राजेन्द्र महतोको प्रश्न- विदेशीको पैसा राम्रो तर, सुझाव किन नराम्रो ?

भैरहवा, २५ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विदेशी मुलुकले पैसा दिँदा राम्रो तर सरकारलाई सुझाव दिँदा किन नराम्रो लगेको भनेर प्रश्न गरेका छन् ।
नेपालका सहयोगी राष्ट्रहरूले संविधान अपूर्ण रहेको र मधेसीको माग पूरा गर्न सरकारलाई सुझाव दिएपनि सरकारलाई राम्रो नलागेको बताए । ‘विदेशीको पैसा राम्रो छ, सहयोग आवश्यक छ तर, सुझाव दिदाँ सुझाव नराम्रो लाग्यो किन ?’ जिल्लाको धकधईमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रश्न गरे ।
आफ्नै देशका जनता र नेपालाई सहयोग गर्ने विदेशी दाताहरुले समेत मधेस आन्दोलन सम्बोधन गर्न सुझाव दिँदा पनि सुनुवाइ गरेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको नालायकीपन र नश्लवादी सोंचका कारण देशका ३ करोड जनताले दुःख भोगेको र फेरि संकट आउन लागेको बताए ।

मधेस आन्दोलन समाप्त नभएको भन्दै सरकारले आन्दोलनको माग पुरा नगरे वैशाखदेखि हुने निर्णयक आन्दोलनले सरकारलाई बढी भन्दा बढी समस्या र जनतालाई जती सक्दो कम समस्या पर्ने कार्यक्रम ल्याउनेबारे मधेसी मोर्चामा छलफल भइरहेको, उनले भने ।
बिरोध कार्यक्रम राजेन्द्र महतोको प्रमुख आतिथ्य तथा चन्द्रभान तिवारीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमलाई सदभावना पार्टीका उपाध्यक्ष ओमप्रकाश गुलजारी, केन्द्रीय सदस्य राजेन्द्र गुप्त, केन्द्रीय सदस्य मनमोहन चौधरी लगायत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका क्षेत्रीय नेताहरूले पनि सम्बोधन गरेका थिए ।
dainiknepal

,

news and entertainment