसम्पर्क राख्दा उनका कयौं साथी एचआईभी संक्रमित समेत भइसकेका छन् । त्यसैले पनि उनी बिनाकण्डम यौनसम्पर्क राख्न मान्दिनन् ।

तर उनीसँग यौनतृष्णा मेटाउन जाने अधिकांश अधवैंशे पुरुष भने कण्डम प्रयोग नगरेरै यौन सम्पर्क राख्न चाहेको उनी बताउछिन् । कस्तुरी भन्छिन् ‘हामी कुनै पनि ग्राहकलाई बिनाकण्डम यौनसम्पर्क राख्न दिदैनौं तर, ग्राहक भने बिनाकण्डम यौनसम्पर्क राख्न दिए बढी पैसा तिर्न तयार हुन्छन् ।’ पैसाकै लागि अधिकांश यौनकर्मी बिनाकण्डम सम्पर्क राख्न राजी हुने गरेको विश्लेषण उनको छ ।  कस्तुरीको अनुभवमा तीस वर्षसम्मका केटाहरू कण्डमका बिषयमा सम्झाएपछि लगाउन राजी हुन्छन् उनले थपिन् ‘पहिले त केटाहरु कण्डम लगाउन मान्दैनन् । तर कण्डम नलगाए सम्पर्क नै नगर्ने अड्डी लिएपछि मानिहाल्छन्, केटाहरुमा यौन चाहना बढी हुन्छ । तर चालिस काटेकाहरु भने मरिगए मान्दैनन् ।’

रत्नपार्कलाई कर्मथलो बनाएकी अर्की यौनव्यवसायी सकुन्तला चौधरीको भोगाई पनि कस्तुरीको भन्दा धेरै भिन्न छैन । अधवैसे पुरुषहरुसँग यौनसम्पर्क राख्दा पैसाको मोलमोलाईभन्दा कण्डम लगाउने बिषयमा बढी वादविवाद हुने गरेको उनी बताउछिन् । सकुन्तलाका अनुसार यसरी कण्डम नलगाएर सम्पर्क राख्न आउने अधवैसेमध्ये अधिकांश घरमा श्रीमतिसँग खटपट परेका, काठमाडौ घुम्न आएका, विदुर, मदिरा सेवन गरेका पुरूष बढी हुन्छन् ।  सकुन्तला र कस्तुरी जस्तै यौनव्यवसाय संचालन गरिरहेका अधिकांश यौनकर्मीलाई विना कण्डम यौनसम्पर्क राख्न हुदैन् भन्ने कुरा राम्ररी थाहा छ । कण्डम नलगाएर गरिने यौनसम्पर्कले एचआईभी सर्छ भन्ने कुरा पनि उनीहरुलाई थाहा छ । यौनकर्मीका ग्राहक पुरूषले बुझेर पनि बुझ पचाएका छन् । बढी पैसा कमाउने लोभले केही यौनकर्मी महिलासमेत जान्दा जान्दै पनि बिना कण्डम सम्पर्क राख्न राजी हुने गर्छन् । जसका कारण उनीहरु एचआईभी, यौन रोग र अनिच्छित गर्भधारण गर्छन् । यौनकर्मी महिलाहरुको संस्थाको तथ्यांक अनुसार काठमाडौंमा मात्र पचास हजारको हाराहारीमा यौनकर्मी महिला र चालिस हजार भन्दा बढी यौनकर्मि महिलाका पुरुष ग्राहक छन् । ग्राहकको तुलनामा महिला यौनकर्मीको संख्या न्युन रहेकाले एकजना महिलाले छ देखि दश जना पुरुषसँग यौनसम्पर्क राख्नु पर्ने अवस्था छ ।
यौनकर्मी महिलाहरुको आम्दानी उनीहरुको जवानीमा भर पर्छ । वीस बर्ष ननाघेकी सुन्दर महिला यौनकर्मीको रेट दश/वीस हजारसम्म रहेको छ । त्यसैगरि तीस पैतिस बर्षकी यौनकर्मीको रेट एक हजारदेखि दुई हजारसम्म, चालिससम्मका यौनकर्मीको मोल पाँचसयदेखि हजारसम्म र चालिस पार गरेका यौनकर्मीको मोल सय रुपैयादेखि पाँंच सयसम्म रहेको उनीहरु बताउछन् । अधिकांश पुरुष कण्डम लगाएर सम्पर्क राख्दा आनन्द नआउने मान्यता राख्छन् । बिनाकण्डम यौनसम्पर्क राख्दा घरमा बर्षेनी बच्चा जन्मिेने भएकाले श्रीमतिले समेत बिना कण्डम यौनसम्पर्क राख्न मान्न छाडेपछि उनीहरु यौनकर्मी महिलाको सम्पर्कमा पुग्छन् । त्यसका लागि उनीहरु मोटो रकम तिर्न पनि तयार हुन्छन् ।
रक्सी खाएर यौनकर्मी महिला कहाँ पुगेका पुरुष कण्डम नलगाएरै सम्पर्क राख्न दिए बोकेको पैसा मात्र नभएर मोबाइल र घडीसमेत दिन राजी हुन्छन् । होटेललाई कार्यक्षेत्र बनाएकी बाराकी एक यौनकर्मीले भनिन, ‘एकजना भारतीय व्यापारीले मागेको पैसा सहित वीस हजारको मोवाइल दिन्छु , तर बिना कण्डम गर्न दिनु पर्छ भनेपछि के गर्ने ? म दोधरमा परे । नगरांै भने पैसाको लोभ गरौ एचआइभीको डर । अन्तमा मैले उसँग यौनसम्पर्क त गरे तर कण्डम लगाएर मात्र । ‘महंगो मोबाइलमा आँखा लगाइन ।’ उनले थपिन् । अधिकांश महिला यौनकर्मीका छोराछोरी राजधानीका बोर्डिड स्कुलमा पढ्छन् ।  उनीहरु आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि जुन सुकै किसिमको जोखिम मोल्न पनि तयार हुन्छन् । जोखिम नमोली पैसा कमाउन नसकिने भएकाले पनि कण्डम विनाको यौनसम्पर्क गर्न उनीहरु तयार हुने गरेका छन् । नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता नभएकाले लुकीछिपी यो पेसा अंगाल्नु परेको अवस्था छ । प्रहरीले समात्ने डरले उनीहरुलाई  हतारहतारमा यौनसम्पर्क राख्नु पर्ने बाध्यता समेत भएको सुनाउँछन् ।

यौन व्यवसायले कानूनी मान्यता नपाउँदासम्म एचआईभीको संक्रमण दर नघट्ने यौनकर्मिहरुको दावी छ । यौन रोग विज्ञका अनुसार एचआईभी संक्रमित मध्ये ७० प्रतिसत भन्दा बढी असुरक्षित यौन सम्पर्कका कारण भएको पाइएकोले पनि सरकारले यो व्यवसायलाई कानूनी मान्यता दिनु पर्छ ।  एचआईभी र एड्सको क्षेत्रमा कार्यरत संस्थाहरुको आकडा अनुसार काठमाडौंमा करिव एक हजारभन्दा बढी महिला यौनकर्मि छन् ।


,

news and entertainment