एमाले नगए माओवादी सरकारमा जाने
४ फेब्रुअरी, काठमाडौं । संविधानसभामा तेस्रो ठूलो दल एकीकृत माओवादीले प्रमुख प्रतिपक्षको हैसियत नरहने अवस्था आए सरकारमा जान लचकता देखाउने रणनीति तय गरेको छ । एमाले सरकारमा नगए ऊ नै प्रमुख प्रतिपक्षी बन्नेछ ।
स्रोतका अनुसार कांग्रेस र एमाले मिलेर सरकार बन्न नसक्ने अवस्थामा एमाओवादीले कांग्रेसलाई समर्थन गर्ने ठाउँ खुला राखेको छ । प्रमुख प्रतिपक्षको बेन्च एमालेले लिने अवस्था आए सहायक प्रतिपक्षको भूमिका कमजोर हुने भन्दै माओवादीले त्यस्तो अवस्थामा सरकारमा जाने बाटो खुला गर्न सकिने लचकता देखाएको हो ।
स्रोतका अनुसार कांग्रेस नेताहरूसँगको भेटमा माओवादी नेताहरूले एमाले प्रमुख प्रतिपक्षमा बस्ने अवस्था आए सरकार गठनमा सहयोग गर्नेबारे सोच्न सकिने आश्वासनसमेत दिएका छन् । माओवादी नेताहरू प्रतिगामी शक्ति राप्रपा नेपाललाई प्रमुख प्रतिपक्षको भूमिका दिन हुँदैन भन्नेमा पुगेका छन् ।
माओवादी केन्द्रीय समितिबाट पारित राजनीतिक दस्ताबेजमा पनि सरकारमा जाने बाटो पूरै बन्द गरिएको छैन । प्रस्तावको तात्कालिक राजनीतिक प्रस्तावबारे उपशीर्षकमा भनिएको छ, ‘सरकारमा सहभागी नहुने हाम्रो नीतिले संविधान निर्माण प्रक्रियामा बाधा, जटिलता र ढिलाइ हुने स्थिति देखापरेमा राष्ट्रिय सहमतिको सरकारमा जाने ढोका पूरै बन्द गर्नु उपयुक्त हुनेछैन ।