उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहान्
१६ चैत, एजेन्सी ।
उत्तर र दक्षिण कोरियाली सेनाबीच समुन्द्री सीमाक्षेत्रमा दोहोरो गोली हानाहान भएको छ ।
दक्षिण कोरियाली सेनाले उत्तरको सेनाले गोली चलाएपछि जवाफ फर्काएको दावी गरेको छ ।
दक्षिण कोरियाली संयुक्त सेना प्रमुखका प्रवक्ताले उत्तरबाट फायर भएपछि जवाफी कारवाही गरेको एएफपी समाचार संस्थालाई बताएका छन् ।
दुवै तर्फका सेनाले आर्टीलरी प्रयोग गरेको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाले केही दिन अघि मात्र जमिनबाट जमिनमा मार हान्ने मध्यम दुरीको क्षेप्यास्त्र परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।
दक्षिण कोरिया र अमेरिकाले गरिरहेको संयुक्त सैन्य अभ्यासको विरोध गरिरहेको छ ।
उत्तर कोरियाले संयुक्त सैनिक अभ्यासलाई कोरियाली प्रायद्वीपमा हमला गर्ने चालवाजीको सज्ञा दिँदै आएको छ ।
गत वर्ष गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेपछि उत्तरले दक्षिणविरुद्ध परमाणु युद्ध छेड्ने चेतावनी दिएको थियो ।
दुई साता अघि पनि उत्तरले ७० किलोमिटर मार हान्ने २५ वटा रकेट परीक्षण गरेको थियो ।
उत्तर र दक्षिण कोरियाबीच १९५० को युद्धपछि कुनै पनि शान्ति सन्धी नभएका कारण दुइ छिमेकी प्राविधिकरुपमा युद्धमै छन् ।
