पारस भन्छन्ः हामी विश्वकप खेल्ने अवसर फेरि आउनेछ
८ चैत, काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का भारतमा स्वास्थ्य परीक्षण गराएर आएपछि मैदानमा फर्केका छन् । आइतबार त्रिवि क्रिकेट मैदानमा पुग्दा उनी पुरानै जोशका साथ अभ्यासरत थिए । आफू अहिले पूर्णरुपमा स्वस्थ रहेको उनले बताए ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँगको खेलका लागि नेपाली टीम अहिले अभ्यासरत छ । अघिल्ला दुई चरणको खेल गुमाएर दबाबमा परेको नेपालका लागि यो लगभग निणर्ायक खेल हो र यसमा नेपाली टीम खेलमा फर्किनेमा पारस विश्वस्त छन् ।
अहिले तपाइको स्वास्थ्य कस्तो छ ?
ठिक छ । यहाँ डाक्टरले सबै ठिक छ भन्नु भएको थियो । तैपनि ‘सेकेण्ड ओपेनियन’ लिनका लागि गएको थिएँ । उता गएर सबै चेक गराएँ । सबै ठिक छ । खेल्नलाई खासै समस्या छैन ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँगको खेल नेपालमा नै हुने भएको छ, कत्तिको उत्साहित हुनुहुन्छ ?
एकदमै खुसी लागेको छ । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट खेल नभएको साढे २ वर्ष भइसक्यो । नेपालमा जुन माहोल छ, त्यो अन्यत्र कहि पाउँदैनौं । त्यसमाथि हाम्रो त होम ग्राउण्ड नै भयो ।
प्रतियोगितामा नेपालको अवस्था चाहीँ कस्तो देख्नुहुन्छ ?
दुर्भाग्यबस सुरुवाति दुई राउण्डका खेल हामीले गुमायौं । तर, अब जति खेल बाँकी छ, त्यो सबै महत्वपूर्ण छ । यो लेभल यस्तो छ कि सबै टिम बलिया र राम्रा छन् । त्यसैले राम्रो क्रिकेट खेल्नैपर्छ । हामीले जति पनि खेल हारेका छौं, कतिपय खेल जित्न सक्ने अवस्थामा पनि थियौं । त्यसैले यो लेभलमा १०० ओभर नै खेल्न सक्नुपर्छ । खेल नसकिँदासम्म जसले पनि जित्न सक्छ ।
अब बाँकी खेल जित्न हामीले आफ्नो खेलको स्तर बढाउनुपर्छ । आशा गरौं, बाँकी खेलमध्ये चार वटा राउण्ड जित्न सक्यौं भने शीर्ष चारमा पर्न सक्छौं ।
क्रिकेट संघ आन्तरिक विवादमा फसेको छ । त्यसको असर तयारीमा परेको छ कि छैन ?
विवादबारे सबैलाई थाहा नै छ । हामीले गर्न सक्ने भनेको मैदानभित्र हो र गर्नु पर्ने मेहनत गरिरहेका छौं । तयारी त जति गरे पनि पुग्दैन । फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा हामीले ट्रेनिङ गर्ने अवसर पाएनौं भन्न पनि मिल्दैन । त्यसैले हामीसँग जति समय छ, त्यसलाई धेरै सदुपयोग गर्नुपर्छ । सबैले व्यक्तिगत रुपमा पनि प्राक्टिस गरेका छन् र क्याम्प पनि सुरु भएको छ । हाम्रोतर्फबाट कुनै ‘एक्सक्युज’ छैन ।
तर, तपाईले भनेको जस्तो व्यवस्थापनमा झगडा छ । यो पहिला पनि थियो । तर, यति नराम्रो अवस्थामा थिएन । आशा गरौं, यो चाँडै सुल्झियोस् । नेपाल क्रिकेटलाई अगाडि बढाउन व्यवस्थापन/प्रशासन राम्रो नभएसम्म गाह्रो हुन्छ । जित र हारले मात्र हुँदैन ।
विवादलाई छाड्ने हो भने भइरहेको तयारी कत्तिको सन्तोषजनक छ ?
राम्रै छ । स्कोरहरु फलो गरिरहेको थिएँ । कोचसँग कुरा भइरहेको थियो । यू-१९ को केही केटाहरुले पनि राम्रो गरिरहेका छन् । सिनियर प्लेयरहरुले पनि राम्रै प्रदर्शन गरिरहेका छन् । अन्तिम दुई सातातिर हामी उत्कृष्ट १४ र ४ बैकल्पिक सदस्य छान्ने छौं । हामीसँग समय पनि छ ।
प्रशिक्षकमा लामो समयदेखि पुवुदु दशानायकेले हुनुहुन्थ्यो । अहिले जगत टमाटा हुनुहुन्छ । यद्यपि उहाँ तपाईहरुका लागि नयाँ होइन । कत्तिको मिस गर्नुहुन्छ पुवुदुलाई ?
Paras Khadka (1)नेपालको क्रिकेट अहिले जहाँ छ, यसमा पुवुदु सरको योगदान छ । त्यसले अवश्य नै मिस गरिरहेका छौं । तर, मिस हुन्छ भनेर बस्नु पनि स्वभाविक हुँदैन । जे जति स्रोत साधन र प्रशिक्षकहरु हुनुहुन्छ, त्यसको सदुपयोग गरेर सबै खेलाडीले खेल्नुपर्छ । र, सबैलाई थाहा छ कि कसले के गर्नुपर्छ । हामीसँग क्षमता पनि हो, मात्र ‘अन द डे’ प्रदर्शन चाहिएको छ ।
नामिबियासँगको खेलमा घरेलु मैदान हाम्रो एडभान्टेज भयो । अरु के के हुन् हाम्रो सबल पक्ष ?
टिमका रुपमा हामीले राम्रो गरिरहेकै थियौं । तर, पछिल्लो एक वर्ष हामीले राम्रो खेल्न सकेका छैनौं । व्यवस्थापन आफ्नो ठाउँमा छ, तर, हामीले आफ्नो जिम्मेवारी लिनुपर्छ । र, राम्रो खेल्न सकेका छैनौं ।
यो ‘हाइ टाइम’ हो । पछिल्ला खेलहरुमा जे गल्तीहरु भएका छन्, त्यसलाई दोहोर्याउनु भएन । विगत ५/६ वर्षमा धेरै अनुभव बटुलेका खेलाडीहरु हामीसँग छन् । यू-१९ पनि छ । तर, सबै खेलाडी तयार छन् ।
सबैभन्दा निराश हुनुपर्ने पक्ष के रहृयो अहिलेसम्म ?
हामीले हारेको चार मध्ये तीन खेल हाम्रै पक्षमा थियो । स्कटल्याण्डसँग २ रनले पनि हार्यौं । थोरै तलमाथि भएको भए शायद हामी जित्थ्यौं होला । यो नै गल्ती भयो भनेर भन्न त गाह्रो छ, तर एउटा टिमका रुपमा राम्रो गर्दागर्दै पनि फिनिसिङ कमी रहृयो भन्छु म ।
योसँगै के हो भने टिमले राम्रो प्रदर्शन नगर्दा एकले अर्कालाई मद्दत गर्नुपर्छ । फ्यानको समर्थन त छ नै । त्यसैले अब हाम्रो लक्ष्य भनेको जित हो । त्यसैले टीमको रुपमा हामीले राम्रो गर्नुपर्छ ।
नामिबियासँगको खेलमा मुख्य चुनौती के हो ?
सबै टिम उत्तिकै बलिया छन् । तर, पनि उनीहरुको बलियो पक्ष ब्याटिङ हो । हाम्रो बलिङ हो । तर, यो कन्डिसनमा पनि भरपर्छ । पछिल्लो पटक नामिबियासँग खेल्दा हामीले उसकै घरेलु मैदानमा हराएका थियौैं । उनीहरुले पनि तयारी गरेका छन् । हामीले पनि आफ्नो तर्फबाट सक्दो प्रयास गर्नुपर्छ र प्रदर्शन सुधार गर्नुपर्छ ।
अहिले टी-२० विश्वकप चलिरहेको छ । कत्तिको मिस गर्नुहुन्छ ?
धेरै नै । दुःख लाग्छ कि हामी छनोट हुन सकेनौं । स्कटल्याण्ड/आयरल्याण्डमा हामीले नै नराम्रो खेलेका हौं । एक-दुई जना खेलाडी भन्दा पनि पुरा टिम नै आउट अफ र्फम रहृयो, त्यो जिम्मेवारी हामी लिन्छौं ।
चाहन्थ्यौं कि विश्वकप खेलौं । सबै जनाले पनि चाहनुहुन्छ कि नेपालले फेरि विश्वकप खेलोस् । तर, अवसर आउनेछ र हामीले तयारी थाल्नुपर्छ । यो लेभलमा टिमले मात्र मेहनत गरेर हुँदैन, व्यवस्थापनदेखि सबै पक्ष सहयोगी बनुपर्छ । म चाहन्छु कि विवाद चाडै समाधान होस् । खेलाडीका रुपमा हाम्रो सपना पनि छ कि ५० ओभरमा विश्वकप खेल्ने । आशा गरौं, अगामी दिनमा हामी फेरि विश्वकप खेल्न सकौं ।
यू-१९ विश्वकपमा हामीले राजु रिजाल, सन्दिप लामिछानेहरुलाई देख्यौं । उनीहरुलाई हेरेर नेपालको भविश्य कस्तो देख्नहुन्छ ?
धेरै सकारात्मक । यू-१९ टिमले राम्रो गर्नासाथ राष्ट्रिय टिममा आउने हो । तर, नेपालमा दुःख लाग्दो कुरा के छ भने १६ वर्षपछि यू-१९ टिम दोस्रो चरणमा पुगेको हो । यहाँ आएपछि ५/६ जना बाहेक अरु खेलाडीहरु कहाँ छन् थाहा छैन । क्रिकेटमा छन् कि छैन थाहा छैन । हामीसँग कुनै संरचना छैन ।
onlinekhabar
