तपाईंको टाउको दुख्छ ? यसरी बच्नुस्
रगत जाँच्नेदेखि लिएर 'सिटिस्क्यान', 'एमआरआई'सम्म गरेर धेरै पैसा खर्च गरिसकेँ र पनि टाउको दुखाइ ठीक भएन।
के गर्ने होला?
यो लेखको उद्देश्य व्यक्तिलाई गलत भ्रमबाट मुक्त गरी परीक्षणको नाममा अन्धाधुन्धा पैसा बर्बाद गर्नबाट बचाउनुका साथै आफ्नो मनभित्रका विचार र भावनालाई नियालेर बुझ्न उत्प्रेरित गर्नु हो। किनकि, टाउको दुखाइको ९८.५ प्रतिशत कारण मानसिक समस्या वा रोग हो। यदि टाउको दुखाइ ६ महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा छ भने झन्डै शतप्रतिशत नै मानसिक कारण हुन सक्छ।
जीवनको कुनै न कुनै क्षणमा झन्डै शतप्रतिशत व्यक्तिले टाउको दुखाइको अनुभव गरेको हुन्छ। यो एउटा विश्वव्यापी समस्या हो। हामीहरू सुरुसुरुमा त कुनै खास महत्व दिँदैनौं। 'पेन किलर' खाएर टार्छौं। तर जब टाउको निकै साह्रो दुख्छ वा दुखाइ नियमित हुन थाल्छ, यो विकराल समस्याका रूपमा अगाडि आउँछ। अनि हामी 'ट्युमर' नै हो कि भनेर आत्तिन्छौं।
वर्षौं टाउको दुखाइको समस्याबाट पीडित भएका व्यक्ति, उपचार गराएर पनि टाउको दुखाइबाट मुक्ति नपाएर 'सिटिस्क्यान', 'एमआरआई' लगायतका विभिन्न आधुनिक रोग अन्वेषणका रिपोर्टहरूका भारी बोकेर विभिन्न उपचार गृहहरूमा भौतारिरहेका देख्न सकिन्छ।
कसरी दुख्छ टाउको?
धेरै मानिसको भ्रम के छ भने टाउको दुख्नु भनेको गिदी दुख्नु हो। वास्तवमा गिदीमा कुनै संवेदना पुर्याउन सक्ने क्षमता नै छैन। शल्यचिकित्सकहरूको भनाइअनुसार गिदीको शल्यक्रिया गर्दा यसलाई 'एनेस्थेसिया' अर्थात् संवेदनाश गर्नुपर्ने आवश्यकता पर्दैन।
टाउको दुखाइ गिदीभन्दा बाहिर रहेका 'रिसेप्टर' हरूको उत्तेजनाबाट हुने हो। र, मांसपेशीहरू हाम्रो मस्तिष्क तनावयुक्त भएका बेला बढी कसिने गर्छन्। त्यस्तै रिसेप्ट्रहरू टाउकोका अरू विभिन्न भागहरूमा हुन्छन्, जस्तै छाला, आँखा, कान (भित्री, बाहिरी), जोर्नी, दाँत, जिब्रो, साइनस (हाडभित्र हावा भरिने ठाउँ), मेरुदण्डका माथिल्ला हाडहरू आदि। चस-चस घोच्ने, कञ्चटमा चट्किने, टाउको भारी भइरहने, टाउको पोलेको-पोलेकोजस्तो हुने आदि विभिन्न प्रकारले टाउको दुख्ने गर्छ।
दुखाइको तीव्रता
टाउको दुखाइको तीव्रता फरक-फरक प्रकारको हुन्छ। कसैलाई सहन सक्ने गरी भारी हुन्छ। कसैलाई भने यति बेस्सरी दुख्छ कि उसले आफ्नो टाउको दुखाइ शान्त पार्न कपाल लुछ्ने या टाउको कुनै साह्रो वस्तुमा ठोक्काउने पनि गर्न सक्छ।
दुख्ने कारण
माथि भने झैं टाउको दुख्नु एउटा लक्षणमात्र हो। अहिलेसम्म पत्ता लागेका कुनै पनि रोगहरूका कारण टाउको दुख्न सक्छ। त्यसैले सम्पूर्ण कारणहरू उल्लेख गर्न सम्भवै हुँदैन। तसर्थ प्रमुख कारणहरू मात्र यहाँ उल्लेख गरिन्छ।
दुखाइ र मानसिक रोग
रोगहरूको अन्तर्राष्ट्रिय वर्गीकरणको दसौं प्रकाशन 'आईसीडी-टेन' अनुसार नेपाललगायत विभिन्न देशमा दीर्घ रूपमा टाउको दुख्ने व्यक्तिहरूमध्ये, ८२ प्रतिशतलाई टाउकोको मांसपेशीको तनावका कारण टाउको दुखेको पाइएको छ। यसलाई 'टेन्सन हेडेक' पनि भनिन्छ।
त्यस्तै १६ प्रतिशत 'माइग्रेन'बाट पीडित छन्। निकै कम व्यक्तिहरू यी दुईबाहेक अन्य समस्याका कारणले टाउको दुखाइ भोग्छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ। यी दुवै खालका दुखाइ ज्यानका लागि खतरनाक छैनन्। तर, यी दुवै प्रकारका दुखाइ मानसिक कारणको उपज भएकाले 'क्रोनिक' रूप लिँदै जान्छन्।
तनावका कारण दुख्ने टाउको 'टेन्सन हेडेक'का मुख्य दुई कारणहरूमा मानसिक रोगहरूः डिप्रेसन र एनजाइटी अर्थात् आत्तिने रोग हुन्। हाम्रोजस्तो समाज, जहाँ मनको विचार र भावना पोख्ने प्रवृत्ति कम छ। मानिसमा यी नकारात्मक समवेदनाहरू थुप्रदै जान्छन्।
अति भएपछि टाउको मात्र होइन जिउका अरू भाग पनि दुख्न थाल्छन्। पेन किलरजस्ता औषधि खाएर चार÷पाँच घन्टालाई ठीक हुन्छ, तर दुखाइ भने रहिरहन्छ। यदि डिप्रेसन र एनजाइटीलाई नै उपचार गर्यो भने टाउको दुखाइ सदाका लागि हराउँछ।
केही टाउको दुखाइ भने स्थितिजन्य पनि हुन्छन्। जुन मान्छेको मानसिक अवस्था वा व्यक्तित्वसँग सम्बन्धित हुन्छ। कसैको टाउको दुखाइ रिस उठेपछि हुन्छ, कसैलाई पुस्तक, पत्रिका आदि अध्ययन गरेपछि हुन्छ।कसै-कसैले शारीरिक थकाइले गर्दा टाउको दुख्यो भन्छन्। वास्तवमा थकाइ भने डिप्रेसनको कारणले हुन्छ। कोहीलाई घाममा बढी हिँडेमा वा अफिसमा गएका बेला दुखाइ तीव्र हुन्छ।
जे भए पनि झन्डै शतप्रतिशत टाउको दुखाइका कारण मानसिक रोग वा समस्या भएको प्रमाणित भइसकेको छ। डिप्रेसन र एनजाइटीको प्रश्नावलीको प्रयोग गरेर मानसिक रोग विशेषज्ञले करिब आधा घन्टाभित्रै व्यक्तिको मानसिक स्थिति सजिलै पत्ता लगाउन सक्छन्।
स्थितिको ज्ञान भएपछि टाउको दुखाइको सजिलै उपचार गर्न सक्छन्। त्यसैले टाउको दुखाइ या त मानसिक रोगको एउटा लक्षण हुन सक्छ वा स्थितिजन्य हुन सक्छ।
टाउकोका विभिन्न भागहरूमा समस्या र दुखाइ
आँखा, नाक, कान वा अरू भागहरूमा भएको रोगहरूका कारणले पनि कहिलेकाहीँ टाउको दुख्न सक्छ। जस्तैः दृष्टि कमजोर, आँखाका मांसपेशीहरूको कमजोरी, कानको संक्रमण, साइनसको संक्रमण, दाँतको समस्या आदि।
तीव्र सामाजिक र आर्थिक परिवर्तन, आधुनिकीकरण, अत्याधुनिक सञ्चारको पहुँच, अस्वाभाविक ÷ अव्यवस्थित सहरीकरण, असीमित इच्छा र आकांक्षा, अस्वस्थ प्रतिस्पर्धा, अप्राकृतिक जीवनशैली र खानपान आदिका कारण नेपाली समाज पनि अछुतो हुने कुरै भएन। ती कारकहरूको उपजस्वरूप नेपाली समाजमा चाहे नवयुवक÷यौवना किन नहुन या वयस्क या वृद्धवृद्धा किन नहुन्, ती सबैमा तनाव, बेचैनी र टाउको दुखाइ अत्यधिक रूपमा बढ्दै गएको पाइन्छ।
ज्वरो आएका बेला टाउको दुखाइ शारीरिक तापक्रमको कारणले हुन सक्छ। यस्तो बेलामा यी रोगका अरू लक्षणहरू पनि देखा पर्छन्। सम्बन्धित समस्या निराकरण हुनासाथ टाउको दुखाइ पनि निको हुने हुन्छ।
टाउकोमा लागेको चोट र दुखाइ
टाउकोमा लागेको चोटका कारणले गर्दा हुने दुखाइ त सर्वविदितै छ। टाउकोमा चोट लागेपछि यदि घाइते बेहोस भएको छ र बेलाबेलामा बान्ता पनि गरिरहेको छ भने मस्तिष्कको कुनै भागमा रक्तस्राव भएको या सुन्निएको हुन सक्ने बढी सम्भावना हुन्छ। बाहिरी चोट नदेखिए पनि यस्तो अवस्था निकै खतरनाक हुने भएकोले घाइतेलाई तुरुन्त अस्पताल लगिहाल्नुपर्छ।
ट्युमर, संक्रमक रोग र दुखाइ
मस्तिष्कभित्र कुनै कारणले चाप बढेमा टाउको दुख्न सक्छ। मस्तिष्कभित्रको रासायनिक तरल पदार्थको ट्युमर वा संक्रमणले रोकावट ल्याउन सक्छ। यसले तरल पदार्थको मात्रा बढाइदिन्छ र गिदीमा चाप दिन्छ।
यसको कारणले टाउको दुखाइ बिस्तारै बढ्दै जान्छ। तर, यो अवस्थामा अन्य लक्षणहरू पनि हुन्छन्। जस्तैः होस हराउने, बान्ता हुने, प्रायजसो टाउको भारी भइरहने र भारीपन प्रायः बिहान सबेरै बढी हुने हुन्छ।
रासायनिक गडबडी
शरीरमा रासायनिक गडबडी भएर पनि टाउको दुख्न सक्छ। अक्सिजनको कमी, चिनीको कमी आदिका कारण। 'डाइलेइसिस' गरिरहेका बिरामीहरूमा पनि रासायनिक गडबडीले गर्दा टाउको दुख्ने हुन सक्छ। मादक पदार्थमा बानी परेका व्यक्तिले मादक पदार्थ नपाउँदा पनि टाउको दुख्ने हुन्छ।
यस्तो टाउको दुखाइ शरीरमा हुने रासायनिक गडबडीसँग सम्बन्धित छ। रासायनिक गडबडीको पहिचान र निदान नै टाउको दुखाइको उपचार हो। महिनावारी हुनु अगाडिको टाउको दुखाइ चाहिँ 'हार्मोन'को गडबडीसँग सम्बन्धित छ।
उच्च रक्तचाप र दुखाइ
उच्च रक्तचापलाई पनि टाउको दुखाइको एक कारक मानिएको छ। तर उच्च रक्तचाप भएकाहरूमध्ये निकै सानो संख्यालाई मात्र टाउको दुख्ने हुन्छ। अझ विडम्बनाको कुरा के छ भने रक्तचाप बढ्नुको कारण पनि धेरैजसो मानसिक तनाव वा 'स्ट्रेस' नै हो।
उच्च रक्तचाप पनि टाउको दुखाइ झैं एउटा रोग नभई लक्षणमात्र हो। तर, मानिसले यसलाई रोगको संज्ञा दिएर औषधि खाएर पन्छाउन खोज्छन्। किनकि, बेवास्ताका कारणले उनीहरू आफ्नो मनको समस्या र जीवनशैलीमा ध्यान र समय दिन चाहँदैनन्।
उच्च रक्तचापले हुने टाउको दुखाइ पछिल्लो भागमा केन्द्रित हुन्छ। तर, टाउको दुख्न सुरु भएपछि रक्तचाप परीक्षण गराउनेमध्ये कतिको त आत्तिएर रक्तचाप बढेको पनि हुन सक्छ।
उपचार
यो स्पस्ट हुन्छ कि टाउको दुखाइ आफैंमा रोग नभई विभिन्न रोगको लक्षण हो। त्यसैले उपचार पनि सोहीअनुसार गरिनुपर्छ। कुनै रोगको लक्षणको रूपमा उब्जिएको टाउको दुखाइ त्यो रोगको उपचारपछि निको हुने हुन्छ। 'पेन किलर' मात्र खाइरहने हो भने त्यसको नकारात्मक असरको भार वहन गर्नुपर्ने हुन्छ।
हाल नेपालमा टाउको दुखाइको उपचारका लागि केही मनोवैज्ञानिक केन्द्रहरू पनि खोलिएका छन्। यी केन्द्रहरूमा 'रिल्याक्सेसन' का विभिन्न विधिहरूद्वारा उपचार गरिन्छ। त्यस्ता उपचार प्रविधिहरूद्वारा दीर्घकालीन रूपमा पूर्ण सफलता मिल्न सक्छ।
तर, क्षणिक रूपमा दुखेका बेला भने औषधिको पनि जरुरत हुन्छ। टाउको दुखाइ सर्वव्यापी समस्या भए पनि यसमाथि पूर्ण विजय प्राप्त हुन सकेको भने छैन। यसको मुख्य कारण हामीलाई मानसिक स्वास्थ्यबारे ज्ञानको कमी हुनु हो। यो ज्ञानको कमी भएको ठाउँमा पनि उपलब्ध उपचार पद्धति र औषधिद्वारा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ।
उपचारका लागि मनोवैज्ञानिक, मनोशारीरिक परामर्श, विविध निदानात्मक पद्धतिहरू अपनाउँदै बिरामीको विचारमै परिवर्तन गराउनु पर्ने हुन सक्छ। त्यसका लागि मनोचिकित्सक, स्नायु चिकित्सक र मनोवैज्ञानिक परामर्शदाताको संयुक्त प्रयासबाट सबैखाले टाउको दुखाइको निदान र सफल उपचार गर्न सकिन्छ। नर्भिकमा यी सबै उपचारात्मक पद्धतिहरू उपलब्ध छन्।
annapurnapost
