दोलखा भीमसेनलाई फेरी ‘पसिना’ आयो
गत मंसिर ३० गते अर्थात करिब साढें दुई महिनाको अन्तरालपछि मंगलबार फेरी दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई‘पसिना’ आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा धेरै अनिष्ट वा धेरै राम्रो हुने धार्मिक विश्वास रहिआएको छ |
मंगलबार दिउँसो पौने ३ बजेबाट पसिना आउन सुरु गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए । भीमेश्वरको शीलाको दायाँ–बायाँ दुबै भागबाट पसिना आएको अध्यक्ष श्रेष्ठले बताए । दायाँ भागबाट पसिना आउँदा राजापक्ष र बायाँ भागबाट पसिना आउँदा जनतालाई अनिष्ट हुने जनविश्वास छ । भीमेश्वरको शीलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले क्षमा–पूजा गरेका छन् ।
क्षमा–पूजाकै लागि शीलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयमा पठाउने गरिएको छ । यसअघि २०६२/०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनुभन्दा करिब डेढ महिनाअघि र १९९० सालको भूकम्पअघि भीमेश्वरलाई पसिना आएको जानकारहरु बताउँछन् ।

