विज्ञानको युगमा भूतप्रेत-अदृश्य आक्रमणले सिंगो गाउँ त्रसित


महेन्द्रनगर (सुनसरी), जेष्ठ ९ - विज्ञानको युगमा भूतप्रेतमाथि हम्मेसी विश्वास गरिँदैन । तर सुनसरीको महेन्द्रनगर-४ बाङ्गेका एक हजार घरपरिवार सातायता 'प्रेतको भय' ले खानु न पिउनुको अवस्थामा पुगेका छन् ।
उनीहरू हरेक साँझ आफ्नो घर छाडेर छिमेकीको घरमा हजारौंको संख्यामा भेला भएर रात काट्छन् । समूहमै बस्दा पनि 'अदृश्य शक्ति' ले उनीहरूलाई झम्टिहाल्छ । अनि रातभरि भागदौड मच्चिन्छ ।
आइतबार साँझ ७:३० बजे ५८ वर्षीय छत्रबहादुर रायमाझी ढोकामा आग्लो लगाएर झुल टाँगेको बिछ्यौनामा गएर पल्टिए । अचानक चार सुरमा बाँधिएको उनको झुल चुँडाएर अदृश्य शक्तिले ढोका छेउमा फालिदियो । उनले टर्च बालेर सबैतिर हेरे केही देखेनन् ।
बिरालोले होला भन्दै एक्लै फतफताउँदै फेरि ढल्किए । उनको सिरानी तानेर भुइँमा फ्याँकिदियो । त्यसपछि उनका दुवै हातमा कलिला हातजस्ता देखिने दुवै हातले बेस्कन अँठ्याए, हात उनको मुखमा कोचिदिए । उनले बल्लबल्ल मुखमा कोचिएको हात निकाले । त्यसपछि उनले बाहिर तान्न खोजे तर ती हातले उनलाई भित्रै तान्न थाले ।
उनी चिच्याएर कराउँदै आग्लोले आक्रमण गर्ने हातलाई हिर्काउन थाले, आग्लो भाँच्चियो । यत्तिकैमा गाउँले आएर उनलाई समाएपछि आक्रमणकारी भागेको थियो । तानातानमा उनको हातमा नङ्र्‍याएको चोट पनि छ ।
त्यस्तै सोही टोलकी २८ वर्षीया विमला राईलाई सोमबार राति ११ बजे त्यस्तै दुई हातले घाँटी थिचे । उनी चिच्याइन्, छिमेकी तोर्ण लिम्बूले ढोका फोडेर उनलाई छुटाए । विमलाका अनुसार पहिले आलमारीमा कालो बिरालो जस्तो देखिएको आकृतिले उनलाई झम्टिएर भुइँमा लडाई घाँटीमा थिचेको
थियो । सँगै सुतेका उनका भाइ १४ वर्षका सन्तोषलाई समेत त्यसले झम्टिएपछि उनी बेहोस भएका थिए ।
मंगलबार श्रीमान्कै छेउमा ढल्किरहेकी ३० वर्षीया हीरा चौधरीलाई पनि आक्रमण गर्‍यो । उनलाई जीउ थिचेपछि उनले कराउँदै श्रीमान्लाई गुहारिन् । सबै भेला भएपछि उनलाई छाड्यो । त्यस्तो अदृश्य शक्तिले साँझ परेपछि मात्र आक्रमण गर्ने गरेको रमेश रायमाझीले बताए । लगातार गाउँमा आक्रमण बढेपछि केटाकेटीहरूमा मानसिक समस्या बढ्दै गएको उनले बताए ।
स्थानीय मुरारी चौधरीले चतराधामका पीठाधीश बालसन्त महाराजलाई समेत यो समस्या सुनाए । बालसन्तले बताएअनुसार सप्ताह पुराणको तयारीमा लागेको उनले बताए । घटनाबारे प्रहरीमा समेत जानकारी दिइएको चौधरीले बताए ।
वैशाख २५ गते सुदिना माझीको छेउमै कालो आकृति सुतेको थियो । उनले बिउँझिएर चिच्याएपछि उनलाई तानेर कोतरेको थियो । त्यसपछि पूरै गाउँमा एकपछि अर्को घरमा प्रेतले आक्रमण गर्न थालेको स्थानीय गाउँलेले बताए ।
मंगलबार राति धरानबाट गएका एक धामीले प्रेतको आक्रमणबाट घाइते भएकी विमला राईको घरमा धामी बसेर उनलाई बकाएका थिए । विमलाको शरीरमा आएको प्रेतले आफूलाई यो ठाउँमा काटेर मारेकाले एउटा राम्रो आत्मालाई आफूसँगै लानको लागि आक्रमण गरेको बताएको गाउँलेले सुनाए । विमला काम्दै बकेको भिडियोसमेत गाउँलेले खिचेर राखेका छन् ।

news and entertainment