बिहेबाट मानिसहरु खुसी हुन सक्दैनन्` : राजेश हमाल
प्रेमिका मधु भट्टराईसँको बिहेलाई पर सार्दै लगेको अभिनेता राजेश हमालले पुनः एकपटक बिहेलाई ढोंगी भनिदिएका छन् । ‘माया, प्रीति र सम्बन्ध सबै ढोंग हुन्,’ अभिनेता हमालले भनेका छन् ।
पोखरामा सम्पन्न युएस युथ काउन्सिलका तेस्रो ब्याचका प्रतिनिधिसँगको अर्न्तक्रियामा अभिनेता हमालले यस्तो अभिव्यक्ती दिएका हुन् । उनले भने, ‘एउटा महिला र पुरुषले सधैं एक अर्कालाई माया गरिरहन सक्दैनन् । बिहेले एकअर्कालाई जीवनभर सम्झौता गरेर बस्न बाँध्य बनाउँछ । त्यसैले यसबाट मानिसहरु खुसी हुन सक्दैनन् ।’
त्यस्तै नेपाली फिल्म निर्देशकहरुले फिल्म निर्माण गर्दा गृहकार्य नगर्ने हुँदा राम्रो फिल्म निर्माण हुन नसकिरहको समेत उनले सुनाए । उनले सम्झिए, ‘मैंले खेलेका फिल्महरु समय अनुसार राम्रा थिए । अहिलेको समयमा ती फिल्महरुले गर्दा फिल्म उद्योग पछाडी पर्यो भन्ने कुरामा म सहमत छैन । ‘हँसिया’, ‘मुखौटा’ जस्ता फिल्ममा नयाँ निर्देशकसँग काम गरेका राजेशले थपे, ‘फिल्म निर्देशकहरुले दर्शकको भावना र सामाजिक अवस्थालाई बुझ्न सकेका छैनन् । प्रोडक्ट राम्रो भए बजारमा स्थान पाउँछ । त्यही कुरा फिल्ममा समेत लागु हुन्छ ।’
२५ वर्षे फिल्मी करिअरको अनुभवलाई निर्देशनमा उतार्ने तयारी गरिरहेका अभिनेता हमालले स्क्रिप्ट आफैंले लेखिरेहेको समेत खुलाए । उनले भने, ‘स्क्रिप्ट लगभग सिध्याइसकेकाले अब चाँडै निर्देशनमा उत्रन्छु । फिल्मको विषयवस्तुलाई फ्ल्यास नगरेका हमालले युवा युनिटसँग काम गर्न चाहेको संकेत गरे ।
