घुस्याहा प्रहरीकै फन्दामा अख्तियारको टोली, लोकमानले मध्यरातमा गरे आइजीपीलाई फोन
अख्तियारको टोलीलेले २५ हजार घुससहित सई खरेललाई रंगेहात पक्राउ गरेपछि ५० जनाको संख्यामा आएका प्रहरीले उल्टै अख्तियारको टोलीलाई तीन घण्टा बन्धक बनायो । प्रहरीको क्षेत्री अनुसन्धान व्यूरो (सिआईबी), घुमुवा प्रहरीसहित ५० जनाको समूहले घेरा हालेर अख्तियारको टोलीलाई आक्रमण गरेको थियो । 444 अख्यिारको टोली घुस्या प्रहरीबाट बन्धक बनेपछि केन्द्रीय कार्यालयमा गुहार मागेका थिए । अख्तियारका प्रमुख लोकमान सिंह कार्कीले शुक्रबार मध्यराती प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग टेलिफोनमा कुरा गरेपछि अख्तियारको टोली मुक्त भएको थियो ।
नेपालगन्ज । घुससहित पक्राउ परेपछि नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबिच तीन घण्टा विवाद भएको छ । नेपाल प्रहरीका एक अधिकृत बाँकेमा घुस लिदा लिँदै पक्राउ परेका थिए । पक्राउ गर्ने अख्तियारको टोली र प्रहरीबिच शुक्रबार राति तीन घण्टासम्म घम्साघम्सी भएको थियो।
नेपालगन्ज धम्बोजीस्थित क्रसरोड होटलमा सेवाग्राहीबाट २५ हजार घुससहित प्रहरी नायव निरीक्षक सुमन खरेलसहितका प्रहरी र अख्तियारको टोलीबिच घम्साघम्सी भएको थियो ।
जिल्ला प्रहरीमा परेको एक उजुरी मिलाईदिन्छु भन्दै उनले सेवाग्राहीबाट पटक पटक घुस लिएको गुनासो अख्तियारमा पुगेपछि निगरानी बढाइएको थियो । अख्तियारको निगरानीमा परेका सई खरेलले शुक्रबार राति पुन सेवाग्राहीबाट २५ हजार घुस लिन लागेका थिए । कोहलपुरस्थित सम्पर्क कार्यालयको टोलीले सई खरेललाई घुससहित रंगेहात पक्राउ गरेपछि उनका समर्थक र करिब ५० जनाको संख्यामा आएको प्रहरीको समूह अख्तियारको टोलीमाथि जाई लागेका थिए ।
सई खरेल फन्दामा परेपछि अख्तियारको टोलीलाई प्रहरीको क्षेत्री अनुसन्धान व्यूरो (सिआईबी), घुमुवा प्रहरी र केही सर्वसाधरणसहित करिब ५० जनाको समूहले समेत घेरा हालेर आक्रमणको प्रयास गरेका अख्तियारको कोहलपुरस्थित कार्यालयले जनाएको छ ।
चोरी मुद्धामा माघ २१ मा पक्राउ परेका भाइ युधिर सिंहलाई छुटाइदिने शर्तमा बाँकेकै युवाराज सिंहबाट २५ हजार घुस लिँदै गरेको अवस्थामा सई खरेललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुशीलसिंह राठौरले सई खरेलले युधिर सिंहलाई छुटाईदिने शर्तमा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको पुष्टि गरे ।
अख्तियारले सई खरेललाई पक्राउ गरेपछि ठूलो संख्यामा पुगेका प्रहरीले अख्तियारको टोलीलाई होटलमै तीन घण्टासम्म घेरा हालेका थिए । सो क्रममा सई खरेललाई पक्राउ गर्ने अख्तियारका केही कर्मचारीमाथि प्रहरीले हातपात समेत गरेका अख्तियारको कोहलपुरस्थित कार्यालयका प्रमुख बसन्त कुवँरले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका खरेललाई त्यहाँबाट लान नदिएपछि अख्यिारको टोलीले केन्द्रीय कार्यालयसँग गुहार मागेको थियो । स्रोतका अनुसार अख्तियारका प्रमुख लोकमान सिंह कार्कीले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग टेलिफोनबाट कुराकानी गरेपछि मात्रै प्रहरीले खरेललाई होटलबाट लान दिएका थिए ।
‘हामीले सईलाई रंगेहात पक्राउ गरेका थियौं । करिब ५० जनाको समूहमा आएकाहरुले हामीलाई आक्रमणको प्रयास गरे’, अख्तियारको सम्पर्क कार्यालयका प्रवक्ता जंगबीर डाँगीले भने, ‘सप्रमाण पक्राउ गरेको व्यक्तिलाई कसैको दबाब आएर छोड्ने कुरै भएन । हामीमाथि आक्रमण प्रयास गर्नेहरु प्रहरी भएको खुलेको छ । त्यसबारे पनि अनुसन्धान थाल्दैछौं ।’
पक्राउ परेका खरेल सादा पोशाकमा नेपालगन्ज क्षेत्रमा खटिन्थे । केही दिनअघिमात्र सरुवा भएर आएका बाँकेका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका विश्वासपात्रका रुपमा उनी चिनिन्थे । एसपी कोइरालाको विश्वासपात्र बनेपछि उनले घुमुवा प्रहरीको जिम्मेवारी पाएका थिए ।