अमेरिकाको राजधानी वाशिंगटन डि० सि० मा एसियाभरीका मुलुकहरूले भाग लिएको एसियन हेरिटेज फेस्टिभलमा नेपालले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।
कार्यक्रमको शुरूमा भएको सबै राष्ट्रहरूको र्यालीमा सबैभन्दा राम्रो र आकर्षक तरिकाले नेपालीहरू प्रस्तुत भएकाले नेपाल प्रथम भएको हो । र्यालीमा नेवारी भेष–भुषामा सजिएर काठमाडौँ उपत्यकाको नेवारी 'धिमे बाजा' बजाउँदै राजधानी वाशिंगटन डि० सि० थर्काउँदै बिदेशीहरूलाई मनोरंजन दिलाएको 'नेपा पासा: पूच अमेरिकये' प्रथम भएको नेपाली दूतावास, वाशिंगटन डि० सि० का फस्ट सेक्रेटरी लेखनाथ गौतमले बताउनुभयो ।
अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा० शंकर प्रसाद शर्माको सक्रियतामा नेपाली दुतावासले भाग लिएको उक्त फेस्टिबलमा नेपाल प्रथम हुन पुगेको हो । र्यालीमा पासास् पूचस् को ब्यानरमा अध्यक्ष लक्ष्मन प्रधान सहितका कार्यकर्ताहरू नेवास् अर्गनाइजेसन अफ अमेरिकाको ब्यानरमा अध्यक्ष सिजन श्रेष्ठ सहितका कार्यकर्ताहरू, दुतावासको ब्यानरमा नेपाली राजदुत डा० शंकर शर्माको साथमा अन्य डिप्लोम्याट्स अर्जुनकान्त मैनाली, लेखनाथ गौतम, जित बहादुर कार्की, हाकिम भण्डारी, कर्नेल जसवन्त सम्शेर ज० ब० रा० सहित दुतावासका कर्मचारीहरू र अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटीको ब्यानरमा पूर्व अध्यक्ष खेम भट्टचन र वर्तमान अध्यक्ष डा० ठाकुर पुडासैनीको साथमा हार्बार्ड बिश्वोबिद्यालय पि० एच० डि० डा० बिबेक पाण्डे हुनुहुन्थ्यो ।
यसैगरी ए० एन० एस० का महा–सचिब श्याम लिम्बु र सचिब मुकुन्द दाहाल, महिला संगठन (एन्वा) की अध्यक्ष बिष्णु कुमारी थापा, नेपाली नर्स एसोसियसनकी अध्यक्ष मंजु संग्रौला, डा० महेश्वोर बैद्य, नासोका अध्यक्ष दिपक बिश्वोकर्मा, साँस्कृतिक संयोजक अनुपमा प्रसाईको साथमा थुप्रै कलाकारहरू लगायत करिब २०० जना जती नेपालीहरू र्यालीमा सहभागी थिए ।
दिनभर चलेको अन्तराष्ट्रिय स्तरको साँस्कृतिक कार्यक्रममा विभिन्न राष्ट्रहरूको साथमा नेपालको पालो आउँदा नेपाली कलाकारहरूले प्रस्तुत गरेको साँस्कृतिक नृत्यमा म्याग्दी जिल्लाको चिमखोला गाउँको थाल नाचलाई बिदेशीहरूले खुब रुचाएको देखिन्थ्यो ।
नेपाली दुतावासको स्टलमा पर्यटन बोर्डले पठाएको टुरिस्जम प्रमोसनका सामग्रीहरू र नेपाली हस्तकलामा सामानहरू बिदेशीहरूले रुचिपुर्बक लिएको देखिन्थ्यो । एसियाभरीकै खाना भएको फेस्टिबलमा 'घर एक कबाब' नेपाली रेस्टुरेन्टले बिदेशीहरूलाई नेपाली खाना चखाई रहेकोदेखिन्थ्यो ।
नेपाली दौरा, सुरबाल ढाका टोपीमा सजिएका नेपाली पुरुषहरू र साडी, चोलोमा सजिएका महिलाहरू जस्तै सम्पूर्ण राष्ट्रहरूका नागरिकहरू आ-आफ्ना राष्ट्रिय पोशाकमा उपस्थित भएको उक्त भब्य अन्तराष्ट्रिय स्तरको मेलामा करिब पचास हजार बिदेशीहरू उपस्थित थिए ।
नेपाली राजदुत डा० शंकर शर्माको सक्रियतामा अमेरिकाको राजधानी वाशिंगटन डि० सी० मा नेपालको राम्रो प्रोमोसन भयो ।
अमेरिकाको "एसियन फेस्टिभल"मा नेपाल प्रथम
news and entertainment
