वाल्यकाल मनपर्छ भन्दैमा नांगै हिँड्न सक्दिँन
लामो समयदेखि अपेक्षित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकीकृत महाधिवेशन हुन लागेको छ । यो अत्यन्त खुसीको कुरा हो । हाम्रो खुसीमा अन्य दलहरुले पनि खुशी मनाउनुभएको छ, साथै सुभेच्क्षुकहरुले पनि खुशी जनाएको अवस्था छ । हाम्रा दुई पार्टी नेपालको राजनीतिक मञ्चमा एक धारिलो राष्ट्रवादीको धार बोकेर प्रजातान्त्रिक शक्तिका रुपमा उपस्थित हुन लागेका छन् ।
यो अधिवेशनबाट एकीकृत भएका यी दुई पार्टीले प्रजातान्त्रिक, लोकतान्त्रिक र परिर्वतनले ल्याएको गणतन्त्र र संघीयताको अभावमा अथवा अनुपस्थितिमा कुनै राजनीतिक विचार र व्यवस्था सोचेका पनि छैनौं, परिकल्पना पनि हामीले गरेका छैनौं ।
व्यक्ति र राष्ट्रको जीवन उस्तै
परिर्वतनले समय-समयमा ठूलठूला कुराको परिर्वतन गर्दै नयाँ कुराको उदय गराउँदछ, मानिसको जीवनकाल र राष्ट्रको जीवनकाल पनि मलाई विल्कुल उस्तै लाग्दछ । मलाई बाल्यकाल सबभन्दा मन पर्छ । अहिले पनि म यस उत्तरार्धमा हिँडिरहेको व्यक्ति बाल्यकाल सम्झेर बसेको हुन्छु । तर, मैले अहिले बाल्यकाल चाहेर त्यो स्थिति आउन सक्दैन । म प्राप्त गर्न सक्दिँन । म त्यसरी खुलारुपमा हिँड्न, डुल्न र विनाकपडा नांगो भएर सबैका अगाडि उपस्थित हुन सक्दिँन । त्यो असम्भव छ । राष्ट्रको जीवनपनि त्यही नै हो ।
राष्ट्रको जीवन पनि परिर्वतनशील छ । परिर्वतन भएको समय हामी व्यक्ति-व्यक्तिलाई राम्रो लाग्दो हो । तर राष्ट्रले परिर्वतन गरेका परिर्वतनका जो विषयहरु हुन्छन्, त्यसमा प्रवेश गरेर हिँडेपछि पुराना कुरा सम्झेर, पुराना कुरा लागू गर्छु भनेर सकिँदैन । कदापी पनि सकिँदैन । हामी कविता लेख्न सक्दछौं, हामी कथा लेख्न सक्दछौं । हामी अनेक किसिमका कितावहरु लेख्न सक्दछौं । तर, यथार्थमा परिर्वतन भइसकेपछि पुरानो काललाई यर्थाथमा उतार्न सक्दैनौं । यो हो सत्य, यर्थाथ यही हो । परिर्वतन जसरी जीवनकालमा लागू हुन्छ, राष्ट्रको जीवनमा पनि लागू भएर जान्छ ।
लोकतन्त्रलाई संस्थागत गर्न आवश्यक
अब हिमालयको काखमा रहेको नेपाल, राष्ट्रिय, अन्तराष्ट्रिय मञ्चमा उभिँदा राष्ट्रियताको जगमा प्रजातन्त्र र लोकतन्त्र अंगीकार गर्दै हामी उभिनुपर्दछ । अब हाम्रो अठोट यही हो । परिर्वतनले ल्याएको विषय यही हो । यसलाई हामीले साकार बनाउन सक्नुपर्छ । यस विषयमा सर्तक रहनु पर्छ ।
मैलेअघि नै भनिसकेँ र म फेरि भन्छु, किन हामी सर्तक रहनुपर्छ भने प्रजातन्त्र अझै कमजोर अवस्थामा छ, तरल अवस्थामा पनि छ र स्थापित भइसकेको छैन प्रजातन्त्र । यस्तो अवस्थामा आज हामी उभिएको छौं, हामीले प्रजातन्त्र स्थापित गर्नुपर्ने अवस्था छ । साथसाथै यसको जगमा प्रजातन्त्रको इमारत (घर) बनाएर हामी अघि बढ्न खोज्दैछौं ।
नेतृत्वले कमजोरी सुधार्नुपर्छ
नेपालका लागि राष्ट्रियता पातलिँदै गएको छ । यो यर्थाथ हो । अर्कोतर्फ तोकिएको समयमा नेतृत्वले संविधान दिन सकेन । यो पनि यर्थाथ हो । जब नेतृत्व वर्गले संविधान दिन सकेन, नेतृत्व वर्ग पूर्ण असफल भएको अवस्था छ । यो हामीले हाम्रा कमी, हाम्रा कमजोरी, नेपाली नेतृत्व वर्गको असफलता हामीले स्वीकार गर्नै पर्दछ । यदि हामीले हाम्रा कमजोरी स्वीकार गर्न सकेनौं भने हामीले सुधार गरेर अघि बढ्न सक्दैनौं । अनि मुलुकलाई अगाडि बढाएर हाँक्न पनि सक्दैनौं र फेरि पनि असफलतातिरै जान्छौं । त्यसकारण हामीले आफूलाई सुधार गर्नुपर्ने अवस्था आएको छ । यो कमजोरी र नेतृत्व वर्गको असफलताले देशभित्र र बाहिरसमेत असर पारेको छ । यस अवस्थामा हाम्रो छवि देशभित्र र बाहिरी जगतमा पनि राम्रो निश्चय नै छैन । यो हामीले स्वीकार गर्नुपर्छ । स्वीकार गरेपछि मात्रै सुधार गर्ने बाटो खुल्दछ । अब यसै अवस्थामा पनि एक त नेतृत्व वर्गले कमी कमजोरीहरु स्वीकार गर्नुपर्छ र आफू सुधार भएको स्थितिमा अगाडि बढ्नुपर्छ ।
राजनीतिक बहाव रोकिएको छ
राजनीतिलाई यथास्थितिमा राख्ने प्रयास गर्नु हुँदैन । राजनीति भन्ने चिज यो हरबखत अगाडि बढिरहेको हुन्छ । बगिरहन्छ । राजनीतिको बहाव निरन्तर बगिरहेको हुन्छ । नेपालमा अहिले राजनीति र नेतृत्वका कारण राजनीतिक बहाव रोकिएको छ । राजनीति दिशाविहीन भएको अवस्था छ । यसलाई यथास्थितिमा राखेर तपाई चुप लागेर बस्नु भने भने एक दिन यो बहावले त्यो बाँध फोडिदिन्छ र राजनीति अनियन्त्रित भएर जताजतै जान सक्छ । धेरै नोक्सान गर्न सक्छ, त्यसबेला कसैले त्यसलाई नियन्त्रण गर्न सक्दैन । अब यो बाँध फुट्ने स्थितिमा आइसकेको छ, त्यसकारण यसलाई तत्कालै बहाव दिनुपर्छ । बहाव भनेको निर्वाचन नै हो । मार्ग दिनुस् राजनीतिलाई बग्ने । त्यो भनेको आगामी मंसिरमा निर्वाचन गर्न हामीले सक्यौं भने त्यो बहाव हुन्छ । सारा राजनीतिक शक्ति त्यतैतिर प्रवाहित हुन्छ, बग्दछ । अनि यसले तोडफोड कर्तै गर्दैन, बिगार्दैन । त्यसकारण निर्वाचन हुनुपर्छ । शंका गरेर बस्न हुँदैन । कुतर्क अगाडि तेस्र्याएर निर्वाचन अगाडी बढ्ने कुरामा भ्रम फैलाएर पनि बस्न हुँदैन । सबैले निर्वाचन गर्नका लागि सहयोग पुर्याउनै पर्दछ । जब निर्वाचन मंसिरभित्र भइसक्छ, त्यसपश्चात केही महिनाभित्रै संविधान निर्माण भइसक्छ ।
