मन भुलाउने भेडेटार (फोटोफिचर)


शब्द/तस्वीर : गोपाल दाहाल
उत्तरतिर मुस्कुराइरहेको सेतो हिमाल । दक्षिणतिर समथर तराई र सप्तकोशीको रमणीय दृश्य । पहिलोचोटिमै पाहुनालाई आकषिर्त गर्छ धनकुटाको भेडेटारले । १६ किलोमिटर तल धरानमा हपक्क गर्मी हुँदा पनि भेडेटार ठन्डा हुन्छ, त्यसैले धरानेहरु गर्मी लाग्यो कि भेडेटार चढिहाल्छन्, काठमाडौंका मानिसहरु शीतल खोज्न नगरकोट गएजस्तै ।
Bhedetar1
विं.सं. ०४०मा नेपाल भ्रमणमा आएका बेला बेलायतका युवराज चाल्र्ससमेत भेडेटारमा पुगेर अग्लो डाँडो चढे । त्यसबेलादेखि भेडेटारमा रहेको अग्लो चुचुरोको नाम नै चाल्स प्वाईन्ट राखिएको छ । जहाँ हाल ३० फिट जति अग्लो टावरसमेत बनाइएको छ ।
भेडेटारको टावर
भेडेटारको टावर
धरान धनकुटा सडक बन्नुअघि निर्जन पहाडका रुपमा रहेको भेडेटारमा पहिला भेडा चराउने खर्क थियो । तर, अहिलेको भेडेटारमा भेडा त कहाँ हुनु, मान्छे नै मान्छेको बथान भेटिन्छ । घुम्न आउनेहरुको उत्तिकै चाप, होटल रेष्टुरेन्ट चलाउनेको उस्तै ।
बढ्दो चापसँगै भेडेटारको जमीनको भाउ छोइनसक्नु आकाशिएको छ । वरिपरिका हरिया डाँडासमेत धरान, बिराटनगरका व्यापारी, मारवाडीले किनिसकेका छन् । भेडेटारको सुन्दरताले सबैलाई मोहनी लगाएको छ । सुनसरी र धनकुटाको सीमामा पर्ने भेडेटार समुद्री सतहदेखि १४ सय ३० मिटरको उच्च पहाडी क्षेत्रमा अवस्थित छ । भेडेटारबाट उत्तरतिर कञ्चनजंगा, मकालुलगायतका हिम श्रृंङखलाको रमणीय दृश्य, दक्षिणतिर सप्तकोशीसँगै तराईका फाँटहरु हेर्न पर्यटकहरु आउने गर्छन् । त्यसबाहेक चिसो मौसमले पर्यटक तान्ने गरेको छ ।
Namaste-jarana
पूर्वी नेपालको सुन्दर सहर धरानदेखि १६ किलोमिटर उत्तरमा पर्ने भेडेटार धरानदेखि नजिकै रहेर पनि हिमाली भेगको जस्तो चिसो हावापानी पाइने हुनाले यो ठाउँले पर्यटकको मन लोभ्याउँछ ।
केहीबर्ष यता भेडेटार वरपर पनि उस्तै रमणीय स्थलहरु चर्चामा आइरहेका छन् । दुई बर्षअघि भेडेटार गाविसकै नाम्जे बजारलाई सिएनएनले नसुनिएका विश्वका उत्कृष्ठ १२ गन्तव्यको सूचीमा राख्यो । अर्गानिक गाउँका रुपमा चर्चित नाम्जेमा विश्वका विभिन्न देशका आर्किटेक्चरले बनाएको आत्माघर पर्यटकको राम्रो गन्तव्य बनेको छ । नाम्जे डाँडामा चिहानका ढुङ्गाले बनाईएको आत्माघरभित्रको सिसामा आकाश हेर्दै दिवंगतको सम्झना गर्नेहरु धेरै भेटिन्छन् ।
भेडेटारबाट ९ किलोमिटर तल झरेपछि पुगिने नमस्ते झर्नापनि कम्ति आकर्षक छैन । माथिबाट छङछङ बग्दै झर्ने झरनामा पूर्वका विराटनगर, धरान, इटहरीतिरबाट नुहाउन पुग्नेहरुको भीड नै लाग्छ । भेडेटारनजिकै रहेको पाथिभरा मन्दिर पनि धार्मिक आस्था राख्नेहरुका लागि निक्कै प्रशिद्ध छ । यसरी भेडेटार प्राकृतिक तथा धार्मिक पर्यटकका लागि आकर्षकस्थल बनिरहेको छ । भेडेटारको सुन्दरता सबैलाई मोहित पार्नेखालको छ ।

news and entertainment