एक सय मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने



Solar-Energy२६ वैशाख, काठमाडौ । सौर्य ऊर्जा उत्पादनलाई सरकारले प्राथमिकतामा राखेर काम अगाडि बढाएपछि प्रर्वद्धकले करिब एक सय मेगावाट बराबरको अनुपतिपत्र विद्युत विकास विभागबाट लिएका छन् ।
विभागका अनुसार ठूलो क्षमताका आयोजनाका रुपमा पिपल्स डेभलपमेन्ट एन्ड पावर टेक कम्पनी र नेपाल ह्वाइट हाउस पावर लिमिटेडले सो अनुमतिपत्र लिएका छन् । विभागबाट ती दुई प्रबद्र्धकले क्रमशः ४९ र ५० मेगावाट क्षमतामा अनुमतिपत्र लिएका छन् । विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेपछि प्रर्वद्धकमा उत्साहको सञ्चार पैदा भएको छ ।
कम्पनीले तनहुँ जिल्लाको मानुङडाँडामा सोलार प्लान्ट राख्ने भएको छ । व्यास नगरपालिकामा अवस्थित मानुङडाँडामा तत्कालका लागि २० मेगावाट सौर्य ऊर्जा उत्पादन गरिने र सो ऊर्जालाई दमौलीस्थित नेपाल विद्युत् प्राधिकरणको सव स्टेसनमा जोडिने छ । उत्पादित ऊर्जाको खरिदको विषयमा प्रर्वद्धक र प्राधिकरणबीच छलफल भइरहेको कम्पनीका अध्यक्ष तुल्सीदास महर्जनले जानकारी दिए ।
युरोपेली लगानीकर्ताका लगानीमा उत्पादन गरिने सो आयोजनाले २०६८ चैत ६ गते अनुमतिपत्र लिएको थियो । प्राधिकरणले प्रसारण लाइनका अभावमा पूराका पूरा ५० मेगावाट नै खरिद गर्न नसक्ने जनाएपछि आफूहरूले तत्कालका लागि २० मेगावाट मात्रै उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष मर्हजनले जानकारी लिए ।
जलविद्युत्भन्दा सौर्य ऊर्जाको उत्पादन खर्चिलो मानिन्छ । जलविद्युत् आयोजना निर्माण गर्दा प्रतिमेगावाट रु १५ देखि १८ करोडसम्म खर्च लाग्ने बताइन्छ । यसको तुलनामा सौर्य ऊर्जाको लागत ४० प्रतिशतभन्दा बढी लाग्ने र खर्चिलो हुने भएकाले वैदेशिक लगानीकर्ता खोलिएको अध्यक्ष महर्जनको भनाइ छ ।
यसैगरी गत वर्ष पुस ४ गते विद्युत् विकास विभागबाट अनुमतिपत्र लिएको नेपाल ह्वाइट पावरले पनि प्रारम्भिक काम गरिरहेको सूचना प्राप्त भएको विभागका सूचना अधिकृत पन्थले जानकारी दिए ।
यसअघि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को सहयोगमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुरको सुन्दरीघाटमा ०.६८० किलोवाट सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । सो ऊर्जा खानेपानी लिमिटेडले पानी तान्नका लागि प्रयोग गरिरहेको छ । सोबाहेक बढी भएको ऊर्जा प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ । सौर्य ऊर्जामा लगानी जलविद्युत् आयोजनाभन्दा बढी खर्चिलो भए पनि पछिल्ला दिनमा विभागले यसलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका कारण प्रर्वद्धकमा उत्साह पैदा भएको सूचना अधिकृत पन्थको भनाइ छ ।
कम्पनीले आगामी आवदेखि काम सुरु गर्ने बताएको छ । “हामीले तत्कालका लागि ५० मेगावाटबाट घटाएर २० मेगावाट मात्रै उत्पादन गर्न पाऊँ भनी विभागमा निवेदन दिएका छौँ तर हामी पूर्ण रुपमा ५० मेगावाट नै उत्पादन गर्छौँ”,कम्पनीका अध्यक्ष महर्जनको भनाइ छ ।
विभागका सूचना अधिकृत पन्थ भन्नुहुन्छ, “पिपल्स डेभलपमेन्ट एन्ड पावर टेक कम्पनीले अहिलेसम्म गरेको कामको प्रगति विवरण विभागमा पेस गरेको छ, उसले २०६८ चैत ६ गते ५० मेगावाटको अनुमतिपत्र लिए पनि प्राधिकरणसँग भएको छलफलपछि २० मेगावाट मात्रै तत्काल उत्पादन गर्ने र बाँकी चरणगत रुपमा उत्पादन गर्न पाऊँ भनी निवेदन दिएको छ, हामीले सोहीअनुसार नै प्रक्रिया अगाडि बढाइराखेका छौ ।”

news and entertainment