उद्धार गरी दूताबासमा राखिएकी युवती यसरि वेपत्ता भएपछि
नेपालको सिन्धुपाल्चोक जिल्ला सबैभन्दा बढी चेलिबेटी विक्री गरिने जिल्लामाा पर्दछ । पछिल्लो समय जनचेतना, विभिन्न निकायको अनुगमन तथा कडाइका कारण केही कम भए पनि अनेक उपाउबाट चेलिबेटी विक्री गर्ने गिरोहको सक्रियता अझै घटेको छैन, मात्र उनीहरुको काम गर्ने शैली बदलिएको छ ।
यसै क्रममा केही दिन पहिले दिल्लीको कोठीमा बुझाउन लागिएका दुई नेपाली युवतीलाई स्थानीय सामाजिक संघसंस्थाले उद्धार गर्दै नेपाली दुतावासको संरक्षणमा जिम्मा लगाइएको दुई दिनमैं आइतबार बिहान यी युवती आश्रयस्थलबाटै बेपत्ता भएका छन् ।
समाचार अनुसार सिन्धुपाल्चोक, इचोक गाउँबाट झुक्याएर दिल्ली घुमाउन ल्याइएका १५ र १६ बर्षका तामाङ थरका युवतीलाई मञ्जुकटिलास्थित एक गेष्ट हाउसबाट उद्धार गरेर गत शुक्रबार दुतावास पदाधिकारीको रोहवरमा जिम्मा लगाइएको थियो । यी दुइ युवतीलाई रक्सौलको बाटो हुँदै चैत १ गते दिल्ली ल्याइएको र ४ लाख रुपैयाँमा बिक्री गर्ने तयारी भइरहेको थाहा पाएर दिल्लीस्थित अखिल भारत नेपाली एकता मञ्च, हेल्प नेपाली मिसन र प्रवासी नेपाली जनकल्याण समितिका पदाधिकारीको पहलमा युवतीहरुको उद्धार गरिएको थियो ।
इचोक गाउँबाट बेपत्ता बनेका दुईमध्ये एकका दाजु सोमबहादुर तामाङले काठमाडौं प्रहरीको बौद्ध प्रभागमा पनि बाहिनीहरु खोजतलासका निम्ति आवेदन दिंदै दिल्ली आइपुगेका थिए । उनै सोमबहादुरले दिएको जानकारीमा इचोक गाउँका फूलमाया तामाङ र कालु लामाले दुई युवती लुकाएर राखेको प्रमाणमा नेपाली समाजका प्रतिनिधिले छापा मारेका थिए ।
दुतावासका जिम्मेवार अधिकारीसहितको रोहबरमा शुक्रबारदेखि दुतावास परिसरको आश्रयस्थलमा बेचिएका र बिक्री गर्ने तीनैजनालाई राखिएको थियो । भारत छिर्न सजिलो होस् भनी गाउँबाट युवती ल्याउने फूलमायाले आफ्नी ३ बर्षकी बच्चीलाई पनि साथै ल्याएकी छिन् । बेचिएका दुई युवतीले ३ र १ कक्षा मात्रै पढेको बताए ।
