विश्वकप क्रिकेटमा अब नेपाल र भारत भिड्ने
काठमाडौं, माघ १७ । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ ।
बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।
‘समूह डी’मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन् । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गरेको छ ।
नेपालले पहिलो खेलमा न्युजिल्यान्ड जस्तो बलियो टोलीलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रो आयरल्यान्डविरुद्धको खेलमा आठ विकेटको जित हासिल गर्यो ।
त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो । चार टोली सम्मिलित ‘समूह डी’मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन् । रासस
imagekhabar