कर्णले ६ विकेट लिएपछी घुँडा टेक्यो मलेसियाले
२५ बैशाख, काठमाडौ । अविनाश कर्णले ६ विकेट लिएपछी जारी एसीसी यु-१९ क्रिकेट प्रतियोगितामा मलेसिया मात्र ६९ रनमा समेटिएको छ । कर्ण लगायत अन्य नेपाली बलरका सामू धेरै बेर टिक्न नसक्दा मलेसिया झीनो स्कोरमा समेटिएको हो ।
भर्खर सम्पन्न खेलमा मलेसियाले मात्र २२ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै ६९ रन जोडेको थियो । मलेसियाका लागी डिभेन्द्रन मोगानले सर्वाधिक २२ रन, र अमिरुद्धिनले १५ रन जोड्नुबाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंख जोड्न सकेनन् । मलेसियाका ३ ब्याट्स्म्यान बिना कुनै रन बनाई पेभेलियन फर्के भने दुई ब्याट्स्म्यान मात्र १ रन जोडेर फर्केका थिए ।
मलेसियालाई उक्त झिनो स्कोरमा समेट्न नेपालका अविनाश कर्णले ६ विकेट हात पारेका थिए भने कप्तान भुवन कार्कीले २ तथा यज्ञमान कुमाल र शुशान्त भारीले समान १-१ विकेट हात पारेका थिए । जारी प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका कर्णले आज पनि आफ्नो लयलाई कायम राख्दै निकै आक्रामक बलिङ गरेका छन् । उनले ८ ओभर बलिङ गर्दै १ मेडन राखेर ६ विकेट लिँदा मात्र ३१ रन दिएका थिए । यस्तै कप्तान भुवन कार्कीले ७ ओभर बलिङ गर्दै २ मेडन सहित २ विकेट लिएर १६ रन दिएका थिए ।
४ वटा खेलमा अविनाशले १९ विकेट लिइसकेका छन् ।
