गोलीभन्दा बोली नै ठूलो रहेछः सभामुख घर्ती

भरतपुर (चितवन): दशक लामो सशस्त्र विद्रोह छाडेर शान्ति प्रकृयामा आएको एक दशकपछि सभामुख पदमा पुगेकी एकीकृत नेकपा माओवादी केन्द्रीय नेतृ ओनसरी घर्ती मगरले गोलीभन्दा बोली नै ठूलो भएको बताएकी छिन् ।

नेपाल मगर संघको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार चितवनको भरतपुरमा सम्बोधन गर्दै सभामुख मगरले भनिन्, ‘आजको दुनियाँमा गोलीलाई जित्ने बोली भइसकेको छ ।’


पहिले गोलीमा विश्वास गर्ने दलबाट सभामुख बनेकी मगरले अहिले बोलीलाई शक्तिशाली बताउनुले एकीकृत नेकपा माओवादीले समात्ने आगामी दिशाको संकेत गरेको छ ।

आधा घण्टाभन्दा लामो मन्तव्यका क्रममा सभामुख मगरले नेपालको एकीकरण र रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा मगर समुदायले योगदान पु¥याएको स्मरण गरिन् ।

‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने क्रममा हाम्रा पुर्खाले रगत बगाएका थिए’ उनले भनिन्, ‘हिजोको जनयुद्ध र अन्य आन्दोलनमा पनि हामी मगरले रगत बगाएका छौँ ।’

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको प्रशंसा गरेकी सभामुख मगरले आदिवासीहरु राज्यको मालिक हुनुपर्ने बताइन् ।

संघीयताको वर्तमान सीमांकनप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भनिन्, ‘मगरात आज टुक्रिएको छ, एकै ठाउँमा आउन सकेको छैन ।’

जसरी पनि संविधान जारी गर्नुपर्ने बाध्यताको कारण यस्तो हुन पुगेको बताउँदै उनले मगर संघका माग पूरा गराउन निरन्तर आवाज उठाइरहनु पर्ने सुझाव दिइन् । देशको निर्माण र रक्षाका लागि मगरहरु एक छौँ भन्ने सन्देश महाधिवेशनले दिन सक्नुपर्ने उनको भनाई थियो ।

सभामुख मगरले अधिवेशन उद्घाटन समारोहमा नेपाल मगर संघको मुखपत्र र बमबहादुर घर्ती मगरद्वारा लिखित पुस्तक विमोचन गरिन् ।

संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा चितवन जिल्ला अध्यक्ष सुरवीर थापा मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष पदमबहादुर गुरुङ, मगर अन्तर्राष्ट्रिय मञ्चका संयोजक थर्कबहादुर राना मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महाधिवेशन उद्घाटनअघि भरतपुर उपमहानगरपालिका क्षेत्रमा परम्परागत पोशाकमा सजिएका मगर समुदायले शोभायात्रा निकालेका थिए ।

चितवनको भरतपुरमा शनिबार सुरु भएको मगर संघको महाधिवेशन बुधबार नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । महाधिवेशनको मूल नारा ‘अधिकारसम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा ११ औं राष्ट्रिय महाधिवेशन’ तय गरिएको छ ।

महाधिवेशनमा संघको ६६ जिल्ला, ६ भातृसंस्था र १२ विदेशबाट कूल ३ सय १६ जना प्रतिनिधि र २ सय ५० जना पर्यवेक्षक सहभागी रहेको संघले जनाएको छ ।
annapurnapost

,

news and entertainment