अाेलीसँगकाे भेटमा सेक्युरिटी राख्नुपरेन: राजेन्द्र महतो (अन्तर्वार्ता)

अाेलीसँगकाे भेटमा सेक्युरिटी राख्नुपरेन: राजेन्द्र महतो (अन्तर्वार्ता)
सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा अाेलीका अभिव्यक्तिप्रति कडा अापत्ति जनाउने नेतामध्ये एक जना हुन्। मधेस अान्दोलनपछि राजधानी जान्न भनेर अड्डि कस्दै आएका उनी कही समयअघि वाकयुद्धका उनै प्रतिद्वन्द्वी प्रधानमन्त्री अाेली भेट्न काठमाडौं पुगे। अाेलीसँगको नोकझोक एवं चीनको झन्डा जलाएको प्रसङ्गबारे महतोसँग नागरिकन्युजका राैतहट संवाददाता मदन ठाकुरले सर्लाही, मलङ्गवा पुगेर गरेको लामो कुराकानीको सम्पादित अंशः


तपाइँहरुका माग सम्बोधन गर्न भनेर सरकार र तीन दलको सक्रियतामा पहिलो संविधानमा संशोधन गर्ने काम भयो। अझै तपाइँहरु नोकझोँककै स्थितिमा हुनुहुन्छ नि?
पहिलो कुरा त संविधान बनेको चार महिनामै संशोधन हुनुले के पुष्टि भएको छ भने तीन दलले गलत संविधान बनाएका रहेछन्। जनताले पाएको अधिकार खोस्ने संविधान उनीहरुले बनाएका थिए। समानुपातिक समावेशी राज्यका विभिन्न निकायमा विगतको अन्तरिम संविधानमा स्वीकार गरिएको थियो त्यसविपरित आएको नयाँ संविधान गलत हो भनेर तीनवटै पार्टीले स्वीकारेका छन्। त्यसैले यो उनीहरुले नै ल्याएको संशोधन हो। दोस्रो कुरा त्यो संशोधनबाट हाम्रो मागलाई सम्बोधन गर्ने काम भएको छैन। मधेस आन्दोलनको जुन मागलाई ठ्याक्कै सम्बोधन नगरे पनि संविधन संशोधनको ढोका खोल्ने काम भएको छ भन्ने हाम्रो बुझाई हो।

सहमति गर्ने भनेर तपाइँ काठमाडौंमा प्रधानमन्त्री भेटेर फर्किनु भएको छ। एक वर्ष अघिदेखि तपाइँ दुई (केपी ओली र महतो) बीच जुन तहमा वाकयुद्ध चलिरहेको थियो बैठकमा सुरक्षाकर्मी नै त राख्नु परेन ?
(लामो हाँसो) केपी ओलीसँग मेरो व्यतिगत रिस ईबी केही छैन। झगडा पनि छैन। विचारको लडाइमा, सिद्धान्तको लडाइमा, अधिकारको लडाइमा उहाँसँग मेरो मतभिन्नता रहेको हो। उहाँका अभिव्यक्तिलाई लिएर मेरो आपत्ति रहेको हो। म घाइते भएर उपचारको क्रममा दिल्ली गएको बेला प्रधानमन्त्री केपी ओलीजीले फोन गर्नुभयो। ममाथि भएको आक्रमणको घटनाप्रति दुख व्यक्त गर्नुभयो। गल्ती भयो भनेर स्वीकार्नुभयो। र मधेसको माग पूरा गर्ने वचन दिनुभयो। माग पूरा हुन्छ भन्ने आशाका साथ म काठमाडौं नजाने मान्छे काठमाडौं गए। उहाँसँग भेटेँ। उहाँसँग भेट्दा कुनै सेक्युरिटी राख्नु परेन। कुस्ती गरेको भए पनि हामी सकिहाल्थ्यौं।




भेटमा तपाइँलाई प्रधानमन्त्रीले उखान टुक्का पनि सुनाउनु भयो?
माखे साङ्लो, सम्म भूभाग सबै चाहिने भए बिहार युपी पनि सम्म नै छ भन्ने अभिव्यक्ति लगायत विभिन्न विषयमा कुराकानी भयो। उहाँले विगतमा भएका कमजोरी, त्रुटिबारे हामीले जनाएको आपत्तिबारे उहाँले सफाइ दिनुभयो। मैले मधेसको मागबारे प्रस्ट ११ बुँदे विचार राखेँ। मैले क्लियर कट् माग राखेको छु कुमाइको घुमाइले मधेसलाई हुँदैन।

यो पटकको मधेस आन्दोलनको औचित्य तपाइँ कसरी पुष्टि गर्नुहुन्छ? ५० जनाभन्दा बढीले ज्यान आहुती दिएर मधेसका जनताले पाउन लागेको कुरा के के हुन्? सिराहाको पिछडिएको डोम र रौतहटका गरिब मधेसी दलितको जीवन स्तरमा के फरक पर्दैछ?
यो मधेसी, दलित, जनजाती, आदिवासी, थारु, मुस्लिम सबैले अधिकार प्राप्त गर्ने आन्दोलन हो।े मुसहरले पनि अधिकार पाउने हो दलितले पाउने हो जनजातिले पनि पाउने हो। सबैको अधिकारको लडाइ हो। किलियर कट दलितको यो हो भने दलितले यति प्रतिशत पाउन पर्छ । सत्ता सञ्चालनमा सवैले आआफ्नो हिस्सा पाउनुपर्छ। राज्य सञ्चालनका सबै अंगहरुमा सवैको प्रतिनिधित्व हुनुपर्छ। सम्पूर्ण मधेसी जनताको यसमा योगदान छ। सबै लडिरहेका छन्। मरिरहेका छन्। त्यसैले सम्पूर्ण जनताको योगदान हो। र एउटा नेताले टाउको पनि फुटाएको छ।

तपाइँहरु नाकाबन्दी हामीले नै गरेको हो भनेर दाबी गर्दै हुनुहुन्थ्यो भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा भारतले नाकाबन्दी गरेको भनिदिइन्। यसले नेपाल सरकारलाई अप्ठ्यारोमा पार्न तपाइँहरु भारतको गोटी बनेको पुष्टि भएन र?
त्यो गलत हो। नाकाबन्दी हामीले नाकामा बसेर अवरोध गर्दा भएको हो। नाकामा हामी गएर बस्या हौं। भारत सरकारले नाकाबन्दी गरेको भनेर सुस्मा स्वराजले भनेकी छैनन्। मैले पनि सुनेको हो। त्यो गलत प्रचार गरिएको हो।

आन्दोलनका क्रममा तपाइँको पार्टी कार्यकर्ताले चीनको झन्डा जलाउने, चीनविरुद्ध नाराबाजी गर्ने काम गरेको देखियो। यही कारणले गर्दा तपाइँसँग उपेन्द्र यादबको खटपट समेत भयो। भारतको नजिक हुन यसो गर्नु परेको हो कि तपाइँ साँच्चै चीन विरोधी हो?
दुनियाँको कुनै मुलुकको बिरोधमा हाम्रो पाटी छैन। सबै मुलुकहरु हाम्रा मित्रराष्ट्र हुन्। छिमेकी भारत र चीन त अझ हाम्रा निकटका मित्रराष्ट्रहरु हुन्। हामी चीनविरुद्ध जाने कुनै नीति छैन, हाम्रो पार्टी चीनविरोधी गतिविधिमा संलग्न भएको पनि छैन। कुनै व्यक्ति, कोही अमुक कार्यकर्ताको व्यक्तिगत विचार त्यसरी अभिव्यक्त भएको हुनसक्छ। उसले प्रतिक्रिया जनाएको हुनसक्छ। यही कुरालाई लिएर सद्भावना पार्टीले त्यो काम ग¥यो भन्नु गलत कुरा हो। कुनै व्यक्तिले गलत काम गर्न सक्छ, आपत्तिजनक काम गर्नसक्छ। त्यसमा सिङ्गो पार्टीलाई मुछ्नु गलत कुरा हो।

तपाइँलाई आपत्तिजनक लागेको, पार्टी नेतृत्वलाई गलत ठहर गरेको भए चीनको झन्डा जलाउने कार्यकर्तालाई के कारवाही भयो?
चीनको झन्डा जलाउने काम हाम्रो पार्टी मान्यताविपरित हो। चीनको झन्डा जलाउने गतिविधिलाई हामीले मान्यता दिएका छैनौं। आन्दोलनका क्रममा कुनै जनता, कार्यकर्ताले स्वतस्फुर्त रुपमा गरेको कामको गलत प्रचार गरियो।

तराईमा गरिबी छ, अशिक्षा छ, रुढी व्याप्त छ। राष्ट्रसंघको मानव विकास प्रतिवेदनले औंल्याएअनुसार रौतहटको शिक्षा, स्वास्थ्य र सरसफाइको अवस्था सबैभन्दा नाजुक बाजुराको बराबर छ। यी विषयका लागि मोर्चाले कहिले आन्दोलन गर्छ?
अहिले हामीले जुन आन्दोलन गरिरहेका छौं। यो त्यसैका लागि भइरहेको हो। यो राजनीतिक लडाइँ सकिएपछि मुलुक आर्थिक विषयतर्फ प्रवेश गर्छ। नेपालमा सबै थोक छ। प्रकिृतिले हामीलाई सबैथोक दिएको छ। जलविद्युत्, पर्यटन, कृषिको लागि राम्रो जमिनदेखि उद्योगको लागि अनुकुल अवस्था सबै यहाँ छ। यी सबै कुराहरुको व्यवस्थित दोहन गर्न सक्यो भने नेपाल स्वर्ग बन्न समय लाग्दैन। तर सवाल के हो भने राजनितिक अधिकार पहिला पाउनु प¥यो। कुनै जनताप्रति विभेद, भेदभाव र शोसण समाप्त गर्नु प¥यो। यो सम्पुर्ण नेपाली जनताको मुलुक हो। सवै नेपाली जनताले बराबर अधिकार पाउनु पर्छ। सवै नेपाली जनताले राष्ट्रको निर्माणमा, विकासमा योगदान छ। यो राज्य पनि सरकार पनि हाम्रो हो भन्ने अनुभूति जनतालाई दिनुप¥यो। यसको लागि पहिला संविधानमा विभेद हटाउनु पर्छ। रौतहट मात्र होइन समग्र मुलुकलाई त्यसपछि मात्र प्रगति पथमा हिँडाउन सकिन्छ।

यो पटकको मधेस आन्दोलनले वर्षौंदेखि सँगै बस्दै आएका मधेसी र पहाडीबीचको सद्भाव नराम्रोसँग खल्बलाइ दिएको छ। तपाइँहरु राजनीतिक मुद्दा मिलाउनु होला। सामाजिक सद्भावमा पुगेको नकारात्मक असरको क्षतिपूर्ति कसरी गर्ने ?
यो आन्दोलन एउटा उत्कृष्ट आन्दानेलन हो। आन्दोलनमा समाजिक सदभावपूर्ण रुपमा कायम गरिएको हो। यो भन्दा पहिलेको दुईवटा आन्दोलनमा स्थिति उथलपुथल देखिएको थियो। पाँच महिनाभन्दा लामो समयसम्म चल्दै आएको आन्दोलनमा समाजिक सदभाव पुर्ण रुपमा कायम छ। आन्दोलनकारीको तर्फबाट हाम्रो तर्फबाट पूर्ण रुपले कायम भएको हो। यो मधेसमा हामीले कुनै पनि पाहाडीयालाई एक थप्पड हानेन्। मधेस छोडेर जाउ भनेर भनेको छैनन्। हामी त भनिरहेका छौं मेचीदेखी महाकालीसम्म जुन मधेसको धर्तीमा जति मधेसी, पहाडी, आदिवासी, बाहुन क्षेत्री लगायतका जातजातीहरु हामी सँगै बसेको यो मुलुकमा हामी सँगै बस्यौं। अहिले प्रान्त बन्दा पनि हामी सँगै बस्न पाउनु पर्छ हामीलाइ नछुटयाउ। झापा, मोरङ, सुनसरी मधेसको धर्ती हो हामी सँगै बस्दै आएका हउ सँगै बस्न पाउनुपर्छ। बरु सरकारबाट सम्प्रदायिकता भड्काउने काम भयो, सरकाले नै सम्प्रदायिक्ता फैलाउने प्रयास गर्‍यो। त्यो गलत थियो।

संविधान संशोधन सँगै मोर्चाको आन्दोलन कमजोर भएको छ। तपाइँकै जिल्ला सर्लाही नाकाबाट खुलेआम मालबाहक गाडी भित्रिरहेका छन्। नेपाल भित्रिने ७० प्रतिशत सामान भित्रिने मुख्य वीरगञ्ज नाका चाहिँ अझै खुलेन कारण के होला?
वीरगञ्ज नाका आन्दोलनको सुरुदेखि नै हामीले बन्द राखेका छौं। मुलुकभरका अन्य नाकाहरु आन्दोलनका क्रममा पनि पूर्णतः ठप्प भएनन् आंशिक रुपमा खुलै रहे। आन्दोलन भइरहयो, खुली नै रहयो। सोही क्रममा सर्लाही नाका पनि खुलेको हो। वीरगञ्ज नाका खुल्ने बन्द हुने क्रम भइरहेको छ। हामीले वीरगञ्ज नाकामा धर्ना त्यागेका छैनौं। नाकाबन्दीको विषयमा सबै नाका बन्द गर्ने वा खोल्ने मधेसी मोर्चाको बैठकले तयगर्छ। आगामी दिनमा पनि सबै नाका मधेसी मोर्चाले चलाउने हो।

तपाइँ फेरि भारत (बिहार) जान लाग्नु भएको रहेछ। राजनीतिक समर्थन जुटाउन जान लाग्नुभएको कि पारिवारिक भेटघाटका लागि हो?
मधेस आन्दोलनका समर्थनमा त्यहाका स्थानीय नेता डाक्टर रघुवंशप्रसाद सिंह (पूर्वमन्त्र तथा जनता दल युनाइटेडका नेता) ले सीमा क्षेत्रमा मधेस आन्दोलनको समर्थनमा एउटा अभियान चलाउनु भएको छ। सोही अभियानको क्रममा भारतको मुजफ्फररपुरमा एउटा कार्यक्रम राख्नुभएको छ, त्यसैमा म सहभागी हुनजादै छु। त्यसमा सीमाक्षेत्रका विधायक, पत्रकार, विद्वान सबै ँग मधेस आन्दोलनको विषयमा छलफल गर्न मलाई बोलाइएको हो।
nagariknews

,

news and entertainment