ओलीलाई ठाकुरको ठाडो चुनौति- सक्छौं भने बिखण्डनकारीलाई तह लगाउ, नत्र कुर्सी छोड
काठमाडौं, २५ चैत । विखण्डनको नारासहित तराईमा ‘स्वतन्त्र मधेस’को अभियान चलाइरहेका सीके राउतलाई कारवाही गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठाडो चुनौति आएको छ ।
हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकाश कुमार ठाकुरले प्रेस वक्तव्यमार्फत विखण्डनकारीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
सरकारको रवैयाका कारण विखण्डनकारीले स्पेश पाएको भन्दै उनले भनेका छन्- ‘बिखण्डनकारीलाई तत्काल कारवाहीको दायरामा ल्याऊ, सक्दैनौ भने कुर्सी छोड ।’
सरकारकै नलायकीपनको कारण बिखण्डनकारीले बढावा पाएको छ । हामी सबैले बुझेका छौ । सीके राउत जस्ता पाखण्डीहरुलाई छाडा छोडेर नेपालको गरिमालाई किन माटोमा मिलाईरहेका छौ, जवाफ देउ सरकार ।
बिखण्डनकारीलाई जेल हालेर हुन्छ कि, देश निकाला गरेर हुन्छ, जे गर्नुपर्छ गर, तर तह लगाऊ । सच्चा मधेसी पनि बिखण्डनको पक्षमा छैन तर केही नालायकहरु लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको नाममा जनताको भावनासंग खेलवाड गर्दैछन् । बिखण्डनकारीको मुख बन्द गर्न तत्काल संविधानमा कडा भन्दा कडा सजायको ब्यबस्था गर । मधेशी जनताको जायज मागलाई सम्बोधन गरेर देशलाई निकास देऊ । देशलाई स्थिर बनाउ । एकीकृत र समृद्ध नेपाल हाम्रो चाहना हो । हामीलाई काम गर्ने मौका देउ । नभए ईतिहासले सराप्ने छ, तिमीहरुलाई ।
सक्छौ भने, नेपालको लोगो हरेक नेपालीलाई लगाउने उर्दी जारी गर । सक्छौ भने, हरेक नेपालीको हाथमा नेपालको झण्डा बोकाउने प्रयास गर, हरेक नेपालीलाई नेपाली हुनुमा गर्वको अनुभुति गराउ ।
खोक्रो राष्ट्रवाद त्यागेर, सच्चा राष्ट्रवादी हरेक नेपालीलाई बनाएर देखाउ ।
नेपाल आमाको जय ।
-dainiknepal
