‘संसदमा ढाड नै भाँचेको उदाहरण छ, माइक सामान्य हो’
सिन्धुलीमाडी । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संसदीय व्यवस्थामा विपक्षीले माइक भाँच्नुलाई सामान्य परिघटना भएको टिप्पणी गरेका छन् ।
उनले विश्वको संसदीय इतिहास हेर्दा ढाडै भाँचेका प्रशस्तै उदाहरण रहेको भन्दै विपक्षीले माइक भाँच्नु र कुर्सी तोडफोड गर्नु सामान्य परिघटना भएको उल्लेख गरे ।
‘प्रचण्डले जाबो कुर्सी माइक भाँच्दैमा माफी मागिरहँन पर्दैन’, गजुरेलले भने,‘अन्य संसदवादी मुलुकमा सदन भित्र ढाड नै भाँचेको पनि प्रशस्तै उदाहरण छन् ।’
पहिलो संविधानसभा देशी विदशी शक्तिहरुका कारण असफल भएको भन्दै अहिलेको संविधानसभा पश्चगमनको हतियार बनेको आरोप लगाए ।
सिन्धुलीको सिन्धुलीमाडीमा शुक्रबार क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा गजुरेलले अहिलेको संविधानसभाले जतिवटा माघ ८ आएपनि संविधान जारी गर्न नसक्ने दावी गरेका छन् ।
उपाध्यक्ष गजुरेलले संविधानसभामा भएका दलहरुले मात्र बनाएर दीर्घकालीन संविधान बन्न नसक्ने उल्ले गर्दै सबै पक्षलाई समेटेर संविधान बनाउनका लागि संविधानसभा विघटन गरी सर्वपक्षीय राजनीतिक सभा गठन गर्नुपर्नेमा जोड दिए ।
