चर्चित फुटबलर डेभिड बेकह्यामले सन्यास लिने


david-beckham३ जेठ, काठमाडौ । विश्व फुटवलमा आफ्नो छुट्टै पहिचान बनाउन सफल इङ्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्यामले अन्तराष्ट्रिय तथा क्लब फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । 
३८ वर्षीय बेकह्यामको यसै सिजनको अन्त्यसँगै फुटबल खेलको यात्रा पनि टुङ्गिने भएको हो । बेकह्यामले आफ्नो खेल जीवनमा म्यानचेष्टर युनाइटेड, रियल म्याड्रिड, एसी मिलान तथा लस एन्जेल्स ग्यालेक्सीबाट आफ्नो उत्कृष्ट खेल कला देखाएका थिए । 
बेकह्याम अन्तिम समयमा अहिले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग आबद्द छन् । उनले उक्त टोलीलाई यो सिजनको उपाधी समेत जिताउने पक्का भइसकेको छ । उनलाई लाग्छ यो नै सन्यास लिने उपयुक्त समय हो । उनी भन्छन्, 'मैले सन्यास लिने उपयुक्त समय अहिले नै हो । '
उनले भनेका छन्, 'मलाई निकै गाह्रो भइरहेको छ । मलाई लाग्छ अझै पनि म खेल्न सक्छु । तरपनि म अहिले सन्यास लिने पक्षमा छु ।' 
उनले आफूले आफ्नो प्रशंसकबाट सँधै जोडेर राख्ने फुटबलबाट सन्यास लिनुपर्दा निकै दु:ख लागेको समेत बताएका छन् । 
बेकह्यामले आफ्नो देश इङ्ग्ल्याण्डका लागि १ सय १५ खेल खेलेका छन् भने इङ्ग्लिस क्लब म्यानचेष्टर युनाइटेडका लागि ३ सय ९४ खेल खेलेका थिए । यसक्रममा युनाइटेडले ६ पटक प्रमियर लिग र एक पटक च्याम्पियन्स लिग जितेको थियो । पेरिस सेन्ट जर्मेनले यो सिजनमा जितेको लिग १ को उपाधीपछी बेकह्याम रहेर खेलिएका क्बलहरूले उपाधी जितेको संख्या १९ पुगेको छ ।
म्यानचेष्टर युनाइटेडमा मुख्य खेलाडिको रूपमा रहेका उनी २००३ मा रियल म्याड्रिड गएका थिए । त्यसपछि उनी एलए ग्यालेक्सी गए र त्यहाँ रहँदा पनि उनले लिग उपाधी जिताउन सफल भएका थिए ।

news and entertainment