चन्दा माग्दै विद्यार्थी नेताको यस्तो धम्कि

काठमाडौं, जेष्ठ १२ - केही दिनअघि महाराजगन्जको मेरिडियन स्कुलका एकजना सञ्चालकलाई अखिल क्रान्तिकारीका विद्यार्थी नेता बताउने व्यक्तिले फोन गरेर स्ववियु निर्वाचनका लागि आर्थिक सहयोग मागे । आफूले पत्र छाडेको र झन्डै लाख रुपैयाँ 'सहयोग' गर्नुपर्ने बताएपछि सञ्चालक हच्किँदै त्यति ठूलो रकम सहयोग असम्भव रहेको बताए । फोन गर्नेले धम्की दिँदै भने, 'स्कुल बस, डेस्क बेञ्च र घरको त बिमा गर्नुभएको होला, पीर भएन, तपाईंको टाउको बिमा गरेको छैन होला नि ?'
त्यही फोनले उनी अहिले तनावमा छन् ।
ललितपुर कुमारीपाटीको क्यास्पियन भ्याली कलेजमा शुक्रबार मध्याह्नसम्म सञ्चालक राजेन्द्र बरालको टेबुलमा विद्यार्थी संगठनले चन्दा मागेका सातवटा चिठी थिए । 'चिठीमा अनुरोधको भाषा लेखे पनि चन्दा माग्ने शैली जबर्जस्ती छ,' सञ्चालक बरालले कान्तिपुरसित भने, 'केन्द्रीय नेतासित कुरा गरेर कलेजको अवस्थाअनुसार स्वैच्छिक चन्दा दिने योजनामा छौं । आएजति सबैलाई चन्दा दिन सम्भव छैन/दिइँदैन ।' क्यास्पियनमा चन्दाका लागि केही दिनअघि क्रान्तिकारीकै नाममा धम्की आएको थियो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा जेठ २३ गते हुन लागेको स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठनले चन्दा संकलनमा सबै शक्ति परिचालन गरिरहेका छन् । अलि दिन सक्ने व्यक्तिहरूमा चन्दाको हैरानीमात्रै छैन आतंक नै छ । त्यसको सबैभन्दा बढी मारमा निजी शिक्षण संस्था, उद्योग/उद्योगी र क्याम्पस छेउका पसले छन् । चन्दा माग्न एमाओवादीको अखिल क्रान्तिकारी, एमालेको अनेरास्ववियु, कांग्रेसको नेविसंघ, वैद्य माओवादीको अखिल -क्रान्तिकारी) अगाडि छन् । नामै नसुनेका विद्यार्थी संगठन पनि चन्दाको चिठी काटिरहेका छन् ।
निजी शिक्षण संस्था हेरेर विद्यार्थी संगठनले ६ हजारदेखि ५० हजार रुपैयाँसम्म मागेको पीडितहरू बताउँछन् । नाम चलेका केही ठूला विद्यालयले ५० हजार रुपैयाँसम्म चन्दा दिने आश्वासन दिएका छन् । प्याब्सनका एकजना पदाधिकारीका अनुसार ठूला विद्यालयले धेरै चन्दा दिँदा त्यसको मार सानालाई परेको छ । चन्दा आतंक बढेको बताए पनि त्यसबारे खुलेर बताउन चाहने कमै छन् । ताहाचल क्याम्पस क्षेत्रमा स्टेसनरी सञ्चालन गर्दै आएका एक व्यापारीका अनुसार हरेक संगठनबाट कम्तीमा ५ हजार रुपैयाँ चन्दा माग्दै आएका छन् । दिन नसक्ने बताउँदा 'परेका बेला नसघाउने भए चलाउन मन छैन ?' भन्दै धम्क्याउने गरेको उनले सुनाए ।

news and entertainment