मधेसी गठबन्धनले आन्दोलन फिर्ता लियो, बजार, यातायात र शैक्षिक संस्था खुल्न दिने

वीरगन्ज, १९ माघ । आन्दोलनरत सङ्घीय समावेशी मधेसी गठबन्धनले सीमा नाकाको धारणा यथावत् राख्दै केही समयका लागि बजार, यातायात र शैक्षिक संस्था खुल्न दिने निर्णय गरेको छ ।
आन्दोलनलाई अझ बढी व्यवस्थित बनाउनाका साथै आन्दोलनरत सबै दल र मोर्चालाई मिलाएर महागठबन्धन निर्माण गर्नका औपचारिक रुपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गर्ने बैठकले निर्णय गरेको गठबन्धनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले जानकारी दिनुभयो । बैठक आइतबार र आज सोमबार गरी दुई दिनसम्म वीरगन्जमा सञ्चालन भएको थियो ।

तराई मधेस राष्ट्रिय अभियानका संयोजक एवम् गठबन्धनका नेता जेपी गुप्ताले मधेसको माग सम्बोधन गराउनका लागि मधेसकेन्द्रित सबै दलबीच उच्चस्तरको एकता, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस आन्दोलनलाई परिणाममुखी बनाउनका लागि मधेसी, थारु, आदिवासी जनजाति, दलित र मुसलमान लगायत सबै वर्ग र समुदायलाई आन्दोलनमा सक्रियताका साथ लाग्न आह्वान गर्नुभयो । मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले गठबन्धन मधेसका जिल्लामा विरोधसभा, जनप्रदर्शन, जनजागरण लगायत कार्यक्रम तय गरेर अगाडि बढ्ने बताउनुभयो । रासस
dainiknepal

,

news and entertainment