क्रिकेट खेल मैदान निर्माण सुरु
१७ चैत, धनगढी । क्रिकेट खेलका लागि मैदानको अभाव भएपछि यहाँ निजी क्षेत्रको प्रयासमा क्रिकेट खेल मैदान निर्माणको पहल थालिएको छ ।
स्थानीय बोराडांडीस्थित मोहना नदी छेउको बगरलाई क्रिकेट खेल मैदानको रुप दिन यतिबेला खेलप्रेमीका साथै सशस्त्र प्रहरी बल दिनभरि नै जुटेका छन् ।
फाप्ला नामले चिनिने उक्त मोहना नदी बगरलाई क्रिकेट मैदानमा परिणत गर्न माटो सम्याउने, मैदानसम्म आवागमन गर्न बाटो बनाउनेलगायतका संरचना निर्माणको काम सुरु गरिएको स्थानीय खेलप्रेमी रमणचन्द्र श्रेष्ठले बताउनुभयो ।
क्रिकेट खेलप्रति पछिल्लो केही वर्षदेखि स्थानीय विद्यालय र क्याम्पसका विद्यार्थीमा आकर्षण बढ्दै गएको छ । मैदान अभावमा विद्यार्थी बाली काटेर खाली भएका खेतबारीलाई क्रिकेट खेल्नमा प्रयोग गर्न बाध्य हँुदै आएका देखिन्छन् ।
करिब ३० बिगाघा क्षेत्रफलको उक्त मैदान वातावरणीय हिसाबले पनि उपयुक्त रहेको छ । क्रिकेट मैदानका लागि उपयुक्त रहेको उक्त जग्गा ऐलानी जग्गा भएकोले स्वामित्व प्राप्तिका लागि नेपाल सरकारसमक्ष आग्रह गरिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले बताउनुभयो ।
फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन नक्साङ्कनसमेत भइसकेको छ शाहीले भन्नुभयो– “नक्सामा ७० मिटरको बाउन्डरी, दुईतर्फ प्यारापिटलगायतका संरचना बनाउन प्रयास गरिएको छ ।”
खेलकुद विकास समितिको स्वामित्वमा रहेको स्थानीय बजारको खेल मैदानमा क्षेत्रीय रङ्गशाला निर्माण भएपछि क्रिकेट खेलका लागि मैदानको समस्या नहुने बताइएको छ । ‘सुदूरपश्चिममा क्रिकेटको क्रेज बढ्दै गएको छ स्थानीय खेलाडी अमित पडालले भन्नुभयो ।
स्थानीय बजारबाट करिब दुई किलोमिटर पश्चिम उत्तरतर्फ रहेको उक्त फाप्ला मैदानलाई आवश्यक भौतिक संरचनासहितको क्रिकेट मैदानमा परिणत गर्न सकिएमा यस क्षेत्रको क्रिकेट क्षेत्रले फड्को पार्ने स्थानीय खेलप्रेमीको धारणा छ ।
यसैबीच यही चैत अन्तिम सातादेखि फाप्ला खेल मैदानमा आयोजना हुन लागेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् । नेपालमै पहिलो पटक हुन लागेको यो प्रतियोगितामा विभिन्न छ समूहको सहभागिता रहने बताइएको छ । रासस
