सित्तै पढाउने गुरु

, काठमाडौं यस्तो पो सेवा : नि:शुल्क पढाइरहेका दाङ तुलसीपुरका लेखा शिक्षक वीरेन्द्र महरा ।

 वैशाख १८, २०७३- मानिसहरू कामको उचित पारिश्रमिक पाइएन भनेर गुनासो गरिरहेको सुनिन्छ तर तुलसीपुर–६ मदननगरका लेखा शिक्षक वीरेन्द्र महरा भने पारिश्रमिक नै नलिई पढाउँछन् । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा साउनदेखि नि:शुल्क शिक्षण गरिरहेका महराले घोषणा गरेका छन्, ‘जीवनभर नै नि:शुल्क पढाउँछु ।’ उनको यो उदाहरणीय सेवालाई सबैले प्रशंसा गरेका छन् ।  महराले बीबीएस तेस्रो वर्षमा नियमित कक्षा साथै एकाउन्ट, अडिट र ट्याक्सको नयाँ पाठ्यक्रम तयार पारी नि:शुल्क कक्षा लिइरहेका छन् । बीबीएसका सबै विद्यार्थीलाई उपयोगी हुने गरी उनले कोर्स डिजाइन गरेका छन् । २०५६ देखि क्याम्पसमा पढाउँदै आएका महराले सामुदायिक क्याम्पसलाई केही योगदान गरौं भन्ने सोचका साथ नि:शुल्क शिक्षण गरेको बताए । उनले डिजाइन गरेको कोर्समा व्यावहारिक पक्षलाई जोड दिइएको छ । उनी व्यावसायिक अडिटर भएकाले व्यावहारिक कुरालाई पाठ्यक्रममा समावेश गरेका छन् । ‘सैद्धान्तिक कोर्स मात्र पढेर विद्यार्थीलाई बजारमा बिक्न गाह्रो भयो । व्यावहारिक पक्ष कमजोर भयो,’ उनले भने, ‘मैले लामो अनुभवका आधारमा व्यवहारमा काम लाग्ने कुरा पढाइरहेको छु ।’ यसबाट बजारलाई चाहिएको दक्ष जनशक्ति उत्पादन हुने र विद्यार्थीले पनि रोजगार पाउन सजिलो हुने महराको भनाइ छ । गत वर्ष असारमा क्याम्पसको साधारणसभामा नि:शुल्क अध्यापनको प्रस्ताव पेस गरेका महराले क्याम्पसले अनुमति दिएपछि तलब नलिएर पढाउन थालेका हुन् । मानिस जन्मेपछि केही न केही उदाहरणीय काम गर्नुपर्छ भन्ने सोचाइका साथ नि:शुल्क शिक्षण गरेको उनले बताए । ‘सानैदेखिको मेरो रुचि पूरा भएको छ । समाज हितका लागि तिमी जे सक्छौ त्यही गर भन्ने घाँसीको भनाइलाई प्रेरणाका रूपमा लिएर नि:शुल्क शिक्षण सुरु गरेको हुँ,’ उनले भने ‘पैंसा नै सबथोक होइन । मानिसको इच्छाशक्ति नै ठूलो हो । म सम्पन्न भएर नि:शुल्क पढाएको पनि  होइन । समाजमा केही योगदान गरौं भन्ने भावनाले हो ।’ उनले आमा निमाकुमारी र छोरी अस्मिताको स्मृतिमा क्याम्पसमा एक लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेका छन् । जसबाट प्रत्येक वर्ष बीबीएस प्रथम वर्षमा उत्कृष्ट हुने छात्रालाई पुरस्कृत गरिने क्याम्पसले जनाएको छ । कोष वृद्धि गर्दै जाने योजना रहेको महराले बताए । आमा निमाकुमारीको मुटु रोगका कारण र १० वर्षीया छोरीको टाउकोसम्बन्धी समस्याका कारण मृत्यु भएको थियो । नि:शुल्क शिक्षणबाट महराले उदाहरणीय काम गरेको क्याम्पस प्रमुख लक्ष्मण रेग्मीले बताए । महराको समाजसेवाको भवनालाई क्याम्पसले उच्च सम्मान गरेको छ । ‘उहाँको समाजसेवी भावनाले सबैलाई नयाँ शिक्षा दिएको छ । उहाँले तयार पारेको व्यावहारिक पाठ्यक्रम पढाउन वर्षमा ३ लाख बढी खर्च लाग्छ,’ रेग्मीले भने, ‘तर यस्तो महँगो कोर्स विद्यार्थीले नि:शुल्क पढ्न पाएका छन् । यो कोर्स पढेर विद्यार्थीलाई बजारमा काम पाउन पनि सजिलो भएको छ ।’ महराले विकास गरेको पाठ्यक्रमले सैद्धान्तिक कुरालाई व्यवहारमा लागू गर्न सजिलो भएको बीबीएस तेस्रो वर्षकी प्रमिला शर्माले बताइन् । नि:शुल्क रूपमा व्यावहारिक पाठ्यक्रम पढाएपछि विद्यार्थीहरूमा उत्साह छाएको उनले बताइन् । ‘अन्य पाठ्यक्रममा सैद्धान्तिक कुराहरू पढिन्छ जुन व्यवहारमा लागू गर्दा सबै कुरा शून्यबाट सिक्नुपर्छ,’ उनले भनिन्, ‘हामीले पढिरहेको विषयमा अडिट कसरी गर्ने, बजारमा कसरी डिल गर्ने ? लेखा प्रणाली कसरी राख्ने भन्ने व्यावहारिक अभ्यास गर्छौं ।’ शुल्क नतिरेर पढ्न पाउँदा विद्यार्थीलाई धेरै राहत भएको उनले बताइन् । महराले नि:शुल्क पढाउन थालेपछि सामुदायिक क्याम्पसलाई स्थानीय तहबाट सक्दो योगदान गर्नुपर्ने भावनाको विकास भएको उनले बताइन् । २०२७ वैशाख २५ गते रोल्पाको सखी–१ होलेरीमा जन्मिएका महराले सरस्वती प्रावि सखीमा प्रावि र महेन्द्र मावि होलेरीमा निमावि तहको अध्ययन गरेका थिए । २०५१ सालमा सपरिवार दाङ झरेपछि घोराहीको पद्मोदय पब्लिक नमुना उच्च माविबाट मावि, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट आईकम, महेन्द्र बहुमुखी क्याम्पस घोराहीबाट बिकम र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट २०५४ मा एमबीए गरे ।  बबई क्याम्पसमा सात वर्ष आंशिक शिक्षकका रूपमा काम गरी स्थायी नियुक्ति पाएका महराले क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । उनले पाठ्यक्रममा आधारित एक प्लस टु र एक स्नातक तहका लागि लेखासम्बन्धी पुस्तक पनि प्रकाशन गरेका छन् । उनले तुलसीपुरस्थित लिटिल हेभन स्कुलको प्रिन्सिपल र यूएनडीपीको लेखा अधिकृत भएर पनि काम गरिसकेका छन् । लेखा फर्मसमेत सञ्चालन गर्दै आएका महरा प्राध्यापनमा झैं उत्कृष्ट लेखा परिक्षकका रूपमा पनि परिचित छन् । आन्तरिक राजस्व कार्यालय राप्तीले  यस वर्ष महरालाई राप्ती क्षेत्रकै उत्कृष्ट करदाताका रूपमा सम्मान समेत गरेको छ । कम्तीमा पनि कमाइको १० प्रतिशत सामाजिक काममा लगानी गर्ने सोच रहेको उनले बताए ।  राप्ती अञ्चल अस्पताल, मठ मन्दिर, सभाहल निर्माणलगायतका काममा पनि उनले आर्थिक सहयोग गरेका छन् । पैसा कमाउन देश विदेश जहाँ पुगे पनि कमाइको केही प्रतिशत समाजका लागि योगदान गर्न सकिने उनको धारणा छ । ‘धेरै युवाहरू वैदेशिक रोजगारमा दौडिरहेका छन् । विदेशको कमाइलाई पनि समाजका लागि लगानी गर्न सकिन्छ,’ उनले भने, ‘सकभर त स्वदेशमै स्वरोजगारको बाटो खोज्नु राम्रो हो । यहाँ पनि धेरै सम्भावनाहरू छन् ।’  घर परिवारले कहिलेकाहीं किन खर्च गरेको होला भनेर गुनासो गरे पनि उनले बिस्तारै बुझाउँदै गएका छन् । ‘सुरुमा किन पैसा खर्च गरेको होला भन्ने कुरा आउँथ्यो तर मैले समाजसेवाको महत्त्व बुझाउँदै गएको छु,’ उनले भने, ‘सामाजिक काम गर्दा केही कठिनाइ त हुन्छ । घरपरिवार र समाजलाई बुझाउनुपर्छ ।’ होलेरीमा ६ कक्षा पढ्दा एउटा गरिब साथीको बुवाको मृत्यु भएपछि शिक्षकले आधा र साथीहरूले आधा रकम उठाएर सहयोग गरेदेखि सामाजिक भावनाको विकास भएको उनले बताए । ‘दु:ख परेकोलाई सहयोग गर्नुपर्छ भन्ने भावना सानैदेखि विकास भएको थियो । कमाइ नहुँदा चाहेर पनि केही गर्न सकिएन,’ उनले भने, ‘आम्दानीको स्रोत भएपछि मैले सानैदेखिको सपना पूरा गर्न पाएँ ।’ उनका दुई दिदी र एक बहिनी छन् । उनका दुई भाइमध्ये कान्छो चन्द्रप्रकाशको २०६० सालमा मृगौला फेल भएर मृत्यु भयो । त्यसपछि भाइका एक छोरा र एक छोरीलाई महराले नै पढाइ रहेका खर्च व्यहोरिरहेका छन् । माइलो भाइ तिलक वैदेशिक रोजगारमा जाने आउने गर्छन् । अहिले महराको साथमा ७३ वर्षका बुवा शोभाराम छन् ।  ‘समाज हितका लागि तिमी जे सक्छौ त्यही गर भन्ने घाँसीको भनाइलाई प्रेरणाका रूपमा लिएर नि:शुल्क शिक्षण सुरु गरेको हुँ – वीरेन्द्र महरा
ekantipur

,

news and entertainment