आईपीएल-६ को उपाधि मुम्बईलाई

कोलकाता (एजेन्सी), जेष्ठ १३ - मुम्बई इन्डियन्स आईपीएल-६ को आइतबार नयाँ विजेता बनेको छ । कोलकातामा भएको फाइनलमा उसले चेन्नाई सुपरकिङ्सलाई २३ रनले हरायो ।
मुम्बईले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको चेन्नाईको सुरुआत खराब रह्यो । उसले ५८ रन जोड्दा ८ विकेट गुमाएपछि दबाबमा परेको थियो । कप्तान महेन्द्र सिंह धोनीले नटआउट ६३ रन बनाए पनि टिमलाई चौ
थोपल्ट च्याम्पियन बनाउन सकेनन् । चेन्नाईले नौ विकेट क्षतिमा १ सय २५ रनमात्र बनायो ।
पहिलो क्वालिफायरको हारको बदला लिएको मुम्बईले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा १ सय ४८ रन बनायो । उसका लागि किरोन पोलार्डले नटआउट ६० रन बनाए भने अवान्ती रायडुले ३७ रनको योगदान गरेका थिए । उनीहरूले पाँचौं विकेटका लागि ४८ रनको साझेदारी गर्दै टिमको स्कोर सय कटाएका थिए । त्यस्तै, दिनेश कार्तिकले पनि २१ रन बनाए । चेन्नाईका ड्वान ब्राभोले ४२ रन खर्चंदै ४ विकेट लिए ।
मुम्बईले १० करोड तथा चेन्नाईले ७ करोड ५० लाख भारतीय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा कुल ७ सय ३३ रन बनाएका चेन्नाईका माइक हसीले ओरेन्ज क्याप पाए भने कुल ३२ विकेट लिएका ड्वान ब्राभोले पर्पल क्याप जिते । रोयल च्यालेन्जर्स बैंग्लोरका क्रिस गायलले सर्वाधिक ५१ छक्का प्रहार गरे ।

news and entertainment