अब राजनीतिमा आउँछुः राजेश हमाल
पूर्ण अन्तर्वार्ताको
सिनेमाका सयौं काल्पनिक पात्रमार्फत विभिन्न वर्ग र श्रेणीका जनताको दुःख देखेका र त्यो जीवन बाँचेका नेपाली सिने जगतका महानायक राजेश हमाल वास्तविक जीवनमा पनि जनताको दुःख र मर्का बुझ्न चाहन्छन्।
आफ्नो जीवनकालको झन्डै आधा भन्दा बढी समय ‘रिल लाईफ’ मार्फत जनताका समस्या सुल्झाएका अभिनेता हमालको इच्छा ‘रियल लाइफ’ मा पनि जनताको सेवक बन्ने छ- उनी सक्रिय राजनीतिमा आउन चाहन्छन्।
सेतोपाटीका लागि बाल जोशीले गरेको अन्तरसम्बाद मा हमालले भने, ‘नेपाली समुदायमा अत्यन्त असमानता छ, एउटा राम्रो व्यवस्था र राजनीति देशमा हुन जरूरी छ।’
सिनेमाका विभिन्न कथा र पात्रहरु मार्फत नेपाली जनजीवनलाई नजिकबाट बुझ्ने मौका पाएका अभिनेता हमालले आफूलाई नेपाली जनताका पिर र मर्कालाई नजिकबाट बुझेको बताउँदै जनताको वर्तमान अवस्थाले आफूमा प्रभाव छोडेको र परिवर्तनका लागि आफूमा भावना जगाएको बताए।
कार्यक्रममा अभिनेता हमालले माओवादी जनयुद्वका विषयमा समेत खुलेर आफ्नो धारणा प्रस्तुत गरेका छन्। समाज परिवर्तनका निम्ति हजारौँ नेपालीको बलिदान आवश्यक थियो त? भन्ने प्रश्नको उत्तरमा हमालले " जनताको चाहना अनुसार यदि परिवर्तन भएको भए सायद त्यो बलिदान सार्थक हुने थियो तर आज परिणाम हाम्रा अगाडि नै छ,’ उनले भने।
अपेक्षा अनुसारको परिणाम मुलुकले नपाएकोमा दुःख व्यक्त गर्दै हमालले नेपालमा राजनीतिक आन्दोलन आवश्यक रहेको स्वीकारे-‘सात पुस्ता अघि देखि गरिबीको भुमरीमा रहेका जनतालाई त्यो भुमरीबाट मुक्ति मिल्थ्यो भने क्रान्ति नाजायज थिएन, तर आज आएर हाम्रा अगाडि देखिएको परिणाम हेर्दा दुःख लाग्छ’, उनले अगाडि थपे।
नायकहरूका पनि नायक भनेर चिनिने महानायक राजेश हमालले सेतोपाटी सँगको झन्डै ४० मिनेट लामो अन्तर्वार्ताका क्रममा राजनीतिका विषयमा मात्र चर्चा गरेनन् - उनले जीवन- जगत, प्रेम, सम्बन्ध तथा राष्ट्र प्रेमका बारेमा गहिरा अनि तार्किक कुराहरू गरे।
setopati