चार दाजुभाइले एकैपटक सगरमाथा चढे
सोलुखुम्बु, जेष्ठ ८ - गुदेल-४ चानम सोलुखुम्बुका चार दाजुभाइले एकैपटक सगरमाथाको शिखरमा पाइला राखेका छन् ।
लाक्पा दोर्जी शेर्पा, तेण्डी शेर्पा, लाक्पा तेन्जी शेर्पा र आङ फूर्वा शेर्पाले सोमबार बिहान ७ बजे सगरमाथाको शिखरमा पाइला राखेका आरोहणमा सहयोगी तेण्डी शेर्पाले जानकारी दिए ।
क्लाइम्बिङ शेर्पाको रूपमा एडभेन्चर कन्सल्टेन्ट कम्पनीबाट उनीहरूले सगरमाथाको आरोहण गरेका हुन् । यसैबीच, जुभिङ–१ खरिखोला सोलुखुम्बुका तीनजना दाजुभाइ पनि एकैदिन सगरमाथाको शिखरमा पुगेका छन् ।
जुभिङ–१ सोलुखुम्बु निबासी बाबु फुनुरु शेर्पा र आमा दावा पासाङ शेर्पाका तीन भाइ छोराले गत आइतवार बिहान सगरमाथाको शिखरमा पुगेका हुन् । शिखरमा पुग्नेहरूमा २९ वर्षीय पेम्बा वाङ्छु शेर्पा वर्ष, २५ वर्षीय पेम्बा छोङ्बा शेर्पा वर्ष र २२ वर्षीय पेम्बा ग्याल्जेन शेर्पा वर्ष रहेका छन् ।
उनीहरूमध्ये पेम्बा शेर्पाले दोस्रोपटक, पेम्बा छोङबा शेर्पाले तेस्रोपटक र पेम्बा वाङछु शेर्पाले चौथोपटक सगरमाथाको आरोहण गरेका उनीहरूमध्ये कान्छा पेम्बा ग्याल्जेन शेर्पाले जानकारी दिए ।