भारत–नेपाल पेट्रोल पाइपलाइन निर्माण अघि बढाइने
काठमाडौँ, २० वैशाख, भारत र नेपाल सरकारबीच सम्झौता भएर पनि काम अघि नबढेको रक्सौल अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माण सुरु हुने भएको छ । भारतीय पक्षले तत्परता देखाएपछि नेपाल आयल निगम उक्त परियोजना कार्यान्वयनमा ल्याउन उत्साहित भएको हो । गत भदौँमा दुई देशबीच सम्झौता भए पनि मधेस आन्दोलनको बहानामा भारतले इन्धन आपूर्ति रोकेपछि उक्त परियोजना अन्योलमा परेको थियो । यसैसाता आइओसी र एनओसीका अधिकारीबीच भारतमा भएको वार्तापछि उनीहरुले काम अघि बढाउन अग्रसरता देखाएका छन् ।
उक्त वार्ता इन्धन आयात बढाउने विषयमा केन्द्रित रहे पनि आइओसीका प्रतिनिधिले नै पाइपलाइनको विषयलाई एजेन्डाको रुपमा राखेका थिए । पाइपलाइनको सबै प्रक्रिया अघि बढाउन उनीहरुले आग्रह गरेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । 'पाइपलाइन निर्माण परियाजना छिटो अघि बढाउन उनीहरु निक्कै उत्सुक छन्,' प्रवक्ता घिमिरेले भने, 'विगतमा इन्धन आपूर्ति रोकेकोले केही समस्या आएको थियो । अब हामी पनि पाइपलाइन निर्माणमा अघि बढेका छौँ' आजको नागरिकले समाचार लेखेको छ ।