आइएससँग बदला लिन जोर्डनी राजा अब्दुल्ला युद्धमा आफैं जाने

काठमाडौं, माघ २२ । जोर्डनका राजा अब्दुल्लाले इस्लामिक स्टेट (आइएस)का अतिवादीहरुसँग बदला लिने युद्धको मोर्चा आफैंले सम्हाल्ने उद्घोष गरेका छन् ।

आफ्नो वायुसेनाका पायलटलाई जिउँदै जलाएर आइएसले निर्मम हत्या गरेपछि क्रूद्ध बनेका राजा अब्दुल्लाले आइएसलाई जरैदेखि निमिट्यान्न पार्न आइएस नियन्त्रित क्षेत्रमा गरिने आक्रमणको नेतृत्व गर्ने दृढता देखाएका हुन् ।

सत्ता सम्हाल्नुअघि राजा अब्दुल्ला जोर्डनको ‘स्पेसल फोर्स’मा मेजर जनरल थिए । अब्दुल्ला एक ‘ट्रेन्ड कोबरा अट्याक’ हेलिकप्टर पाइलट पनि हुन् । सन् १९८० मा ब्रिटेनको रोयल मिलिट्री एकेडेमीमा तालिमका लागि भर्नासमेत भएका उनी ब्रिटिस सेनामा सेकेन्ड लेफ्टिनेन्टका रुपमा तैनाथ थिए ।

आक्रोशित र दुःखी बनेका देशबासीलाई सम्बोधन गर्दै राजा अब्दुल्लाले धैर्य गर्न अपील पनि गरेका छन् । पायलटको हत्या गरेलगत्तै जोर्डनले पनि उसको नियन्त्रणमा रहेको अलकायदासम्बद्ध दुई व्यक्तिलाई फाँसी दिएको थियो ।

मृतक पायलटका बाबुले हत्याको बदला लिन अपील गरेका छन् भने जोर्डनको राजधानी अम्मानमा ठूलो संख्यामा सर्वसाधारणले हत्याको विरोधमा प्रदर्शन गरेका छन् ।

सिरियाको रक्कामा विमान उडाउँदै गर्दा गत वर्षको डिसेम्बरमा कसासबेहलाई आइएसले कब्जामा लिएर बन्धक बनाएको थियो । (एजेन्सी)

news and entertainment