सहयोग गर्न पाउँदा बाग्लुङका शालिकरामको मुहारमा देखिएको खुशि
धुर्मुस सुन्तली
साँझ पर्नै लाग्दा बागलुङ बिहुँ १ का शालिकराम कँडेल, कार्यालयमा आईपुगे । निकै उज्यालो अनुहारमा उनको खुशि मन प्रस्ट देखिन्थ्यो । बुवा समान वृद्ध उनले दमदारका साथ आफ्नो परिचय दिए । त्यसपछि बल्ल चिन्यौँ । बिहान भेट्न मन गर्ने मान्छे उनी नै रहेछन् । शालिकरामका सालाले बिहानै फोन गरेका थिए । आफ्नो भिनाजु हामीलाई नै भेट्न बाग्लुङदेखि आएको सुनाएका थिए । अमेरिकाबाट सामाजीक कामको लागि छोराले पठाएको सानो उपहार पु¥याउन उनी काठमाण्डौँ आएका रहेछन् । उपहार सानो छ तर मलाई निकै भारी भइरहेको छ । जति सक्दो छिटो त्यो भारी बिसाउन चाहान्छु, काठमाण्डौँ आउने बित्तिकै उनले सालासँग भन्दा रहेछन् ।
भूकम्प गयो । शालिकराम र उहाँको छोराजस्ता धेरै सहयोगी हातहरुको साथ पाइयो । सहयोगको याचनामा रहेका केहि प्रभावितहरुको घाउमा मल्हम पट्टी गर्न सकियो । अहिले हाम्रो दैनिकी नै कलाकारीता भन्दा बढी गरिब, असाहय र प्रभावितहरुको सेवामा बितिरहेको छ । स्वच्छ र पवित्र मनले व्यक्तिगत स्वार्थ त्यागेर देशलाई राम्रो बनाउने अभियानका साथ सकारात्मक सोच लिएर हामी दम्पत्ती रात दिन नभनी लागि परिरहेका छौँ । यस्तै विश्वास र साथ रहिरहेमा हामी देशका लागि नमुना काम गरेर देखाउने छौँ । यसो भनीरहँदा शालिकरामले हामी प्रतिको विश्वासको पोको फुकाए । श्रद्धाले शिर झुकाए । हाम्रो मन प्रफुल्ल भयो । सामाजीक परिर्वतनका लागि गरेको संर्घष सार्थक हुने विश्वास बलीयो बन्यो ।
शालिकरामले भावुक हुँदै भने, छोरो अमेरिका पुग्यो । तर, मलाई काठमाण्डौँ पनि नौलो छ । एक्लै आए हराउँछुकी झैँ लाग्छ । बैंकबाटै त्यो उपहार पठाउँदा नि हुन्थ्यो । बैंकबाट पठाउँदा न तपाईँहरुसँग भेट हुन्छ, न त मनको कुरा भन्न नै पाईन्छ । त्यसैले ढिलो त निकै ढिलो भयो । तै पनि छोराले पठाएको सानो उपहार तपाईँहरुको हातमा दिन पाउँदा निकै खुशि र हलुका महशुस भएको छ, उनले मन खोलेरै बेलीबिस्तार सुनाए ।
भूकम्पले गरेको क्षतिले अमेरिकाको क्यालीफोर्नीयामा रहेको छोरो बाबुराम कडेलको मन पनि चिरिएछ । सकेको थोरै सहयोग गर्ने निर्णयमा पुगेछन् । केहि साथी भाईले पनि उनलाई साथ दिएछन् । भूकम्प पिडितको लागि भनेर उनीहरुले एक लाख एक हजार रुपैँया नेपाल पठाएछन् । पैसा मेरो हातसम्म आईपुग्यो । तर, म बुढाले कहाँ गएर पिडित पहिचान गरेर सहयोग बाँडौँ ? त्यहि बेला तपाईँहरुले भूकम्प पिडितको लागि बस्ती बनाउनु भएको रहेछ । जाडोमा न्यानो बाँड्न गाउँ गाउँ पुग्नु भएछ । छोरो बाबुरामलाई तपाईँ प्रति सरकारको भन्दा बढी विश्वास जागेछ । धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेमा यो पैसाको सहि सदुपयोग हुन्छ भन्ने सोचेछ । त्यहि भएर म तपाईँहरुको सम्र्पकमा आएको । करिब १५ मिनेटको बसाईमा उनले यी कुरा बताए ।
उहाँहरुको विश्वासले उत्साह थप्यो । उहाँ जस्तै धेरै विश्वासीला सहयोगी हातहरुकै कारण हामी निरन्तर यो अभियानमा छौँ । लाखौँ सहयोगी हातहरुको विश्वासलाई कहिल्यै नतोड्ने हाम्रो अठोट अझै बलियो बनेको छ । रकम थोरै भए पनि कसैका लागि यहि रकम निकै ठूलो बन्न सक्छ । त्यस्ता व्यक्ति र समाजको खोजी गरेर तपाईँहरुले गर्नुभएको विश्वास हामी पुरा गर्ने छौँ । हामीले यसो भनिरहँदा ६० वर्ष नाघिसकेका शालिकराम कडेँलको चाउरीएको गालामा मुस्कान देखियो । कसैलाई सहयोग गर्न पाउँदाको खुशि र उत्साहालाई हामीले उनको अनुहारमा देखिरहेका थियौँ । किनकी अरुलाई दिन पाउँदाको खुशि र आनन्द लिन पाउँदाको भन्दा दोब्बर हुन्छ ।
हिँड्ने बेलामा शालिकरामले आफ्नो टाउको हलुका भएको बताए । अंकमाल गरे । देशका र समाजका लागि बाचुञ्जेल यस्तै काममा सक्रिय रहनु भन्दै आर्शिवाद दिए । यस्तै आर्शिवादले होला हामीहरुलाई समाज सेवाप्रति एकोहोरो बनाएको । चाहे त्यो सरसफाई अभियान होस् या देशलाई बालमैत्री बनाउने अभियान नै किन नहोस् । हामी निरन्तर खटिरहेका छौँ र भविष्यमा पनि खट्नेछौँ । यस्तै उत्साह र सहयोगी साथ र विश्वासका कारण नै एकिकृत बस्ती बन्न सफल भएको हो । भूकम्प पिडितलाई राहात बाँड्न गाउँ गाउँ पुग्न सकिएको हो । हामी प्रतिको विश्वास अझै बढ्दै गएको पाएका छौँ । त्यो विश्वास र साथलाई संगालेर हामी अर्को नयाँ एकिकृत बस्ती बसाउने योजनामा छौँ । समाजमा सक्दो परिर्वतन ल्याउनमा कटिबद्ध छौँ । आम नेपालीको विश्वासको सहि सदुपयोग गर्न तत्पर छौँ ।
dhurmussuntali