अब गाविस सचिवलाई २ लाख ५० हजारको सरकारी मोटरसाइकल


मोटरबाटो पुगेका गाविसका सचिवलाई सरकारले अब मोटरसाइकल किनिदिने भएको छ। गाविस सचिवले धेरै काम गर्नुपर्ने भएकाले उनीहरुलाई यातायातको सुविधा दिन लागेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार गाविसले २ लाख ५० हजारसम्मका मोटर साइकल किन्न अर्थ मन्त्रालयले बजेटको स्वीकृति दिइसकेको छ। ‘अब मोटर बाटो पुगेका र मोटरसाइकलको लाइसेन्स भएका गाविस सचिवले मोटरसाइकल किन्न पाउँछन्’ भट्टराईले भने ‘यो गाविसकै सम्पत्ति हो, स्थानीय विकास अधिकारीले जिल्ला विकास समितिको गाडी चढेजस्तै गाविस सचिवले मोटरसाइकल पाउने हो।’
अहिले देशभरका ३१ सय ५७ गाविसमध्ये २७ सय ३९ गाविसमा मोटर बाटो पुगेको छ भने ४सय १८ गाविसमा अझै मोटरबाटो पुगेको छैन।
अहिले देशभरिका २ सय ६२ ओटा गाविसमा सचिव छैनन्। एउटै सचिवलाई दुई गाविसको जिम्मेवारी दिइएको छ। भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १ सय २५ गाविसमा सचिव नभएको भट्टराईले बताए।
‘गाउँका हरेक कामका लागि गाविस सचिव दौडिनु पर्छ’, भट्टराईले भने, ‘अब सवारी साधन भएमा गाविस सचिवले छिटो काम गर्न सक्छन् भन्ने मन्त्रालयको विश्वास छ।’
गाविसको मोटरसाइकलको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीले गर्ने र मोटरसाइकलका चाहिने तेलको बारेमा पनि छिटै व्यवस्था गरिने भट्टराईले बताए।
यसका साथै मन्त्रालयले गाविस सचिवलाई सञ्चार सुविधावापत्को रकम पनि उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव गरेपनि स्वीकृत नभएको भट्टराईले बताए।
सेतोपाटी

,

news and entertainment